नानीबाबुसँग झलनाथ खनालका मनका कुरा
संसारमा धेरै थरीका प्राणी बसोबास गर्छन्। त्यसमध्ये हामी मानव जाति अन्य प्राणीभन्दा फरक छौं। हामीसँग सोच्न सक्ने, विगत, वर्तमान र भविष्यलाई विचार गरेर अघि बढ्न सक्ने सामथ्र्य र चेतना पनि छ। संसारका अन्य प्राणीमा यो गुण हुँदैन। त्यसकारण हाम्रो जीवन महत्वपूर्ण छ। अन्य प्राणीजस्तै हामी पनि जन्मन्छौं, हुर्कन्छौं अनि आफ्ना कर्म क्षेत्रमा लाग्छौं। जन्म भएपछि मृत्यु पनि निश्चित छ।
मेरो जन्म वि.सं. २००६ सालमा साँखेजुङस्थित पण्डित गाउँमा भएको हो। मेरो बुवा पण्डित, हजुरबुवा पण्डित, हजुरबुवाको बुवा पण्डित, हजुरबुवाको हजुरबुवा पण्डित। यसरी पण्डितै पण्डित भएको परिवारमा मेरो जन्म भएको हो।
म जन्मिँदा हजुरबुवा धुलौटामा मेरा ग्रहदशा कोरिरहनुभएको थियो रे। त्यतिबेला ‘आज नाति जन्मिन्छ’ भनेर उहाँले ठोकुवाका साथ भन्नुभएको थियो रे। गाउँलेहरू छोरो जन्मिन्छ कि छोरी भनेर जिज्ञासापूर्वक हेरिरहेका थिए। मलाई आमाले भण्डारमा जन्माएपछि म रोएको आवाज आँगनका पल्ला छेउसम्म पुगेको थियो रे। गाउँलेहरू सबैले कान ठाडाठाडा पारेका थिए भन्ने मैले सुनेको। ढोकाबाट निस्किएर कसैले ठूलो स्वरमा ‘छोरो जन्मियो’ भन्ने जानकारी गराएका थिए रे। हजुरबुवाले खुसी हुँदै ‘बल्ल मेरो मन्त्री हुने नाति जन्मियो’ भन्नुभएको थियो रे। ज्योतिष शास्त्रले कसरी यस्ता कुरा किटान गरेर भन्न सक्छ, मलाई पनि थाहा छैन। ज्योतिष पनि विज्ञानको एउटा महत्वपूर्ण अंग हो। यसबारे हामीले गहिरिएर अध्ययन गर्न सकेका छैनौं। यो पनि अध्ययन, विश्लेषण र संश्लेषणको एउटा महत्वपूर्ण विषय हो।
हाम्रो गाउँमा २००४ सालमा अंग्रेजी पढाउने स्कुल खुलेको थियो। त्यतिबेला गाउँलेमा अंग्रेजी पढ्नुपर्छ भन्ने चेतनाको विकास भएको थिएन। मैले हजुरबुवासँग धुलौटोमा कखरा सिकेँ। कापी, कलम र किताब पाइँदैनथ्यो। मैले दुर्गाकवच हुँदै चण्डी छिचोलेँ। त्यसबेला पढ्नु भनेकै कण्ठस्थ पार्नु थियो। चण्डी पछि रुद्रीको पालो रहेछ। तर मेरो व्रतबन्ध नभइसकेकाले रुद्री र चण्डी पढ्नबाट मलाई रोकियो। दाजुहरूले घोकेको सुनेकै भरमा म पनि रुद्री र वेदका श्लोक सुनाउन थालेँ। यो सबैका लागि अनौठो घटना भयो। त्यसबेला व्रतबन्ध नगरी वेद पढ्दा पागल भइन्छ भन्ने हल्ला पनि गर्थे।
