फकिर मामाको नाममा

फकिर मामाको नाममा

हरेक वर्ष तिहार नजिकिँदै जाँदा एउटा फरक अनुहारको सम्झनाले घेर्न आइपुग्छ। त्यो अनुहार यस्तो छ– कालो वर्ण, होचो कद, अस्तव्यस्त दाह्रीजुँगा र खैनीले खाएको दाँत। हरेक तिहारको छेकोमा स्मृति भित्रबाट त्यो ख्याउटे अनुहार खैनीले कालो भइसकेको दाँत देखाउँदै प्रश्न गर्छ– ‘भाञ्जा सञ्चै छौ ? ’

हरेक तिहारमा उनी (मामा) टुप्लुक्क आइपुग्थे हाम्रो घर। ४५ नाघेजस्ता देखिने मामा दुब्ला थिए। खिरिला थिए नाडी, फुटेका थिए कुर्कुच्चा। मैले सम्झेसम्म उनी गोरखकाली टायर निर्मित फित्तावाल चप्पल लगाउँथे। उनी पिँढीमा बस्न नपाउँदै आमा भन्थिन्, ‘मामालाई नमस्ते गर्।’

०००

महोत्तरी खयरमाराको बुढुवा खोलाकिनारामा थियो घर। खोरिया फाँडेर भुइँ तल्लाको खरको झुपडी ठड्याएका थिए बुवाले। वनमाराको भित्तालाई कमेरो माटोले टालिएको थियो। एकलासमा थियो घर, जसलाई चैत्रको हुरीले बारम्बार भत्काइरहन्थ्यो।

चर्को गरिबीले घेरिएका थियौं (त्यो घेरा अद्यापि कायम छ।) बुवा सिकर्मी थिए। हप्तामा एकपटक मात्रै घर आउँथे। कहिले त महिनै नाघ्थ्यो। बचेरालाई आहारा खोज्न हिँडेको बूढो चरोजस्ता थिए बुवा। नजिकै काम हुँदा झमक्क साँझतिर चामल र दाल गम्छामा पोको पारेर ल्याउँथे। बुवा फर्किएको साँझ दसैंजस्तै लाग्थ्यो। बुवा एक रात बसेर बिहानै हिँडिहाल्थे।

बुवा कहिले निकै दिन हराउँथे। अन्न सकिन्थ्यो। छेउछाउको छिमेकीसँग अ‍ैंचोपैंचो गर्ने ठाउँ पनि सकिन्थ्यो। त्यहीबेला मामा टुप्लुक्क आँगनमा देखा पर्थे। भोकले आन्द्रा बटारिँदा बटुकोमा बेसार र नुन हालेर कचियाको टुप्पाले घोल्दै मन्त्र पढेजसो गर्थे। स्वाट्ट पियाउँथे अनि बटुको घोप्ट्याएर त्यसमाथि कचियाको टुप्पाले हिर्काउँथे।

उनीसँग गरिबी भगाउने कुनै जादुको छडी त थिएन, तर जब आपत् पथ्र्यो त्यतिबेला उनी टुप्लुक्क आइपुग्थे। र, भोक भगाउने अनेक उपाय निकाल्थे। हो, उनी हाम्रा लागि भोक भगाउने मान्छेजस्तै थिए। दाउरा काट्न जान्थे। घाँस काटेर ल्याउँथे। अर्काको खेतमा हलो जोत्न, हली लगाउन जान्थे अनि बेलुकी चामल र मासु किनेर फर्किन्थे।

०००

सर्लाही राजघाटमा थियो मामाघर। मामाकी साहिँली बहिनी हुन् आमा। २०५० सालको वाग्मतीले सबथोक सिनित्तै बगायो। तर, दुःखको वाग्मती अझै तर्नु रहेछ, माग्छे बनाएन। सर्लाहीकै सुकेपोखरी नजिकै सरकारले ओत लाग्ने ठाउँ दियो। त्यहीँ बस्थे हजुरबा र हजुरआमा।

