रमाउँदै बाल फुटबलर

रमाउँदै बाल फुटबलर

नेपालगन्ज : नेपालगन्जमा १२ वर्षीय आर्यान भट्टराईको सपना भविष्यमा सिभिल इन्जिनियर बन्नेछ । पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेको बताउने उनी आपूmलाई स्ट्राइगर भन्न रुचाउँछन् । भन्छन्, ‘इन्जिनियर बन्न पनि फिजिकल फिटनेट त चाहिन्छ । त्यसका लागि फुटबल खेल्छु ।’ उनका फुटबल आइडल लयोनल मेसी र नेमार हुन् ।

नेपालगन्ज मोडेल एकेडेमीमा कक्षा ७ का विद्यार्थी अनुप सापकोटा पनि मेसीका फ्यान हुन् । ‘मेसीको खेल टेलिभिजनमा लाइभ हेर्न छुटाउँदिनँ । युट्युबमा पनि हेर्ने गरेको छु’, उनले भने, ‘मेसीको जस्तै फुटबलमा गोल हान्ने र पास दिने स्किल सिक्न चाहन्छु ।’ आठ वर्षका अभिषेक बोहोरा त किपर बन्न चाहन्छन् तर उनी नि मेसी कै फ्यान हुन् । कक्षा २ का विद्यार्थी बोहोराको फुटबलमा लगाव ठूलो छ । उनी गोल पोस्टमा बस्दा पनि मैदानको केन्द्रसम्म पुगेर बल हान्न भ्याउँछन् ।

गत शनिबार बिहान साढे ७ बजे नेपालगन्जको धम्बोझी मिनी फुटबल मैदानमा पुग्दा मेसी र विश्वचर्चित अन्य फुटबलरको फ्यान बताउने भट्टराई, सापकोटा, बोहोराजस्ता थुप्रै बाल फुटबलरहरू फुटबल सिकिरहेका थिए । बाक्लो हुस्सु लागेको थियो । चिसोले कँपाएको थियो । तर पनि एकाधबाहेक सबै हाफ पाइन्टमै फुटबल खेलिरहेका थिए । अधिकांशले आआफ्नै क्लबको जर्सी लगाएका देखिन्थे । बिदाको दिन अबेरसम्म सुत्ने बानी छोड्दै फुटबल खेल्न पुगेका थिए । मैदानमा भेटिएका थिए, सबैभन्दा कान्छा प्रशिक्षार्थी आठ वर्षका संवेग गैरे । भविष्यमा वैज्ञानिक बन्ने सपना सँगालेका गैरे अघिल्लो दिन मात्र किनेको नयाँ जर्सीमा र जुत्तामा वल्लो किनारदेखि पल्लो किनार छिचोल्दै रमाइरहेका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) बाँकेले नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा मिनी फुटबल एकेडेमी तयार गरेर बालबालिका रमाउने अवसर जुराएको छ । विशालचोकस्थित रामजानकी गोकुलेश्वर महादेव मन्दिरको २३ कट्ठा जग्गामा मिनी फुटबल मैदान निर्माण गरी फिफा ग्रासरुट फुटबल कार्यक्रमअन्तर्गत १० असोजदेखि एन्फाले बालबालिकालाई हप्ताको दुई दिन प्रशिक्षण दिइरहेको छ ।

ग्रासरुट फुटबल कार्यक्रमबाट पाएको पाँच लाख र थप त्यत्ति नै रकमको जोहो गरी एन्फाले झन्डै १० लाख खर्च गरेर मैदान तयार गरेको हो । उसले पाँच वर्षसम्म नियमित रूपमा बालखेलाडीलाई प्रशिक्षण दिने जनाएको छ । फुटबल प्रशिक्षण गराइरहेका छन्, रवीन्द्र श्रेष्ठले । श्रेष्ठ एन्फा बाँकेका महासचिव पनि हुन । उनी अहिले नियमित रूपमा ४० जनाको हाराहारीमा बालबालिका फुटबल सिक्न आइरहेको बताउँछन् । ‘फुटबल सिक्ने चाहना धेरैमा छ । उनीहरूले चाँडै सिकेको कुरा आत्मसात् पनि गरेका छन् । भविष्यमा राम्रो खेलाडी बन्ने लक्षण धेरैमा छ’, श्रेष्ठले प्रशिक्षणको अनुभव सुनाए, ‘यति सानो उमेरमा पनि उनीहरूको टिमवर्क लाभलाग्दो छ । हामीले खेल्ने पूर्ण वातावरण दिएका हौं । कन्ट्रोलिङ र पासिङमा क्रमशः सुधार आइरहेको छ । सिक्न त अझैं समय लाग्छ ।’

एकेडेमीमा सात वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई प्रशिक्षण दिइन्छ । विगतमा बिहान गरिने प्रशिक्षण मंसिरदेखि साँझ राखिएको हो । प्रशिक्षणका लागि १० जना स्वयम्सेवी प्रशिक्षक तयार छन् । बालबालिकाको संख्या वृद्धि भएमा सातै दिन प्रशिक्षण दिन सकिने एन्फा बाँके अध्यक्ष भोजराज शाही बताउँछन् ।

‘यो खेलाडी उत्पादन गर्ने फ्याक्ट्री हो । अब हजारौं खेलाडी उत्पादन हुन्छन्’, शाहीले भने, ‘यसको प्रभावकारिता हेरी जिल्लाका अन्य पाँचवटा ठाउँमा पनि यस्तै खेल मैदान निर्माण गरी प्रशिक्षण दिने हाम्रो लक्ष्य छ ।’ उनले खेलका माध्यमबाट बालबालिकामा नैतिक शिक्षा सिकाउने र कुलतमा जानबाट रोक्ने पनि दाबी गरे ।

फुटबल प्रशिक्षणका लागि नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं. १ ले पनि सघाएको छ । मैदान भाडामा लिँदा वार्षिक रूपमा लाग्ने सम्पूर्ण भाडा वडाले नै बेहोर्ने भएको छ । यू-१६ फुटबलका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका वडाध्यक्ष प्रमोद रिजाल भन्छन्, ‘बालबालिका तहबाटै फुटबल खेलाडी उत्पादन गर्ने सोचका साथ सुरु भएको अभियानमा हामीले साथ दिएका हौं । हामी सक्दो सहयोग गछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.