कर्णालीमा नयाँ ‘विकास मोडेल’
सुर्खेत : कर्णालीको समृद्धिका लागि विकासको नयाँ मोडेल (खाका) बनाइने भएको छ। प्रदेश योजना आयोगले कर्णालीमैत्री योजना तर्जुमा र विकासका लागि प्र्रोफाइल तयार पार्ने निर्णय गरेको छ।
प्रदेश सरकारले हालै कर्णालीमा योजना आयोग गठन गरेको थियो। नवनियुक्त पदाधिकारीले आइतबार कर्णाली सुहाउँदो विकास योजना निर्माण गर्ने प्रतिबद्धता जनाए। कर्णालीको स्रोत–साधन र जनशक्ति परिचालन गर्दै यहाँको भूगोल सुहाउँदो योजना मात्र तर्जुमा गरिने आयोगले जनाएको छ।
कर्णालीको समृद्धि सम्भव रहेको भन्दै आयोगले कर्णालीमा विकासको नयाँ मोडेल बनाउने निर्णय गरेको हो। यसका लागि विगत र हालको अवस्था समेटेर मानचित्र बनाइनेछ। त्यसैका आधारमा विकासको नयाँ मोडेल लागू गरिने आयोगको भनाइ छ।
आयोगका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले काठमाडौंमा निर्माण भएका योजना कर्णालीमा कार्यान्वयन हुन नसकेको भन्दै अब कर्णालीमैत्री योजना निर्माण गरिने बताए।
आयोगले प्रदेशमा विकास बजेटको कार्यान्वयन र पूर्वाधार विकासका काममा भइरहेको सुस्ताताबारे पनि तीव्र अनुगमन गर्ने जनाएको छ। आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी, सदस्य डा. दीपेन्द्र रोकाय र योगेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार पद तथा गोपनीयतको शपथ खुवाएका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका निमित्त प्रमुख सचिव कलानिधि पौडेलले कर्मचारी अभाव, भौगोलिक विकटता, बजेट कार्यान्वयन हुन नसकेको र स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुन नसक्नु कर्णालीका मुख्य समस्या रहेको भन्दै सोहीअनुसार योजना बनाउनुपर्ने सुझाव दिए।
प्रतिक्रिया दिनुहोस !