मेरो पढाइलाई कसरी अघि बढाउने भन्ने बारेमा हजुरबाले परिवारमा छलफल गर्नुभएछ। परिवारमा कसैले अंग्रेजी नपढेको भए पनि मेरो पढाइ अघि बढाउनकै लागि अंग्रेजी पढाउने सल्लाह भएछ। त्यसपछि साहिँला दाजु र मलाई साँखेजुङ मिडिल स्कुलको कक्षा १ मा भर्ना गरियो। मलाई सबैले माया र उत्प्रेरणा दिइरहन्थे। उक्त विद्यालयमा कक्षा ६ सम्म पढुञ्जेल म प्रथम भइरहेँ। हामीलाई पढाइका अतिरिक्त व्यावहारिक ज्ञान पनि सिकाइन्थ्यो। कक्षा ४ मा पढ्दा मैले बनाएको बगैंचा उत्कृष्ट भएको थियो। मैले बगैंचामा रंगीचंगी फूल फूलाएको थिएँ।
हामी घरबाट झन्डै ४५ मिनेट पैदल हिँडेर स्कुल जान्थ्यौं। बाटामा टुक्सेनी चौर, सौरेचौर, बिलाउने खोला, चिहान डाँडो, भोटेगाउँ पार गरेर जान्थ्यौं। बाटामा इलामका पहिलो माननीय कृष्णप्रसाद भट्टराई र इलामका पहिलो कम्युनिस्ट नेता ज्ञानीराम भट्टराईको घरसमेत पथ्र्यो। ज्ञानीराम भट्टराई मलाई उहाँको घरमा बोलाइरहनुहुन्थ्यो। उहाँका घरमा दाह्री पालेका मानिसको फोटैफोटा झुन्ड्याइएको हुन्थ्यो। उहाँले नै मलाई फोटामा भएका मानिस माक्स, एङ्गल्स, रवीन्द्रनाथ टैगोर भएको कुरा बताउनुभयो। उहाँ हाम्रो स्कुल सञ्चालक समितिको सदस्यसमेत हुनुहुन्थ्यो। हाम्रो कक्षामा समेत बेलाबेलामा आउनुहुन्थ्यो। उहाँले ‘फस्ट ब्वाई को हो ? ’ भन्दै सोध्नुभयो। मैले हात उठाएपछि पार्कर कलम दिनुभयो। हामी प्लाटु कलमले लेख्थ्यौं। त्यतिबेला पार्कर कलम निकै नामी मानिन्थ्यो।
म जन्मिँदा हजुरबुवा धुलौटामा मेरा ग्रहदशा कोरिरहनुभएको थियो रे। त्यतिबेला उहाँले ‘आज नाति जन्मिन्छ’ भनेर ठोकुवाका साथ भन्नुभएको थियो रे।
मेरा साथीहरू बाहुन क्षेत्री कमै थिए। तामाङ, राई, लिम्बु समुदायका साथीहरू अधिकांशले केश काटेका थिए। कक्षा ३ मा पढ्दा मैले पनि तामाङ गाउँमा गएर कपाल कटाएँ। बुवाले मलाई दुई-चार झापड हानेर पूरै कपाल मुण्डन गरिदिनुभयो र टुपी पनि राखिदिनुभयो।
हामी गाउँकै पुछार भएर बग्ने पुवाखोलामा वनभोज गएका थियौं। नारायण सरले पुवाखोलामा ब्लास्टिङ गरेपछि माछा पानी माथि तैरिन थाले। हामी पानीमा पसेर बालुवामा माछा फाल्यौं। त्यसदिन मैले पनि माछा चाखेँ। तर मलाई गन्हायो। आमा मासु खाने भएकाले हाम्रो घरमा मासु खानै हुँदैन भन्ने थिएन।
मेरो माध्यमिक तहको पढाइ इलाम सदरमुकामस्थित आदर्श माविमा भयो। त्यहाँ इलामका गाउँगाउँबाट विद्यार्थी पढ्न आउँथे। म कक्षा १० सम्म दोस्रो भएँ। कक्षा ७ देखि नियमित जस्तै कविता लेख्थेँ। साप्ताहिक र पाक्षिक गोष्ठीहरूमा सुनाउथेँ। म नाटक पनि खेल्थेँ तर खेलकुदमा भने लागिनँ।
२०१७ सालमा सन्तवीर लामा बडाहाकिम भएर इलाम आउँदा ४८ वटा गाडीहरू लिएर तामझामका साथ आएका थिए। म पनि त्यसदिन इलाम गएको थिएँ। इलामको पटांगिनीस्थित माल अड्डाको बरण्डामा धेरै मानिस चढेर रमिता हेरिरहेका थिए। अचानक बरण्डा लडेपछि धेरै मानिस घाइते भएका थिए। मैले २०२३ सालमा इलामदेखि चिसापानीको बाटो झापाको शनिश्चरे जाँदा पहिलो पटक गाडी चढ्ने मौका पाएको थिएँ। त्यतिबेला मलाई रोमाञ्चकारी अनुभव भएको थियो। हिँडेर आठ घन्टा लाग्ने बाटो दुई घन्टामा पुगिएको थियो।
म २०२३ सालमा नै आईएस्सी पढ्न काठमाडौं आएको थिएँ। विराटनगरबाट जहाजमा काठमाडौं आउँदा एक सय ५० भाडा लागेको थियो। जहाडमा चढ्दा खसिन्छ कि भन्ने भइरह्यो। एयरपोर्टमा ओर्लिएपछि गाडीले हामीलाई नयाँ सडकको गेट नजिकै ओरालिदियो। त्यसबेलासम्म मैले पाइन्ट लगाएको थिइनँ। पाइजामा र कमिज खोलेर पाइन्ट लगाएँ। त्यसपछि हामी कलाकार रत्नदास प्रकाशको घरमा गयौं।
हामी अमृत साइन्स कलेजमा भर्ना हुने मनसायले काठमाडौं आएका थियौं। तर त्यहाँ मात्र होइन त्रिचन्द्र कलेजमा समेत भरिभराउ भइसकेको रहेछ। साइन्स पढ्न चाहने तर भर्ना नपाएका विद्यार्थीको संख्या धेरै भएको बुझेपछि हामीले आन्दोलनको तयारी ग¥यौं। सिट संख्या बढाउन दबाब दिने सल्लाह भयो। हामी त्रिचन्द्र कलेजमा भेला भयौं। म त्यसैबेला विद्यार्थीको नेता भइहालेँ। हामी प्रिन्सिपल फणीन्द्र लोहनीकोमा गयौं र आफ्ना कुरा राख्यौं। उहाँले ‘म तपाईंहरूको पढ्ने चाहनाको समर्थन गर्छु। यसबारेमा श्री ५ को सरकारसँग माग गर्छु। तपाईंहरू प्रतिस्पर्धाका आधारमा भर्ना हुन पाउनुहुन्छ’ भन्नुभयो। नभन्दै पछि सिट बढेर आयो। हामी भर्ना भयौं। म त्यतिबेलै सानोतिनो नेता भइहालेँ र आजको अवस्थासम्म आइपुगेँ।
भाइबहिनीले पाठ्यक्रम र पाठ्यपुस्तकलाई मेहनतका साथ अध्ययन गर्नुपर्छ। कक्षाकोठामा मात्रै होइन अरूबेला पनि लगनशील र अनुशासित बन्नुपर्छ। गुरुले पढाउँदा ध्यानपूर्वक सुन्ने र लेख्ने गर्नुपर्छ। पाठ्यपुस्तक मात्र पढेर धेरै कुरा सिकिँदैन। यसका लागि कोर्सभन्दा बाहिरका किताब समेत पढ्ने बानी गर्नुपर्छ। भाका हालेर सिलोक पढ्ने बानी गर्नुपर्छ। यसले हाम्रो भाषा र स्वर तिखार्छ। सधैं रचनात्मक र सिर्जनात्मक काममा भाग लिनुपर्छ। आफ्नो विषयमा अब्बल बन्न प्रयास गर्नुपर्छ। समाज र राष्ट्रका लागि कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा सधैं चिन्तनशील बन्नुपर्छ।
(पूर्वप्रधानमन्त्री खनालसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)