सिमरा : धनुषाधाम नगरपालिका–२ मंगलपुरकी श्यामुकुमारी ठाकुरको आँखाका आँसु सुकेका छैनन, न त उनको न्यायका लागि सुरु भएको संघर्ष नै रोकिएको छ। मिटरब्याजको पासो र त्यसपछि निम्तिएको क्रुर हिंसामा आफ्ना पति भोगेन्द्र ठाकुरलाई गुमाएको दुई वर्ष बितिसक्दा पनि श्यामुकुमारी न्याय र भत्किएको परिवार सम्हाल्ने पीडादायी संघर्षमै छिन्।
२०८१ साल साउन १४ गते दिउँसो हातहतियारसहित आएका १० जनाको समूहले उनीहरूको घरमै पसेर अन्धाधुन्ध आक्रमण गरेको थियो। मिटरब्याजको शिकार बनेका भोगेन्द्रमाथि भएको उक्त क्रुर हमलामा श्यामुकुमारी आफैं पनि गम्भीर घाइते भइन्। आफ्नै आँखाअगाडि रक्ताम्य भएका पतिलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो। श्यामुकुमारी भने जीवन र मरणको दोसाँधबाट फर्किन सफल भइन्, तर उनको जीवन पहिले जस्तो भने रहन सकेन।
उक्त बीभत्स हत्याको घटनालगत्तै भएको सडक आन्दोलनमा श्यामुकुमारीको परिवारलाई न्याय दिने गरी ८ बुँदे सहमति भयो। सहमतिका बुँदामा मुख्य योजनाकार मिटरब्याज साहु शिवजी यादवसहित घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्ने, दुई छोरीलाई निःशुल्क शिक्षा, श्यामुकुमारीलाई उपचार तथा रोजगारी, मिटरव्याजसम्बन्धी मुद्दामा छानबिन तथा कारबाहीलगायत उल्लेख थियो।
सहमति गरिएकामध्ये श्यामुकुमारीले स्थानीय पालिकामा दैनिक ज्यालादारीमा मासिक ६ हजार पाउने गरी काम गरिरहेकी छिन्। त्यसबाहेक न्यायको अनुभूति गर्न नपाएको उनी बताउँछिन्। पति गुमाएको शोककाबीच उजाडिएको परिवारको न्यायका लागि लडिरहेकी श्यामुकुमारी हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरिरहेकी छिन्। पटक–पटक स्थानीय प्रशासन र न्यायालयमा हारगुहार गरेकी श्यामुकुमारीले मंगलबार गृहमन्त्री सुधन गुरुङसामु बिलौनानै गरिन्। जनकपुरबाट पैदल काठमाडौं जान लागेका मिटरब्याज पीडितलाई भेट्न आफैं बाराको निजगढ आएका गृहमन्त्री गुरुङलाई घटनाक्रम सुनाउँदै श्यामुकुमारीले न्याय दिलाउन आग्रह गरिन्। उनले मिटरब्याज साहु यादवले आफ्नो पतिको हत्या गरेको, जग्गा, पैसा सबै लगेको भन्दै पीडा पोखिन्।
श्यामुकुमारीका अनुसार उनका पति भोगेन्द्रले मिटरब्याज साहु यादवसँग ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। जग्गा बन्धक राखेर लिएको उक्त ऋणवापत आफूहरूले ९ धुर घडेरी र ५ कट्ठा खेत बेचेर ९ लाख रुपैयाँसमेत फर्काएको श्यामुकुमारीले बताइन्। ९ लाख रुपैयाँ फर्काउँदासमेत मिटरब्याज साहु यादवले बन्धक बनाएको जग्गा फिर्ता गरेनन्। यादवले बन्धकमा राखेको दुई कट्ठा जग्गा आफ्नो नाममा गराएको श्यामुकुमारीले बताइन्।
आफूहरूले जग्गा फिर्ता मागेकै कारण यादवलगायतका व्यक्तिले सांघातिक हमला गरेको श्यामुकुमारीको भनाइ छ। उक्त घटनामा संलग्न रहेको आरोपमा केही व्यक्ति पक्राउ परे पनि अदालतबाट साधारण तारेकमा रिहा भएपछि श्यामुकुमारीको मन अझै भारी भएको छ। उनी आफ्नो काखमै ज्यान गुमाएका पतिलाई सम्झिदै हत्यारालाई कानुनी दायरामा ल्याउने प्रण गर्छिन्। तर, उनका लागि न्याय पाउने विषय फलामको चिउरा चपाए सरह जस्तै भएको छ।
श्यामुकुमारीका अनुसार उक्त घटना र मिटरब्याजको मुद्दा अहिले पनि अदालतमै छ। तर, उनले बहसका लागि वकिलसमेत राख्न सकेकी छैनन्। अदालतले वकिल राख्न भने पनि आफूसँग पैसा नभएको उनी बताउँछिन्। ‘न जग्गा छ, न घडेरी छ। वकिल राख्ने पैसा कहाँबाट ल्याउँ ?’ श्यामुकुमारीले भनिन्, ‘मैले नसकेर वकिल पनि राख्न सकेको छैन। तर, मलाई न्याय चाहिएको छ।’
