रुख चढेर हेलो...हेलाे...

रुख चढेर हेलो...हेलाे...

जाजरकोट : मोबाइल सेट बोकेर अग्ला रूख चढ्नु र डाँडातिर उक्लिनु चुनीचाँदेवासीका लागि सामान्य बनेको छ। सञ्चारका लागि योभन्दा विकल्प छैन। टेलिकमको टावर गतिलो नहुँदा जिल्लाको चुनीचाँदे गाउँपालिकाका स्थानीय यस्तो नियति भोग्न बाध्य भएका हुन्।

बर्दियामा ल्याब टेक्निसियन अध्ययनरत जुनीचाँदे–४ कोर्ताङकी मीना शाहीलाई घरमा फोन गर्न कठिन हुन्छ। घर आएका बेला पनि फोन लाग्दैन। सोही गाउँका बलबहादुर खड्काको समस्या पनि उस्तै छ। ‘फोन लागिहाल्यो भने कि अग्लो स्थानतिर लाग्नुपर्छ कि त रूख चढ्नुपर्छ। नत्र फोनमा फोनमा कुरै बुझिँदैन’, खड्काले भने।

नमस्तेको सिमकार्डले राम्रो काम गर्दैन। स्काईको सिमकार्डमा कहिलेकाहीँ दिउँसो सम्पर्क हुन्छ। त्यसका लागि पनि कि अग्लो रूख चढ्नुपर्छ कि त डाँडातिर जानुपर्छ। होचो भागमा फोन सम्पर्क हुँदैन। मीना र बलबहादुरजस्तै गाउँका हरेक सर्वसाधारणले यस्तो नियति भोगिरहेका छन्। गाउँमा भएको स्काई फोनको टावर बिग्रेपछि सञ्चार सेवा प्रभावित भएको हो।

जुनीचाँदे–२ मजकोटमा रहेको नेपाल टेलिकमको टावरले काम नगर्दा सञ्चारमा समस्या भएको स्थानीय कर्ण कार्कीले बताए। विद्युत् अभाव र टेलिकमका कर्मचारीको लापरवाहीले सेवा प्रभावित भएको स्थानीयको आरोप छ। टेलिकमले जुनीचाँदे–५ गर्खाकोट र अन्य स्थानमा नमस्ते मोबाइलको टावर राख्न सर्वे गरेको तीन वर्ष बिते पनि काम सुरु हुन नसकेको वडा नम्बर ५ की मालिका बस्नेतले बताइन्।

गाउँको समस्या र पीडा बोल्न सक्ने पहुँच भएको नेता नभएकाले स्थानीयले यस्तो नियति भोग्नुपरेको उनको भनाइ छ। गाउँपालिकामा स्काई फोनको टावर निर्माण तथा मर्मत सुधार गर्न सरोकारवाला निकायमा बारम्बार ताकेता गरे पनि सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए। आफूले लिखित र मौखिक रूपमा धेरै पटक नेपाल टेलिकम र अन्य निकायमा आग्रह गरेको उनको भनाइ छ। गाउँ कार्यपालिका बैठकले निर्णय गरी सम्बन्धित निकायमा फोन सेवा सुधार र विस्तार गर्न आग्रह गरे पनि सुनुवाइ नभएको अध्यक्ष केसीको आरोप छ।

नेपाल टेलिकम जाजरकोटका निमित्त प्रमुख लोकेन्द्र भण्डारीले विद्युत् अभावमा जुनीचाँदेको फोन सेवा प्रभावित भएको बताए। टावर सञ्चालन गर्न सोलार ब्याट्री फेर्न टेलिकमको क्षेत्रीय कार्यालय नेपालगन्जमा बारम्बार पत्राचार गरे पनि सुनुवाइ नभएको उनले जानकारी दिए।

मजकोट र आसपासका टावरमा पाँच वर्ष पुराना सोलर ब्याट्री रहेको र त्यसले राम्रो काम गर्न नसक्दा सेवा गुणस्तरहीन भएको उनले बताए। ‘यस आर्थिक वर्षमा नमस्ते मोबाइलका टावर निर्माण गर्न सम्झौता भइसकेको छ’, निमित्त प्रमुख भण्डारीले भने, ‘आशा गरौं छिट्टै काम हुनेछ।’ जिल्लाको सबभन्दा दुर्गम गाउँपालिका मानिएको जुनीचाँदेमा सञ्चार सेवा गुणस्तरहीन भएको भन्दै स्थानीयले जनप्रतिनिधिसँग आक्रोश पोखेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.