अस्तु बोकेर अमेरिकाबाट

अस्तु बोकेर अमेरिकाबाट

सन् १९९२ मा छुटेका दाजुभाइको भेट २६ वर्षपछि भयो। रूपलाई लाग्छ, ‘दाजुभाइको भेट मृत बाबुको आत्माले गराइदिएको हो।’ उनी बाबुको अस्तु अलिगेनी रिभर वा मिसिसिपी वा कुनै नहरमा बगाउन सक्थे। वा अस्तु नै नराख्न सक्थे। तर, त्यसो गरेनन्।


कुनै दिन उनीहरूसँग माटो थियो। भाषा थियो। एक दिन शासकको मगजमा सन्की चढ्यो। भाषा खोस्यो ! माटो खोस्यो।

उनीहरू आफ्नो पुर्खाको पैतालाको वासना सुँग्दै रातारात मेची तरे। नेपाल राज्य आइपुगे। आफ्नो भाषा त भेटे तर माटो भेटेनन्। झन्डै दुई दशक पुर्खाको भाषा सुने, बोले। दुक्खसँग खेले। ‘जीवन केही हैन ! दुक्खैदुक्खको विम्ब हो’ भन्ने बुझे र दुक्खै मात्र भोगे।

एक दिन कतैबाट सपना देखाउने मान्छेहरू आइपुगे र भने, ‘हामीसँग हिँड ! हामी माटो दिन्छौं।’ उनीहरू पछि लागे। अहिले विभिन्न मुलुकमा पुगेका छन्। त्यहाँ उनीहरूको आफ्नै नामको माटो छ तर भाषा छैन।

माटो हुने भाषा नहुने एक शरणार्थीको कथा हो यो। म यहाँ रूपनारायण पोख्रेलको कथा भन्छु, जो भर्खरै पुर्खाको पैतालाको माटो सुँघ्न नेपाल आइपुगेका थिए।

०००

१० वर्षपछि ! अगस्ट १०, २०१८ रूपनारायण अमेरिकाबाट नेपाल आइपुगे। सरासर पथरीशनिश्चरे शरणार्थी क्याम्प पुगे।

अहिले क्याम्पमा थोरै मानिस मात्र बाँकी छन्। कति छाप्राहरू सधैंका लागि उखेलिइसकेका छन्। त्यहाँ हरियो घाँस उम्रिएको छ— ठ्याक्कै जीवनमा आशा छ भनेर देखाउन सुहाउने सुन्दर विम्बजस्तो !

संयोग, जुन छाप्रामा उनले अठार वर्ष बिताएका थिए। ‘जीवन दुक्खै दुक्खको विम्ब हो !’ भनी ठानेका थिए। त्यो, छाप्रो जस्ताको त्यस्तै थियो। कुनै क्याम्पबाट बसाइँ सरेर आएको एक परिवार छाप्रो रुँगेर बसिरहेको थियो। मानौं दुक्खको पहरेदारी गरिरहेको छ। मानौं, एउटा जीवन्त दुक्खलाई रुँग्नु त्यो परिवारको कर्म हो।

रूप भावुक भए।

छाप्रो सुन्दर बनाउन रूपकी आमाले आँगनमा फूलको बोट रोपेकी थिइन्। रूप पुग्दा फुलिरहेको थियो। उनले पनि दुईवटा सुपारीका बोट रोपेका थिए। दाना लाग्न थालेछ। उनले सुपारीको बोट छोए। आकाशतिर हेरे। मुस्कुराए। ‘मैले रोपेको बिरुवामा फल लागेछ’, लामो श्वास ताने। आनन्द लिए।

आमाले रोपेको फूलको बोटको फोटो खिचे। फूल सुम्सुम्याए। त्यस घरम बस्ने परिवारलाई भन्न चाहन्थे, ‘म पनि यही छाप्रामा अठार वर्ष बाँचेँ ! तर हिम्मत हारिनँ। एक दिन जीवनको पासा पल्टिन्छ। आशा गर्नुस्।’ तर उनले भन्न सकेनन्।

किन सकेनन् ?

रूपसँग उत्तर छैन।

तिर्खा लागेको थिएन तर उनले पानी मागे। पानी पिउने बहानामा छाप्रोभित्र छिरे। कोठा थपिएका रहेछन्। खाटका खुट्टीहरू फेरिएका रहेछन्। चुलोमा कोइला होइन, ग्यास बल्न थालेछ। केही त फेरिएछ तर दुक्ख सलबलाइरहने भित्ता र छानाहरू उस्तै रहेछन्।

उनले छाप्रोको फोटो खिचे, जहाँ उनकी छोरी जन्मिएकी थिइन्। फोटो छोरीलाई देखाउनु छ। भन्नु छ— छोरी तिमीलाई जन्मजात शरणार्थी बनाउने छाप्रो यही हो।

उनकी छोरी चार महिनाकी थिइन्।

मध्यराति बस्तीमा कोलाहल मच्चियो। छोरी चिच्याएर रुन थालिन्। रूप आत्तिन थाले। रूपभन्दा धेरै उनकी श्रीमती डराइन्। ठूलो हुरी–बतासले छाप्राका छाना उडाउन थाले। असिनापानी पर्‍यो। छोरी कसरी बचाउने !

आपत्मा विकल्पहरूको सिर्जना हुन्छ। बाघसँग आमुन्नेसामुन्ने हुँदासमेत मान्छे बाँच्ने जुक्ति खोज्न थाल्छ। रूपले जमिनमा चार पाउ टेके। छोरीलाई छातीमा टाँसे। हुरीबतास र असिनापानीसँग जुधे।

रूपलाइ लाग्यो, ‘म दोषी हुँ। मलाई अन्याय अत्याचार भयो। सहन सकिनँ। म शरणार्थी भएँ। तर, छोरीलाई जन्मँदै शरणार्थी मैलै बनाएँ।’

छोरीको के दोष थियो र जन्मँदै शरणार्थी भई ?

हुरी थामियो। असिनापानी रोकियो। आकाश सङ्लिएर कञ्चन नीलो भयो। घाम लाग्यो। उडेका छानाहरू फेरि जोडिए। प्रकृति जीवनतिर फर्कियो। तर, रूपको मनमा उठेको प्रश्न थामिएन, ‘छोरीको के दोष थियो र जन्मँदै शरणार्थी भई ?’

उनले उत्तर भेटेनन्। तर आफूसँग प्रश्न गर्न छाडेनन्।

उनकी छोरी अहिले शरणार्थी हैनन्। अमेरिकी नागरिक हुन्। छोरीले शरणार्थी जीवनबाट मुक्ति पाइन् तर भाषा पाइनन्। अहिले रूपलाई भाषाको पीर छ। उनलाइ लाग्छ, ‘माटो पायौं। भाषाले शरणार्थी भयौैं।’

उनले बस्तीको माटो छोए। ढुंगा छोए। प्रेमले उनको आँत रसायो। उनका बाबुले नेपाल छाड्नुभन्दा दुई वर्षअघि बरपीपल रोपेका थिए। बाबुले रोपेको बरपीपलको छेउमा उनले काभ्रो रोपेका थिए। अहिले ती बिरुवाहरू जवान भए। वर्षौं बाँच्ने बरपीपल र काब्रो चिनो भइगयो अब। त्यही चिनोले पनि रूपलाई बेलाबेला नेपाल तानिरहला।

०००

सन् १९९० भन्दाअघि भुटानका स्कुलमा नेपाली भाषा पढाइ हुन्थ्यो। कुनै समस्या थिएन। सबैभन्दा धेरै बोलिने भाषा नेपाली थियो। तर, अचानक दक्षिण भुटानको चिरान जिल्लाका स्कुलहरूमा नेपाली भाषाका किताबहरू जल्न थाले। नानीहरूको हातबाट किताब खोसिन थाल्यो।

रूपनारायण सानै थिए। चार पाँच कक्षामा पढ्थे। उनलाई लाग्यो— अब एउटा विषय कम पढ्नुपर्ने भयो। होमवर्क घट्यो। खेल्ने समय बढ्यो। दुक्ख हैन खुसी लाग्यो।

रेडियो टीभीको जुग सुरु भइसकेको थिएन। राजाको नीति फेरियो भन्ने थाहा पाएनन्। दमन के हो ? शोषण के हो ? अन्याय के हो ? अत्याचार के हो ? बालमगजले भेउ पाउने कुरै भएन।

सन् १९९२ अप्रिल महिना, खेतबारीमा हरियो फर्किंदै थियो। बारीमा मकै कलकलाउँदो थियो। सिंगै बस्ती बौलाहा बन्यो। मानिसले आफ्ना गोठका चौपाया खोलेर मकैबारीमा हुले।

किन ?

चौपाया भोकभोकै किलामै नमरून् भनेर।

मूल दैलो खुल्लै राखेर भटाभट बस्तीका मानिसहरूले बस्ती छाडे। अलिअलि भएको रुपैयाँ पैसा जमिनमा गाडे। एउटा आशाको सानो त्यान्द्रो मुटुमा राखे, ‘यो आतंक केही दिनलाई हो। साम्य हुन्छ। एकदुई महिनापछि फर्केर आउन पाइन्छ।’

तर त्यो आशाको त्यान्द्रो...।

बा–आमा र बस्तीका मानिसले किन घर छाडे ?

रूपलाई थाहा भएन।

जति थाहा थियो, उनका बाबुलाई थाहा थियो। दाजुहरूलाई थाहा थियो। दिदी र आफन्तलाई थाहा थियो। उनलाई त यति मात्र थाहा थियो— हामी नेपाल जाँदै छौं ! जहाँ उनले लाउरेको रेडियोमा सुनेको सबैभन्दा अग्लो हिमाल छ ! जहाँ पाइलैपिच्छे मन्दिर भेटिन्छ।

उनका जेठा र साइँला दाजुले विश्वविद्यालयको पढाइ सकिसकेका थिए। जेठा सरकारी जागिरे र साइँला नेसनल सर्भिसमा थिए। दुवै घरमा थिएनन्। अर्कै जिल्लामा बस्थे। देशमा जे भइरहेको छ उनका दाजुहरूलाई थाहा थियो तर आफ्नो परिवारमा र गाउँमा के भइरहेको छ ? थाहा थिएन। उबेला टेलिफोनको जुग सस्तो थिएन। चिठीको भर थियो तर चिठी आउन–जान पुग्ने समय थिएन।

दुई दाजुहरू उतै छुटे। बाँकी चार दाजुभाइ, चार दिदीबैनी र बाआमा ट्रकमा कोचिएर नेपाल पसे।

उनको परिवार पथरी शनिश्चरे शरणार्थी क्याम्पमा आइपुग्यो। रूपले देखे उदास संसार ! उनले थाहा पाए, घर नहुनुको पीडा। उनले चाल पाए, भोकको दुक्ख ! पहिलो रात उनका दाजुहरूले चारवटा बाँसका खुट्टी गाढे। त्रिपाल टाँगे। भने, ‘हाम्रो घर यही हो। अब यहीँ बस्नुपर्छ !’

शरणार्थी क्याम्प, दुःखी अनुहारले भरिएको बजार थियो। जता हेरे पनि उस्तै उदास। उस्तै निराशा। नेपाली लोकलहरू, अघाएको अनुहार लिएर भोको अनुहारको रमिता हेर्न आउँथे।

शरणार्थीहरूचाहिँ पोकापन्तुरा खोल्थे ! आफूसँग जे छ त्यही बाँडेर खान्थे। उनीहरूसँग ‘भोलि’ भन्ने थिएन। आज जे छ त्यही दुनियाँ हो, जीवन हो, भोलि मरिन्छ, बाँचिन्छ ठिक ठेगान थिएन।

दिनहरू बित्न थाले। हप्ता र महिनाहरू बिते। दुक्ख पनि बानी भयो। अभाव पनि बानी भयो। जिन्दगी नयाँ बानीमा बानी पर्न थाल्यो।

भुटानबाट आएका शिक्षकहरूले स्कुल खोले। केटाकेटी पढाउन थाले। त्यही स्कुलमा रूपले पनि पढ्न थाले। स्कुलको पढाइ सके। त्यसपछि नेपालका स्कुलहरूमा उनी मास्टर भए। पढाउन थाले। आफू पनि पढ्न थाले। विश्वविद्यालयको पढाइ सके। ‘जीवन केही होइन एउटा गुजारा हो’ भन्ने लाग्न थाल्यो। माटो र देश नुहुको पीडा बानी बन्यो। जिन्दगी जसरी पनि चल्दो रहेछ। चलेकै थियो।

तेस्रो देश पुनर्बासको अवसर आयो। उनको परिवार अमेरिका पुग्यो। पहिलोपल्ट नागरिक बन्यो। नेपालीभाषी अमेरिकी नागरिक।

०००

(अब रूपको यो कथाले सुक्खा र उदास अमेरिकी हिउँद झेलेर वसन्त याममा फुल्ने सेतो चेरीको फूलजस्तो भौतिक रूप लिनेछ। तर, यो कथा यहाँ लेखिनेछैन। उनका दाजु र बाबु कथामा बाँकी छन्।)

रूपको परिवार अमेरिका पुग्यो।

उता भुटानमा छुटेका दुई दाजुहरू सधैंभरिका लागि छुटे। नेपालमा झन्डै दुई दशक रहँदा उनका भुटानी दाजुहरूसँग कहिल्यै भेट भएन। कमजोर सञ्चारले छिनछिनको खबर ल्याउन सक्दैनथ्यो। मरे वा बाँचेको खबर मात्र धिमा गतिमा ल्याउँथ्यो–लान्थ्यो।

अमेरिका पुगेपछि भर्जुअल दुनियाँ फराकिलो भयो। छिनछिनको खबर आउने–जाने भयो। रूपका दुई दाइले छुटेका आफ्ना बाबुसँग भर्चुअल बात मार्न पाए। हालखबर सञ्चार भइरह्यो।

यसैबीच उनका साइँला दाजु जीवनबाट बिदा भए।

­­­­­­­­­­­­­­­­­­

उनका बाबुको इच्छा थियो, ‘चौरासी वर्ष बाँचेँ भने चौरासी पूजा गरिदिनु !’ मृत्युको छेउछाउ पुगेका मानिसको इच्छा, जीवन सुन्दर होस् भन्ने नहुँदो रहेछ। मृत्यु सुन्दर होस् भन्ने हुँदो रहेछ। चौरासी वर्ष पारि तरेपछि मान्छेको रहर र सपना शून्य हुँदै जाँदो रहेछ। इच्छाहरू खुम्चिएर एकाध इच्छाहरू मात्र बाँकी रहँदा रहेछन्।

बाको इच्छा पूरा गर्न रूपले बसाइँ सर्नु पर्‍यो— क्यालिफोर्नियाबाट पेन्सिलभेनिया राज्यको पिटस्बर्ग सहरमा, जहाँ नेपालीभाषीको बाक्लो बस्ती थियो। रूपले बाबुको इच्छाअनुसार धूमधामले चौरासी पूजा गरे। बाबु खुसी भए। अब उनका बाबुसँग एउटै मात्र इच्छा बाँकी रह्यो— मरेपछि मेरो खरानी (अस्तु) लगेर कोकाहा नदीमा सेलाइदिनू !’ (कोकोहा नदी बराह क्षेत्र सुनसरीमा पर्छ। यस नदीलाई हिन्दूहरूको पवित्र स्थल मानिन्छ।) मरेपछि पनि मान्छेले आफ्नो पुर्खाको माटो र वासना खोज्दोे रहेछ।

रूपका बाबु सन् १९२८ मा भुटानमा जन्मिए पनि उनका पुर्खा नेपालका रैथाने थिए। उनका पुर्खा यहीँको नदीनालाको पानी खाएर भुटान गएका थिए। यहीँको बतास छोएर गएका थिए। यहीँको हरियो बाँचेर गएका थिए। बाबु चाहन्थे, ‘मेरो खरानी त्यहीँको पानीमा बगोस्। त्यहीँको बतासमा उडोस्। त्यहीको माटोमा पुगोस्; जहाँ मेरा पुर्खाको सालनाल गाडिएको छ।’

उनका बाबुको आयु छोटिँदै थियो। डाक्टरले आयु नौ महिना तोकिदियो। रोग– ब्लड क्यान्सर भनिदियो। रोगीले आफूलाई कुन रोग लागेको छ ? रोगको असर के हुन्छ ? आफ्नो आयु कति लामो छ ? थाहा पाउने अधिकार राख्छ। डाक्टरले रोगीको भाषामा रोग बुझाउनुपर्छ। संयोग रूपका बाबुलाई रोग बुझाउने जिम्मा रूपले नै पाए। डाक्टरलाई भने, ‘मेरा बाबुलाई मेरै भाषामा कुरा बुझाउन सक्छु। मै बुझाउँछु।’

के रोग लागेको छ ?

‘सामान्य हो। केही हुँदैन। अझै थुप्रै बाँच्नुहुन्छ बा !’ रूपले बालाई ढाडस दिए। तर, बाको आयुको काउन्टडाउन सुरु भयो। डाक्टरले भनेको भन्दा थप आयु बाँचे।

बाको मृत्यु भयो। रूपको फुर्सद भएन। पाँच वर्ष बाको खरानी घरमै राखे।

अगस्ट १०, २०१८। उनी नेपाल आए बाको खरानी बोकेर। उनी मात्र आएनन्, भुटानबाट उनका जेठा दाजु पनि आए। सन् १९९२ मा छुटेका दाजुभाइको भेट २६ वर्षपछि भयो। रूपलाई लाग्छ, ‘दाजुभाइको भेट मृत बाबुको आत्माले गराइदिएको हो।’ उनी बाबुको अस्तु अलिगेनी रिभर वा मिसिसिपी वा कुनै नहरमा बगाउन सक्थे। वा अस्तु नै नराख्न सक्थे। तर, त्यसो गरेनन्। किनकि उनी पितृभक्त हुन्। ‘हामी माटो र भाषाबाट शरणार्थी भएका मानिस हौं। जहाँ पुगे पनि परम्परा र संस्कृतिबाट शरणार्थी हुनु हुँदैन’, उनी भन्छन्। लामो सास तान्छन्।

उनीहरूले बाको अस्तु कोका नदीमा सेलाए। दाजुभाइको यो भेट शब्दमा लेख्न सकिँदैन। अनुभूत मात्र गर्न सकिन्छ। भाषामा भन्न सकिँदैन। आँखाले हेर्न मात्र सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.