कर्णालीसँग द्रूतमार्ग जोड्ने चीनको तयारी

कर्णालीसँग द्रूतमार्ग जोड्ने चीनको तयारी

सुर्खेत : कर्णाली प्रदेशसँग जोडिएको एकमात्र अन्तर्राष्ट्रिय नाका हिल्सा जोड्ने द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ ।

दक्षिणमा भारतसँग जोडिएको बाँकेको जमुनाह नाकादेखि उत्तरमा चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको द्रूतमार्गको चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

कर्णाली प्रदेश सरकारले ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रूतमार्ग’ नाम दिएको यो सडक निर्माणका लागि चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनको काम अगाडी बढाएको हो । यही क्रममा चीनको सरकारी चाइना रेलवे कम्पनीका ईन्जिनियरहरुको टोलीले मंगलबार हेलिकोप्टरबाट द्रूतमार्ग निर्माण हुने स्थलको हवाइ सर्वे गरेको छ । पाँच सय ३० किलोमिटर लामो यो मार्ग निर्माणका लागि चिनियाँ कम्पनीले बुधबारबाट भने सडक निर्माण हुने क्षेत्रको स्थलगत सर्वे समेत सुरु गरेको हो ।

कर्णाली प्रदेशलाई चीन र भारतसँग जोड्ने गरी यो द्रूतमार्ग निर्माण गर्न लागिएको हो । प्रदेश राजधानी सुर्खेतबाट हेलिकोप्टरमा गएको ईन्जिनियरसहितको टोलीले मंगलबार हुम्लाको हिल्सा नाकासम्म पुगेर द्रूतमार्गको हवाइ सर्वे सम्पन्न गरेको छ ।

कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले भने, ‘हेलिकोप्टरबाट हिल्सासम्म सर्वे भएको छ, चिनियाँ कम्पनीले स्थलगत अध्ययन पनि थालेको छ । अब यो टोलीले ६ महिनाभित्रै प्रदेश सरकारलाई पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन दिनेछ, त्यसैको आधारमा हामी द्र्रूतमार्ग निर्माणका लागि डीपीआरको काम अगाडी बढाउने छौँ ।’

हाल कर्णाली प्रदेश दक्षिणमा रहेको भारतको नाकासँग जोडिएको छैन । त्यसकारण पनि प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै हिल्सादेखि जमुनाह जोड्ने द्रूतमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेसँगै अब सडक निर्माणको काम पनि अगाडी बढ्ने मुख्यमन्त्री  महेन्द्रबहादुर शाही बताउँछन् ।

द्रूतमार्गको हवाइ सर्वे भएको र स्थलगत सर्वेको काम पनि अगाडी बढेको भन्दै शाहीले सडक निर्माणका लागि भौगोलिक अवस्थाको जानकारी लिन सर्वे गरिएको बताए । सडक बिना कर्णालीको समृद्धि सम्भव नभएको भन्दै उनले प्रदेश सरकारले सडकलाई पहिलो प्राथमिकतामा राखेको जनाए । यो फाष्ट ट्र्याक निर्माणका लागि संघीय सरकार पनि सकारात्मक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

सर्वे टोलीसँगै हिल्सा पुगेका कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले द्रूतमार्ग निर्माण भए कर्णालीको काँचुली फेरिने दाबी गरे । कर्णालीलाई अन्तर्राष्ट्रिय नाकासम्म जोड्नका लागि पनि यो सडक निर्माणको काम तत्काल सुरु हुनुपर्ने उनको भनाइ छ । जमुनादेखि हिल्सासम्मको फाष्ट ट्र्याक निर्माण गर्न सके मानसरोवरका कारण पनि प्रदेशले लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।

यस्तै चिनियाँ कम्पनीका नेपाल प्रतिनिधि कविन्द्र जैशीले आफूहरुले हवाइ सर्वे गरिसकेको र ईन्जिनियरको टोलीले स्थलगत सर्वे पनि सुरु गरेको बताए । सर्वेको प्रतिवेदन आएपछि मात्र डीपीआरको काम अगाडी बढ्ने उनको भनाइ छ । हाल कर्णाली प्रदेश उत्तरमा चीनसँगको हिल्सा नाकासँग मात्र जोडिएकाले पनि यो द्रूतमार्ग निर्माणमा चीनले चासो दिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.