२० वर्षपछि उठ्यो बाह्रकिलो बजार
गोरखा : लामो रस्साकस्सीपछि गोरखा नगरपालिका–११ मा २० वर्षदेखि सञ्चालनमा रहेको बाह्रकिलो बजार खाली भएको छ। पसलवालाहरूले मंगलबारदेखि स्वस्फूर्त आफ्ना घरटहरा खाली गरेका हुन्। नियमक निकायले सार्वजनिक जग्गामा बनेका घरटहरा यही असार ३० गतेभित्र खाली गर्न समयसीमा दिएपछि पसल सञ्चालकहरूले त्यहाँका घरटहरा छाड्न थालेका डिभिजन वन कार्यालय गोरखाले जनाएको छ। अहिले त्यहाँका ३५ वटा घरटहरा खाली भएका कार्यालयले जनाएको छ।
नगरपालिका भित्रका सार्वजनिक जग्गा हडपेर बनेका घर टहरा हटाउने गोरखा नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको थियो। सोही निर्णयपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वन डिभिजन कार्यालय, सवडिभिजन कार्यालय, ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले सो सार्वजनिक जग्गा खाली गर्न सूचित गरेको थियो।
बारम्बार लिखित तथा माइकिङ गरेर सार्वजनिक जग्गा खाली गर्न आह्वान गरेपछि पसलधनीहरूले घर टहरा खाली गरेका वन डिभिजन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए।
सबै घरटहरा खाली भइसकेपछि त्यसलाई हटाएर वन क्षेत्रलाई तारबार गरी सुरक्षित गरिने डिभिजनल वन अधिकृत शाण्डिल्यले बताए। आँबुखैरेनी–गोरखा सडकबाट छेपेटारतर्फ जाने चोकमा सार्वजनिक जग्गा कब्जा गरी विगत २० वर्षदेखि बजार सञ्चालनमा छ। २०७३ सालमा हटाउने प्रयास भए पनि केही समयपछि फेरि बजार पुनस्थापित भएको थियो। ‘अब फेरि वनको जग्गा कब्जा गर्न नमिल्ने गरी तारबार गर्नेछौं’, डिभिजनल वन अधिकृत शाण्डिल्यले भने, ‘त्यसका लागि हामीले नापजाँच गरिसकेका छौं।’
प्रतिक्रिया दिनुहोस !