मामा फकिर जस्तै घुमिरहन्थे। हजुरआमा र हजुरबुवा मात्रै हुन्थे घरमा। तिहारमा आएका मामा केही समय हाम्रै घरतिर बरालिन्थे। कुन दिन घर छोडेर लुसुक्क कता पुग्थे, केही मेसो पाइन्नथ्यो। आमा भन्छिन्, ‘ठूलो हुँदासम्म हजुरबाले मामालाई खुप पिट्नु हुन्थ्यो। पढ्न पाएनन्। सीप पनि केही छैन। सानैदेखि डुलिहिँड्ने बानी पर्‍यो।’

मामा रक्स्याहा थिए। बिँडी र खैनीको अम्मली पनि। ओठमा खैनी, मुखमा ह्वास्स रक्सीको गन्ध, कानमा सधैं सखुवाको पातले बेरेको ठुटे बिँडी। मामाको यो हुलियामा फरकपना कहिल्यै देखिनँ।

मामा रक्सी उधारो पनि खान्थे। गाउँभरि रक्सी खाएको पैसा सम्भवतः अझै तिर्नु होला। तर, मान्छेसँग झगडा गरेको कहिल्यै देखिनँ। कसैले ठूलो स्वरले करायो भने लुसुक्क साइड लाग्थे। रक्सीले पनि हिम्मत नदिने अभागी रक्स्याहा थिए सायद।

मामाको नाम धेरै पछि थाहा पाएँ। जो जिन्दगीभरि धनविहीन बाँचे, उनको नाम रहेछ धनबहादुर। एउटी छोरी थिइन्। अहिले कहाँ छिन् थाहा छैन। रक्सीले मामालाई छाडेन, बरु माइजूले मामालाई छाडिदिइन्।

०००

धेरै त सम्झना छैन। ११/१२ वर्षको हुँदादेखि मामासँग बिताएका केही दृश्य भने धमिलो सम्झन्छु। उनी देउसी खेल्न खुब मन पराउथेँ। भट्ट्याउन माहिर। बिँडीको सर्को तान्दै उनी भन्थे, ‘भाञ्जा, तिम्रा साथीहरू जम्मा गर, देउसी खेलेर पैसा कमाउनुपर्छ।’ म गाउँभरिका ८÷१० जना साथी जम्मा पार्थें। त्यसपछि सुरु हुन्थ्यो देउसी।

मामाको हातमा टर्च र लौरो हुन्थ्यो। उनी औंसीको अँध्यारोमा टर्च बालेर अघि लाग्थे। हामी चामल र धान बोक्न बोरा बोकेर पछि लाग्थ्यौं। चुरेको फेदीमा छरिएर बसेका खरका झुपडीहरू। एउटा घरबाट अर्को घर पुग्न खोल्ची कट्नुपर्ने। शीतले भिजेको बाटोमा लड्दै पुग्थ्यौं। कुनै घर पुग्नेबित्तिकै उनी ठूलो तर मीठो स्वरमा गीत गाए जसरी भट्ट्याउन थाल्थे– हरबल हरबल, तुलसीको मोठमा, बत्ती बाल्ने बेला भो...। मामाको भट्ट्याउने शैलीले ढिला उठ्ने घरबेटी चाँडै उठ्थे। अचम्म मान्दै मामालाई देखाउँदै भन्थे, ‘को हो यो मान्छे ? ’

आँगनमा दक्षिणा आएपछि उनको मीठो आशिष सुरु हुन्थ्यो। के विधि आशिष जानेका ! त्यो आशिषमध्ये एक प्रतिशत मात्रै उनकै जीवनमा लागू भएको भए उनको दिन फिर्ने थियो। हामी देउसेकोे ध्यान कति पैसा झर्‍यो भन्नेमा केन्द्रित हुन्थ्यो। मामाको ध्यान चाहिँ पैसासँगै रक्सीमा पनि हुन्थ्यो। पैसा चित्तबुझ्दो आए पनि रक्सी नआएसम्म दिक्कै लाग्ने गरी भट्ट्याइरहन्थे। रक्सीको बोतल आएपछि आँगनमै पलेँटी कसेर चिरिप्प पार्थे।

