दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

दुई हजारभन्दा बढी अधिकृतको आवेदन खुल्दै

काठमाडौं : लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ । आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो ।

संशोधित कार्यतालिकाअनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो । ‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो हो’, सुवेदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन् ।’

आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म १ हजार ९ सय ७० संख्यामा विज्ञापन मागेको थियो । यस वर्ष भने त्योभन्दा पनि बढीको संख्यामा आवेदन खुल्ने सुवेदीले बताए । आयोगले मंगलबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्यायसेवा आयोग र व्यवस्थापिका संसद्लाई आवश्यक कर्मचारी माग्दै विवरण पठाउन परिपत्र गरेको छ ।

‘सेवा सञ्चालनका निकायसँग माग पठाउन परिपत्र गरेका छौं । माग आएपछि त्यसकै आधारमा विज्ञापन गर्छौं’, उनले भने । कर्मचारी माग गर्ने अधिकार सेवा सञ्चालन गर्ने निकायको भएको उनले बताए ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत सातौं तहदेखि ११ तहसम्म विज्ञापन गरिनेछ । अन्य क्षेत्रमा भने शाखा अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन खुल्ने उनले जानकारी दिए । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी सेवासम्बन्धी कानुन नबनेकाले निजामती सेवा ऐनअनुसार पद र प्रतिशत छुट्याएर विज्ञापन गर्न लागिएको हो ।

लोकसेवा आयोगको कामकारबाही नरोकिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । ‘हाम्रै अनुरोधमा दुई महिनाका लागि रोकियो, अब आयोगको नयाँ कार्यतालिका आएको छ । त्यसअनुसारका विज्ञापन गर्न केही रोकावट रहन्न’, उनले भने ।

कानुनी अड्चन आए पनि त्यसलाई सम्बोधन गरेर लोकसेवाका गतिविधि नरोक्ने सहमति भएको उनले प्रस्ट्याए । कर्मचारी समायोजन अध्यादेश, २०७५ ले लोकसेवाको विज्ञापनमा सहजता ल्याउने अधिकारीको दाबी छ । प्रदेश लोकसेवा आयोग गठन नभएसम्म केन्द्रले नै संघ, प्रदेश र स्थानीय तहका कर्मचारी भर्ना गर्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.