रक्षामन्त्री भन्छन् : सरकारले विगतको फोहोर फाल्दैछ, अब काम देखिन्छ
फिदिम : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सरकारले फोहोरको डङ्गुर फालिरहेको बताएका छन् छन् । किरातहरुका महागुरु तथा १६ राष्ट्रिय विभूति फाल्गुनन्दको एक सय ३४ औँ जन्मजयन्तीको अवसरमा फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले अघिल्ला सरकारले लठीभद्र बनाएका काम सच्याउन सरकार जुटेको बताएका छन् ।
फिदिमस्थित शनिबारेमा निर्मित फाल्गुनन्दको १२ फुट अग्लो पूर्ण कदको शालिक अनावरण गर्दै पोख्रेलले सरकारले बिग्रेका काम बनाउन लाग्दा कामै नगरेजस्तो देखिएको बताएका हुन् । ‘विगतमा सबै काम बिगारिएको छ,’ पोख्रेलले भने ‘बिगारेर डङ्गुर बनेका फोहोर सरकारले फालिरहेको छ । नयाँ नियम कानुन बनाउन सरकार लागि परेको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै पोख्रेलले फाल्गुनन्द किरात धर्मावलम्बीका मात्र नभइसारा नेपालीका महागुरु भएको बताए । फाल्गुनन्दले देखाएको बाटोमा हिँड्नुपर्ने आजको आवश्यकता रहेको पोखे्रलेको भनाई छ । सत्ता प्राप्तिका लागि जस्तोसुकै कुकर्म गर्न लाग्नेहरुले फाल्गुनन्दको सन्देशलाई आत्मसाथ गर्नुपर्ने पोख्रेलको जोड थियो । ‘फाल्गुनन्दको सन्देशलाई हामी सबैले आत्मसाथ गर्नुपर्छ,’ पोख्रेलले भने ।
सरकार चुनावमा गरेका प्रतिबद्धताबाट पछि नहटेको उनले उल्लेख गरे । ‘चुनावमा व्यक्त गरिएको प्रतिबद्धताबाट हामी एकरति पछि हटेका छैनौ,’ उनले भने, ‘राम्रा काम गर्न केही समय लाग्छ । सबैले धैर्य गर्नुपर्छ ।’
कार्यक्रमलाई नेकपाका उनेता सुवास नेम्बाङले पनि सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेम्बाङले किराँतसभ्यता, संस्कार, भाषा र लीपिको बाटो देखाउन फाल्गुनन्दको योगदानलाई नेपालले कहिल्यै भुल्न नहुने बताए ।
फाल्गुनन्दले सारा नेपालीहरुलाई एकताको सुत्रमा बाधेकाले उनको योगदानलाई अवमूल्यन गर्न नहुने उनको भनाइ छ । ‘फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गराउन मैले पहल गरेको थिएँ,’ विगतको कुरा स्मण गराउँदै नेम्बाङले भने ‘फाल्गुनन्दले देखाएको बाटोमा हिँड्ने हो भने देशले चाँडै मुहार फेर्नेछ ।’
कार्यक्रममा नेकपाका प्रभावशाली नेता योग भट्टराईको समेत उपस्थिति थियो । ताप्लेजुङान अवस्थित पाथिभरा मन्दिरको दर्शन गरेर नेताहरु पाँचथर आएका थिए । कार्यक्रममा देश विदेशका हजारौ किराँत धर्मावलम्बी उपस्थित थिए । फाल्गुनन्दलाई किरात धर्मावलम्बीले समाज सुधारकका रुपमा लिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !