जिप पल्टिँदा बेपत्ता अमिनाको शब खोज्न गोताखोर
दुनै, डोल्पा : हिमाली जिल्ला डोल्पामा भएको जिप दुर्घटनापछि ठुलीभेरी नदीमा खसेर बेपत्ता २२ वर्षीया अमिना बुढा मगरको शव गोताखोरको टोलीले खोजी गर्न थालेको छ ।
जिल्लास्थित सुरक्षाकर्मीले शव खोजी गर्न कठिन भएपछि काठमाडौबाट सशस्त्र प्रहरी बलका २ जना गोताखोरले आजैदेखि खोजी कार्य थालेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएका हेमराज हमालको शव लिन आएको हेलिकप्टरमा सशस्त्रको गोताखोर टोली डोल्पा ल्याएर अमिनको शव खोजी थालिएको प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए । ‘सबै किसिमका उपकरणसहितको गोताखोर टोलीले बुढाको खोजी गरिरहेको छ’, उनले भने ।
दुर्घटना भएको जिपमा अमिनाको झोला र मोबाइल फेला परेपछि उनी बेपत्ता रहेको पत्ता लागेको थियो । परिवारले शव भेटिने आशमा बसे पनि १० जनामा उनको शव नहुँदा तत्काल खोजी गरिदिन प्रहरी प्रशासनलाई आग्रह गरेका थिए ।
परिवारको आग्रह अनुसार जिल्लाका सुरक्षाकर्मीले खोजी गर्न नसकेपछि काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोर टोली मगाएर खोजी थालिएको प्रजिअ थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !