पोखरा प्रिमियर लिग : पारसको टोली चितवनको पहिलो जित
पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिताको बुधबारको पहिलत्त खेलमा चितवन राइनोजले एक्सपर्ट धनगढीमाथि जित हात पारेको छ । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीलाई १२६ रनले पराजित गर्न सफल भएको हो ।
धनगढीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गरेको थियो । चितवनले २० ओभरमा ५ विकेट गुमाएर १९३ रनको उच्च स्कोर बनाएको थियो । १९४ रनको लक्ष्य पछ्याएको धनगढीले १६.२ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमायो । धनगढीलाई सस्तैमा रोक्ने क्रममा चितवनका लागि भारतीय खेलाडी सन्नी पटेल एक्लैले ४ विकेट लिए ।
उच्च स्कोरको लक्ष्य पछ्याएको धनगढीले पहिलो ओभरदेखि नै खराब ब्याटिङ गर्यो । पहिलो ओभरमा नै दीलिप नाथको विकेट गुमाएको धनगढीले चौथो ओभरमा ७ रन बनाउँदा ३ विकेट गुमाएको थियो । धनगढीका लागि इङ्ल्याण्डका खेलाडी पिटर ट्रेगोले २७ र योगेन्द्रसिंह कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउने सकेनन्।
पहिले ब्याटिङ गरेको चितवनका लागि ओपनरद्वय अनिलकुमार साह र हरिशंकर साहले १०१ रनको साझेदारी गरी उच्च स्कोरका लागि आधार तयार पारेका थिए। चितवनका लागि हरिशंकर साहले सर्वाधिक ५३ रन बनाए । त्यसैगरी असनल साहले ३७, भारतीय खेलाडी स्मीत पटेलले र सन्नी पटेलले क्रमशः २४ र २६ रन र कप्तान पारस खड्काले १९ रन बनाए ।
यसअघिका २ खेलमा हार व्यहोरेको चितवनले पहिलो जित निकालेको छ । धनगढीले पनि ३ खेलमा एक जित निकालेको छ ।