बाँसको फूल बोकेर तलतिर एउटा छायाँ लम्किरहेझैं लाग्छ। देउसी भट्ट्याइसकेपछि आँगनमै टुसुक्क एकजना मानिस रक्सी घुक्ट्याइरहेको दृश्य बेलाबेला स्मृतिमा आउँछ। उनी स्मृतिबाट फुत्त निस्केर मलाई बेलाबेला सोधिरहन्छन्, ‘भाञ्जा सञ्चै छौ ?’

उनी सबैलाई पैसा बराबरी बाँड्थे। ‘यति चाहिँ भट्ट्याउनेको भाग है भाञ्जा’ भन्दै हाम्रोभन्दा २०/३० रुपैयाँ बढी खल्तीमा हाल्थे। हाम्रो भागमा चाहिँ लगभग ६०÷७० रुपैयाँ पथ्र्यो।

तिहारपछि केही दिन उनी हाम्रो घर बसे। छिमेकीको धान झारे। एकदुई बोरा धान घर ल्याए अनि गाउँबाट हराए।

०००

एकपटक बुवा घर नआएको १५ दिन नै नाघिसकेको थियो। सर्लाही हरिवनमा घर बनाउन गएका थिए बुवा। घरमा मकै सकिएको थियो। मेरो स्कुल पनि छुटिसकेको थियो। घरमा खानेकुरा थिएन। हामी बुवा आउने बाटो हेरिरहेका थियौं। तर, दिन कष्टकर बित्दै थियो। त्यही एक साँझ मामा टुप्लुक्क घर आइपुगे।

भोलिपल्ट बिहानै खुकुरी र गल तयार पारे। भुटेको मकै पोको पारेर उनी अघि लागे। म गल बोकेर पछिपछि लागेँ। चुरेका होचा थुम्काहरू कटेर निकै माथि पुग्थ्यौं। खै कसरी चिनेका होलान् ! वन तरुल तुरुन्तै ठम्याए। त्यसपछि गलले निरन्तर खन्न थाले। छेउमा टुक्रुक्क बसेर हेर्दाहेर्दै लामो तरुल निकाले। तरुल खोज्दाखोज्दै जंगलमै रात पर्‍यो। त्यसपछि हामी मामा–भाञ्जा चुरेको ओरालो झर्‍यौं। उनी पछिपछि, म अघिअघि। ओरालो झर्दा मामाको घुँडाबाट एक किसिमको आवाज आउँथ्यो– ट्याक ट्याक, ट्याक ट्याक। त्यो आवाज मामा पछिपछि आइरहेको संकेत थियो। बेलाबेलामा उनी फतक्कै गल्थे र थुचुक्क बस्थे।

अबेर राति घर आइपुगेपछि वन तरुल उसिइन् आमाले। भाइबहिनी निदाइसकेका थिए। आमाले मामाको लागि एक गिलास जोहो गरिदिएकी रहिछन्। गिलास स्वाट्ट पारेपछि अँगेना छेउ पाकिरहेको तरुल एकोहोरो हेरिरहे मामाले।

केही दिनपछि मामा फेरि गाउँबाट हराए।

०००

सायद फागुन वा चैत्र महिना हुनुपर्छ। रूखका पातहरू भुइँमा झरेर उराठलाग्दो थियो याम। जंगल नांगै देखिन्थ्यो। सुक्खा खडेरी थियो जताततै। खेतका गह्राहरू पट्पट् फुटेका थिए। चुरेको खोलामा कमिला हिँड्थ्यो। चराचुरुंगी काकाकुल देखिन्थे। सिलाबरको गाग्री बोकेको ताँती देखिन्थ्यो जताजतै। त्यस वर्ष पाखोबारीमा मकै फलेन। कोदोले पनि धोका थियो। अनिकाल झन चर्कियो। बुवा घर नफर्किएको त महिनौ बितिसकेको थियो। मामा पनि थिएनन् साथमा। पैंचो गरेर आमाले च्याँख्लाको खाना खुवाउँदै थिइन्।

त्यस्तै उराठिलो एक साँझ मामा फेरि टुप्लुक्क घर आइपुगे। हामी खुसी भयौं। उनी मातेकै थिए। भाञ्जाभाञ्जीका लागि चकलेट थिएन गोजीमा। थियो त उही ह्वास्स रक्सीको गन्ध।

भोलिपल्ट बिहानै मामाले बोरा ठीक पारे। खुकुरी भिरे। ‘भाञ्जा जाउँ जंगल,’ बुढुवा खोलैखोला उनी अघि लागे। खोलाको शिर नजिकै पुग्यौं। सेत्तै फुलेका बाँसझ्याङतिर अघि लागे मामा। म बोरा बोकेर पछिपछि। करौंची बाँसका सेत्तै पुगेका दाना सोहोर्न थाले। धानको उरुङजस्तै बाँसका फूलहरू जम्मा पारे। बोरामा खाँदीखाँदी हाले। ‘सय वर्षमा एकपटक बाँस फुल्छ, बाँस फुलेको साल गाउँमा ठूलो खडेरी पर्छ, अनि अनिकाल लाग्छ भाञ्जा !’ उनले भनेको यत्ति सम्झना छ। त्यसपछि बोरामा बाँसका फूल बोकेर खोलैखोला घर फर्कियौं। मामाले केही गँगटा पनि मारे।

बाँसको फूल आँगनभरि फिँजाए। लौरोले कुटे। अनि फेरि ढिकीमा कुटे। गहुँको जस्तो सेतो दाना देखियो। त्यसलाई निफने। अनि त्यसको भात खायौं। स्वाद बिल्कुल भिन्न। अलिअलि बाँसको गन्ध आउने। दुई छाक त्यसैले टार्‍यौं। केही दिनपछि राँगाको मासु र चामल लिएर बुवा आइपुगे। घरमा खुसी छायो।

एक महिनापछि मामा फेरि गाउँबाट हराए। त्यसपछि फर्किएनन्। अहँ, कहिल्यै फर्किएनन्। एउटा लम्बेतान समय त्यसै गुज्रियो। उनी आएनन्। हुरीले कतिपटक घरको छाना उडायो। उनी आएनन्। कति रात भुटेको मकै चपाउँदा चपाउँदै निदाएँ। उनी आएनन्। एउटा फकिर जस्ता मामा कहिल्यै फर्की आएनन्।

०००

मामाको निधारमा आमाले टीका नलगाएको आज वर्षौं बित्यो। वर्षौंदेखि घर फर्किएका छैनन् मामा। अब कहिल्यै फर्किंदैनन् पनि। चार वर्षअघि बाराको कुनै गाउँबाट जन्डिस र रक्सीले उनलाई हरण गर्‍यो। बेवारिसे लास बनेर धेरै दिनसम्म अलपत्र परिरह्यो मेरो प्रिय मामाको मृत शरीर।

मामाको शव उतैका गाउँलेले जलाइदिएको खबर आयो एक महिनापछि। अहिले पनि रक्सीको गन्धले लठिठ्एको साँझ हाम्रो घरभित्र पसिरहेझैं लाग्छ। बाँसको फूल बोकेर तलतिर एउटा छायाँ लम्किरहेझैं लाग्छ। देउसी भट्ट्याइसकेपछि आँगनमै टुसुक्क एकजना मानिस रक्सी घुक्टयाइरहेको दृश्य बेलाबेला स्मृतिमा आउँछ। उनी स्मृतिबाट फुत्त निस्केर मलाई बेलाबेला सोधिरहन्छन्, ‘भाञ्जा सञ्चै छौ ? ’

मामाको प्रसंग आउनासाथ आमा भक्कानिन्छिन् अझै। गला अवरुद्ध पार्दै आमा भन्छिन्, ‘मामाको नाममा स्वयम्भूमा बत्ती बाल्दे।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.