लुसामा गाडी पुग्दा उल्लास
कालिकोट : शान्नित्रिवेणी गाउँपालिका–१ लुसामा गाडी पुगेको छ। वर्षौंदेखि गोला हाट गएर पिठ्युँमा भारी बोक्दै आएका लुसाका स्थानीयले गाउँमै गाडी पुगेपछि खुसियाली मनाएका छन्।
उनीहरूले भारी बोक्ने बाटोमा पहिलो पटक गाडी गुडेपछि पहिलो पटक गाउँमा आएका गाडी तथा अतिथिलाई फूलमाला र अबिर लगाएर स्वागत पनि गरेका छन्। लुसाका स्थानीय शिवलाल सुवेदीले वर्षौंदेखि आफूहरूको गाडी चढ्ने सपना पूरा भएको बताए। अनले भने, ‘अब गोला हाट हिँडेर जानुपर्ने समस्या अन्त्य भयो।’

सडक उद्घाटन गर्दै कालिकोट जिल्लाका प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावतले गाउँको विकासका लागि स्थानीय सरकारको सक्रियता खाँचो रहेको बताए। शान्नित्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले स्थानीय तहको निर्वाचनपछि आफूहरूले सडकलाई पहिलो प्राथमिकतामा दिएको बताउदै अबको तीन बर्षसम्म गाउँपालिकाका सबै वडाहरुमा गाडी गुडाउने प्रतिबद्धता जनाए।
उनले २ करोड ५० लाख बजेटमा रेगिल सेरिज्यूला हुँदै लुसा सम्मको सडकको ट्याग खोलिएको बताउदै सडक निर्माणका लागि नागरिकको सक्रियताले समयमै लुसामा गाडी पुगेको बताए।
प्रतिक्रिया दिनुहोस !