हिमाली गाउँमा वृद्धाश्रम
गोरखा : हिमाली गाउँ प्रोकमा डेढ करोड रुपैयाँ खर्चेर वृद्धाश्रम निर्माण भएको छ। चुमनुब्री गाउँपालिका ४ होग्गोममा नवनिर्मित उर्गेन डोदुल्लिङ वृद्धाश्रमको गोरखाका सीडीओ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई र खेम्पो लामागुरु तेन्जिन नुर्बुले संयुक्त उद्घाटन गरेका हुन्।
हालै निर्माण भएको वृद्धाश्रममा साविक सामागाउँ, ल्हो र प्रोक गाविसका १४ वृद्धवृद्धा बस्छन्। पाँच रोपनी क्षेत्रफलमा फैलिएको आश्रममा आठ वटा भवन छन्। २८ जना वृद्धवृद्धा अट्न सक्ने क्षमता छ। वृद्धा श्रम निर्माणका लागि स्थानीय छाक गाउँका नौ जनाले जग्गादान गरेका वध्यक्ष पेमाडुण्डुप लामाले बताए। आश्रममा निःशुल्क खानेबस्ने, लगाउने र नियमित उपचारको व्यवस्था छ। साथै मृत्युपछि दाहसंस्कारको व्यवस्था रहेको आश्रम सञ्चालक समिति अध्यक्ष लाक्पाढुण्डुप लामाले बताए।
परिवारको निवेदन र वडा कार्यालयको सिफारिसका आधारमा वृद्धाश्रममा बस्न पाइने व्यवस्था छ। आश्रममा दाहसंस्कार स्थल, गुम्बा, माने, ध्यान गर्ने कोठा बनाउने लक्ष्य रहेको वडाध्यक्ष पेमाले बताए। फर्पिङको आजोम गुम्बाको सहयोगमा निर्माण भएको आश्रममा खानेपानी, शौचालय र पदमार्ग भने वडा कार्यालयको सहयोगमा निर्माण भएको थियो।
प्रतिक्रिया दिनुहोस !