मुक्तिनाथ दर्शन गर्न नेपालीलाई पनि शुल्क
पोखरा : मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपाली तीर्थयात्रुले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दू र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा आन्तरिक पर्यटकलाई पनि शुल्क लाग्ने भएको हो। सरकारले एक सय रुपैयाँ शुल्क निर्धारण गरी राजपत्रमा सूचना प्रकाशन गरेको थियो।
यस सूचनाले अन्नपूर्ण संरक्षण क्षेत्रका साथै मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रमा प्रवेश गर्न आन्तरिक पर्यटकले पनि प्रवेश शुल्क बुझाउनुपर्नेछ। अहिलेसम्म संरक्षण क्षेत्रमा जान नेपालीलाई शुल्क लाग्दैनथ्यो। शुल्क नबुझाई उक्त क्षेत्रमा प्रवेश गरे प्रवेश शुल्कको दोब्बर जरिवाना लाग्नेछ।
एक्याप काठमाडाैंको भृकुटीमण्डपस्थित इन्ट्री परमिट काउन्टर, लमजुङको बेशीसहर र पोखराको ड्यामसाइडस्थित इन्ट्री परमिट काउन्टरबाट प्रवेश अनुमति लिने लिने व्यवस्था मिलाइएको छ। तोकिएको स्थानबाट अनुमति लिए एक सय रुपैयाँ मात्रै दस्तुर लाग्नेछ। संरक्षण क्षेत्रको चेक पोस्टमा जाँच गर्दा प्रवेश अनुमति लिएको नपाइए दोब्बर दस्तुर लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षण अधिकृत ऋषि बरालले बताए।
नेपाल सरकारले असोज २९ गते प्रकाशन गरेको खण्ड ६८ संख्या ३४ नेपाल राजपत्र भाग ३ वन तथा वातावरण मन्त्रालयको सूचना ८ बमोजिम आन्तरिक पर्यटकलाई पनि प्रवेश शुल्क तिरेर प्रवेश अनुमति लिनुपर्ने व्यवस्था गरेको हो। सोही व्यवस्थाअनुसार सरकारले विदेशी पर्यटकका लागि लिइने प्रवेश शुल्कमा पनि वृद्धि गरेको छ।
प्रवेश अनुमतिपत्र नलिई संरक्षण क्षेत्रभित्र प्रवेश गरे दोब्बर दस्तुर लिएर प्रवेशाज्ञा दिने व्यवस्था गरिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न जाने विदेशीलाई भ्याटसहित तीन हजार, सार्क राष्ट्रका नागरिकलाई एक हजार र आन्तरिक पर्यटकलाई एक सय रुपैयाँ शुल्क लाग्ने उल्लेख छ। दश वर्षमुनिका बालबालिकालाई कुनै शुल्क लाग्ने छैन। यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र घुम्न जाने विदेशीले भ्याटबाहेक दुई हजार र सार्क मुलुकका नागरिकले भ्याटबाहेक दुई सय रुपैयाँ दिनुपर्ने व्यवस्था थियो। यसरी उठाइएको रकमको कर सरकारलाई र बाँकी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मार्फत संरक्षण क्षेत्रमै लगानी हुँदै आएको छ।
त्यसैगरी संरक्षण क्षेत्रभित्र पर्यटक गाइड भई सेवा उपलब्ध गराएबापत प्रतिगाइड एक हजार शुल्क लाग्ने राजपत्रमा उल्लेख छ। गाइड शुल्क बुझाउनेलाई प्रवेश शुल्क नलाग्ने व्यवस्था गरिएको छ। प्रवेश अनुमतिपत्र नलिई संरक्षण क्षेत्रभित्र प्रवेश गरे दोब्बर दस्तुर लिएर प्रवेशाज्ञा दिने व्यवस्था गरिएको छ।

विदेशी पर्यटकबाट लिने शुल्कमा वृद्धि र आन्तरिक पर्यटकबाट लिन थालिएको प्रवेश शुल्कसम्बन्धी सरकारको निर्णयको पर्यटन व्यवसायीले विरोध जनाएका छन्। नेपालीले आफ्नै देश घुम्न, आफन्त, मावली, ससुराली जान पनि प्रवेश शुल्क तिर्नुपर्ने व्यवस्था दुभाग्यपूर्ण रहेको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए। सरकारको यस निर्णयले नकरात्मक सन्देश जाने र त्यसलाई सच्याउनुपर्ने पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी बहादुर भट्टराईले बताए। सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यलाई सरकारको पछिल्लो निर्णयले प्रभाव पार्ने उनको भनाइ थियो।
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमणमा जान अहिलेसम्म ४८ नेपाली पर्यटकले पोखराको ड्यामसाइडस्थित प्रवेश शुल्क काउन्टरबाट शुल्क तिरेर अनुमति लिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्रवेश शुल्क काउन्टर ड्यामसाइडकी वरिष्ठ पर्यटन सहायक जगन सुब्बा गुरुङले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !