पोखरा शीर्ष स्थानमा, काठमाडौं पराजित
पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग टी ट्वीन्टी क्रिकेट प्रतियोगिताकोको शनिबारको पहिलो खेलमा पोखरा पल्टन विजयी भएको छ । शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनले, ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेको हो ।
पोखराले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनको बनाएको थियो । १०४ रनको लक्ष्य पोखराले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
सुरुवातबाटै खराब ब्याटिङ गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले बनाएको ३१ रन नै उच्च स्कोर रह्यो । अमित श्रेष्ठले २१, वसन्त रेग्मीले १९ रन बनाउँदा पवन सर्राफले १२ रन बनाए । अन्यले खासै योगदान गर्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितनारायण राजवंशीले ३ विकेट लिए । रासिद खान र यूएईका खेलाडी मोहमद नाबिदले २–२ विकेट लिए ।
सहज लक्ष्य पछ्याएको पोखराका ब्याट्सम्यानले पनि मध्यम ब्याटिङ गरे । पोखराका लागि यूएईका खेलाडी मोहमद नाबिदले सर्वाधिक ३६ रन बनाए । त्यसपछि भारतीय खेलाडी रवि इन्दर सिंहले २२, आसिफ शेखले १६, कुशल भुर्तेलले १४ रन बनाउँदा रोहितकुमार पौडेल १५ रन बनाएर नटआउट रहे।
काठमाडौंका लागि अमरसिंह रौटेलाले सबैभन्दा बढी तीन विकेट लिए । जितपछि पोखरा ६ जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार बुटवलमाथि जित निकाली शीर्ष स्थानमा उक्लिएको काठमाडौं दोस्रो स्थानमा छ ।
शनिबारको दोस्रो खेल विराटनगर र चितवनबीच हुँदैछ ।