पीपीएल क्रिकेट : पोखरा फाइनलमा
दीपेन्द्र गुरुङ/कृष्णमणि बराल
यस्तै प्रतियोगिताको इलिमिनेटरमा काठमाडौंले चितवन राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ। शनिबार नै भएको दोस्रो खेलमा चितवनले विराटनगरलाई चार विकेटले नै पराजित गर्दै इलिमिनेटरमा काठमाडौंसँगको भेट पक्का गरेको हो। इलिमिनेटर खेल आइतबार हुनेछ।
इलिमिनेटरको विजेता टोलीले मंगलबार हुने फाइनल खेलमा उपाधिका लागि पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछन्। टस जिती पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तय गरेको थियो। जवाफी ब्याटिङमा आएको चितवनले निर्धारित ओभरको अन्तिम तीन बल बाँकी रहँदा ६ विकेट गुमाउँदै जित भेट्टाएको हो।
सन्दीप लामिछानेले गरेको एकै ओभरबाट (१९औं ओभरमा) सन्नी पटेलले दुई छक्का र एक चौकाको मद्दतले १८ रन जोडेपछि चितवनले केही मुस्किल देखिएको अवस्थामा पुगेर पनि जित निश्चित गरेको हो।
प्रतियोगिताको इलिमिनेटरमा पुग्नकै लागि पनि चितवनलाई यो खेलमा जित अत्यावश्यक थियो। विराटनगरसँग पराजित भएको अवस्थामा चितवनको स्थानमा धनगढी प्रतियोगिताको इलिमिनेटरमा पुग्ने निश्चित थियो। कम अन्तरको जितले भने चितवनलाई प्रतियोगिताको सीधै फाइनलमा पुग्न दिएन।
चितवनको जितमा विस्फोटक ब्याटिङ गरेका सन्नी ५१ रनको योगदान दिए। त्यसअघि पाकिस्तानी खेलाडी मुहम्मद जइद अलामले ५१ रन तथा सुनील धमलाले ४७ रन जोड्दा विराटनगरले सशक्त सुरुआत गरेको थियो।
यी दुई प्रारम्भिक जोडीले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्दै विराटनगरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए। अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा विराटनगर प्रतियोगितामा दोस्रो जित हात पार्ने अवसरबाट वञ्चित रह्यो। सन्दीपले चार विकेट लिएका थिए।
त्यसअघि भएको खेलमा ब्याटिङ र बलिङमा सशक्त प्रदर्शन गर्दै पोखराले सीधै फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो। टस हारी पहिले ब्याटिङ गरेको काठमाडौं रोयल्सले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय तीन रनको सामान्य योगफल तय गरेको थियो। जवाफमा पोखराले १५.५ ओभरमा ६ विकेट गुमाउँदै जित निश्चित गरेको हो। पोखराको जितमा मोहम्मद नाभेदले ३६ रन बनाए।
काठमाडौंका लागि भने कप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले २१ रनको योगदान दिए। पोखराका ललितनारायण राजवंशीले तीन विकेट लिएका थिए।