उनी आफ्नो पतिको हत्यामा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही भएको हेर्न चाहिन्छन्। जग्गाजमिन फिर्ता गर्नेभन्दा पनि पतिको हत्यारालाई कानुनी दायरामा ल्याउने आफ्नो चाहना रहेको उनी बताउँछिन्। उनले आफूलाई न्याय दिन गृहमन्त्रीसँग माग गरिन्। श्यामुकुमारीको बिलौनापछि भावुक बनेका गृहमन्त्रीले सुरक्षा अधिकारीसँग छलफल गरेका थिए।
- धनुषाकी श्यामुकुमारी ठाकुर पति हत्या भएको दुई वर्षपछि पनि न्यायको प्रतीक्षामा।
- मिटरब्याज विवादमा २०८१ साउन १४ मा भएको आक्रमणमा भोगेन्द्र ठाकुरको मृत्यु।
- ८ बुँदे सहमतिका अधिकांश प्रतिबद्घता अझै कार्यान्वयन नभएको गुनासो।
गृहमन्त्री गुरुङले पैदल आएका हरेक मिटरब्याज पीडितको कुरा सुन्ने प्रयास गरे। उनले सबैलाई आफ्नो पीडा राख्न समय दिएका दिए। गृहमन्त्री आफैं कुरा सुन्न बसेपछि न्याय खोज्दै पैदल जान लागेका पीडितहरूले पनि आफूले भोगेका पीडाको बेलिबिस्तार लगाएका थिए।
पीडितकैबीच सर्लाही मलंगवाकी ६५ वर्षीय मन्तरियादेवी आफ्नो पतिको नाममा रहेको जग्गा मिटरब्याज साहुले अरूकै नाममा गरिदिएको लालपुर्जा बोकेर न्याय खोज्दै आएकी थिइन्। उनले आफ्नो पतिको नामबाट जग्गा अरुको नाम गएको समेत चाल पाएकी थिइनन्। मिटरब्याज साहु रामस्वरूप राय आफ्नो घर खाली गराउन आए पनि उनले जग्गा अरूकै नाममा गइसकेको थाहा पाइन्।
मन्तरियादेवीका पति बिलट रायको नाममा रहेको तीन कट्ठा १८ धुर र एक कट्ठा तीन धुर जग्गा लक्ष्मीनारायण यादव र कोमल देवीको नाममा कायम भइरहेको छ। उक्त जग्गा कसरी उनीहरूको नाममा गयो भन्ने विषयमा मन्तरियादेवी अनविज्ञ छिन्। पतिलाई झुक्याएर उक्त जग्गा अरूको नाममा दर्ता कायम गरिएको उनको भनाइ छ।
जग्गा अरूको नाममा कायम भएपछि पीडामा रहेकी मन्तरियादेवीलाई मिटरब्याज साहुले घरमै आएर लखेट्ने प्रयास गरिरहेका छन्। उनले केही दिनअघि मात्रै साहु आएर घर खाली गर्न भनेको र अटेर गरे डोजर लगाई दिने धम्की दिएको गुनासो गरिन्। उनले आफ्नो घरबाहेक अरू केही नभएको उनी बताउँछिन्।
मन्तरियाका अनुसार उनको परिवारले पोल्ट्री फार्म सञ्चालन गर्नका लागि साहुसँग ८ लाख लिएका थिए। जसमध्ये ३ लाख १० हजार रुपैयाँ फिर्तासमेत गरिसकेका थिए। तर, मिटरब्याजको पासोमा परेका उनीलाई त्यहाँबाट निस्कन र न्याय पाउन सकस परिरहेको छ।
श्यामुकुमारी र मन्तरियाको जस्तै पीडा बोकेर जनकपुरबाट २ सय २२ जना पीडितहरू असार २५ गते आन्दोलन गर्न काठमाडौं निस्किएका थिए। पैदल काठमाठौं जान लागेका पीडितलाई गृहमन्त्री गुरुङ निजगढमै आएर भेटेका हुन्।
उनले पीडितको कुरा सुन्दै मिटरब्याजमा संलग्न व्यक्तिलाई कानुनी दायरमा पक्रिया निजगढबाटै सुरु गरेका छन्। मिटरब्याजमा संलग्न देखिएका व्यक्तिको विवरण संकलन गर्न उनले निर्देशन दिएपछि प्रहरीले काम सुरु गरेको थियो। प्रहरीले सोही स्थानबाटै विवरण संकलन थालेको छ।
गृहमन्त्री गुरुङले पीडितसँगको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिँदै पीडित र पीडकको विवरण संकलन गर्न थालिएको बताए। उनले प्रक्रियागत रूपमा काम अघि बढ्ने बताए। विवरण संकलन प्रक्रिया सुरु गराएर मन्त्री गुरुङ सभाहलबाट निस्किएका थिए।
प्रतिक्रिया दिनुहोस !