आमाभन्दा छोराछोरीको नागरिकता पहिले
![आमाभन्दा छोराछोरीको नागरिकता पहिले](https://annapurnapost.prixacdn.net/media/albums/Tarjee-in-wait_20181124010513_Sh5qEU3RrS.jpg)
ललितपुर : कान्जोस्योम गाउँपालिकाको कार्यालयमा मानिसको चहलपहल बढ्दै छ। गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय, ललितपुरले नागरिकता शिविर सञ्चालन गरेको छ। त्यही शिविरमा नागरिकता बनाउन आएकी छन्— ६२ वर्षीया तार्जीमाया तामाङ। तर तामाङले यो उमेरमा नागरिकता बनाउन आए पनि उनका छोराहरूले भने यसअघि नै लिइसकेका छन्।
तामाङले बिहीबार कान्छी छोरी शान्तिसँगै नागरिकता लिएको कोन्जोस्योम गाउँपालिकाका–५ नम्बर वडाध्यक्ष तथा प्रवक्ता सुवीन्द्र तामाङले जानकारी दिए। ‘१३ जना छोराछोरी पाएँ, चार जना मरे’, ६२ बर्से तामाङले भनिन्। नेपाली भाषामा राम्ररी कुरा गर्न नजान्ने उनले नागरिकता नबन्नुको दोष भने श्रीमान्लाई दिइन्। श्रीमान्ले नै बनाउन नदिएका कारण आफूले यो उमेरसम्म नागरिकता नपाएको उनको गुनासो छ। उनका श्रीमान्को ७ महिनाअघि मृत्यु भएको छ।
जिल्ला सदरमुकामबाट ३० किलोमिटर दूरीमा रहेको कोन्जोस्योम गाउँपालिकाका मानिसले नागरिकता बनाउनु सगरमाथा चढे जस्तै कठिन ठान्ने गरेको गाउँपालिका अध्यक्ष तामाङले बताए। भौगोलिक विकटता, चेतनाको अभाव, आर्थिक समस्यालगायत कारणले यहाँका जनताले नागरिकता बनाउन नचाहेको उनको भनाइ छ। ‘नागरिकता नभए पनि जिन्दगी चलेकै छ भन्छन्’, उनले भने। नागरिकता नहुँदा तामाङले एकल महिला भएर पनि सरकारले दिने भत्ता पाउन सकेकी थिइनन्।
६२ वर्षीया तार्जीमाया तामाङले बिहीबार कान्छी छोरी शान्तिसँगै नागरिकता लिइन्।
तामाङ मात्र होइन, नागरिकता नभएर सरकारी सुविधाबाट वञ्चित उनी जस्ता थुप्रै महिला छन्। कोन्जोस्योम गाउँपालिकाकै अम्बिका थोकरले पनि ४६ वर्षमा उमेरमा नागरिकता लिइन्। उनी भूकम्पपीडित पनि हुन्। तर नागरिकता नभएकै कारण आफूले पाउने पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान रकम पनि लिन सकेकी छैनन्। थोकरका छोराहरूले पनि आमाले भन्दा पहिला नै नागरिकता लिइसकेका छन्। तर शिविरमा भने बिहीबारसम्म ९३ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख प्रेमराज जोशीले जानकारी दिए। भारदेउकी ६९ वर्षीया संगीता खत्रीले पनि नागरिकता लिएको उनको भनाइ छ।
जनतालाई सिंहदरबारको अधिकार दिन चाहेको र चौबीसै घण्टा सेवामा खटिएको कोन्जोस्योम गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले बताए। शिविरबारे जनतालाई पहिल्यै सूचना जारी गर्दै सेवा लिन आउन अनुरोध गरिएको उनको भनाइ छ। शिविरमा मतदाता नामावली संकलन टोली, कृषि तथा पशु ज्ञान केन्द्र, आनन्द वन, पाटन अस्पतालका चिकित्सक, जिल्ला जनस्वास्थ्यका प्रतिनिधि, वन कार्यालयको टोलीलगायतले आफ्ना सेवा प्रवाह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)