संस्मरणमा इतिहास हुन्छ

संस्मरणमा इतिहास हुन्छ

गंगाप्रसाद उप्रेती पुनः नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भएका छन्। राजनीतिक बन्दीका रूपमा लामो समय जेल जीवन बिताए उनले। नेपाली भाषा सिक्न उपयोगी पुस्तक ‘नेपाली भाषा शिक्षण’ उनको चर्चित किताब हो। निबन्ध, कविताका पनि किताब छन् उनका। कुलपति उप्रेतीसँग रामकला खड्काले उनको किताब–यात्रामाथि वार्ता गरेकी छन्:


हुर्कदै गर्दा किताब

मेरो बाल्यकाल तेह्रथुमको दुर्गम क्षेत्र आठराईमा बित्यो। त्यहाँ तुलनात्मक रूपमा शिक्षाको राम्रो व्यवस्था थियो। हाइस्कुलहरू थिए। शिक्षकहरू दार्जिलिङबाट आउँथे। अतिरिक्त क्रियाकलापमा पनि शिक्षकले प्रेरित गर्थे। त्यसैले पठनपाठनमा मात्रै हामी सीमित रहेनौं। विद्यालयमा रहेको पुस्तकालयमा रूपरेखा, मधुपर्क, रचना, साहित्य लगायतका पत्रिका नियमित पढ्न पाइन्थ्यो। कक्षा ६ र ७ मा हुँदादेखि नै पत्रपत्रिका पढ्न थालेँ। यसैबाट प्रेरित भएर लेख्न थालेँ।

मैले सानामा पढेको सबैभन्दा बृहत् पुस्तक ‘गोरा’ हो। रवीन्द्रनाथ टैगोरको यो उपन्यास मैले ७ कक्षामै पढिसकेको थिएँ। दार्जिलिङबाट प्रकाशन हुने पुस्तक पाएसम्म पढ्थेँ। बीपी, देवकोटा, लेखनाथ, गुरुप्रसाद मैनाली, पुष्करशमशेर, बालकृष्ण सम लगायतका कृति स्कुलमै छँदा पढिसकेको थिएँ।

एसएलसी दिनेबित्तिकै आफू पढेकै विद्यालयमा शिक्षक बनेँ। २०१७ सालमा हाम्रो गाउँमा कलेज खुल्यो। त्यहाँ पनि राम्रो पुस्तकालय थियो। डा. वल्लभमणि दाहाल त्यही कलेजमा पढाउनुहुन्थ्यो। मलाई लेखनमा प्रेरित गर्ने उहाँ नै हो। वामदेव पहाडी, भानुभक्त पोखरेल लगायतका व्यक्तिको सत्संगले पनि म लेखनमा लागेँ। कलेजमा पढ्दै गर्दा बजारमा रसियन र चिनियाँ साहित्य धेरै आए। म्याक्सिम गोर्कीको ‘आमा’ नेपालीमा अनुवाद पढ्दा धेरै राम्रो लाग्यो।

विश्वविद्यालयमा आएपछि काम नै पढ्ने पढाउने भयो। मेरो विषय नेपाली थियो। महत्वपूर्ण साहित्कारहरूका कृति एकसरो सबै पढियो। पहिले म सामाजिक अभियन्ता पनि थिएँ। जेलमा पनि बसेँ। जेलमा बस्दा अल्बर्ट कामुजको किताब पढेँ। अस्तित्ववादसम्बन्धी धेरै किताब पढ्ने मौका पाएँ।

कुरा २०२८ साल तिरको हो। बीपी कोइराला पनि जेल जीवनमै हुनुहुन्थ्यो। आफ्ना परम प्रिय भीमबहादुर तामाङमार्फत उहाँले पढ्नुहुँदो रहेछ। उनैमार्फत मैले पनि किताब पाउँथे। कृष्णप्रसाद भट्टराई पनि जेलमा हामीसँगै हुनुहुन्थ्यो। उहाँ साहित्यका साथै आध्यात्मिक चिन्तन पनि गर्नुहुन्थ्यो। कहिलेकाहीँ प्रवचन पनि दिनुहुन्थ्यो।

चिनियाँ किताबमा माओत्सेतुङका कृतिहरू निकै चर्चित थिए। त्यति बेला चिनियाँ क्रान्ति विश्वभरको रुचिको विषय थियो। कार्लटनको ‘कम्युनिस्ट कसरी बन्ने’ किताब पनि पढियो। त्यति बेला धेरै चिनियाँ कृति अंग्रेजीमा अनुवाद भएका थिए। निःशुल्कजस्तै बाँडिन्थ्यो। यस्ता प्रगतिशील साहित्यिक कृति खोजीखोजी पढिन्थ्यो।

लु सुनको ‘बहुलाको दिनचर्या’ मैले पढेमध्येका मन परेको कृति हो। उनका हरेक व्यंग्यात्मक निबन्ध कृतिहरू पनि त्यत्तिकै मन छुने छन्। गोर्कीको ‘आमा’ ज्यादै राम्रो कृति हो। पढाउने क्रममा समालोचना पनि निकै पढियो। रुचि त छँदै थियो, पेसाले पनि पढ्न बाध्य बनायो।

जोसँग जीवन मिल्छ

पात्र चयनमा लेखकले कौशल अपनाउनुपर्छ। एउटा पात्रमा अनेकौं पात्र आरोपित गरेर ल्याउँदा समाजको एउटा समूहकै चरित्र प्रस्तुत हुन्छ। इन्द्रबहादुर राईले ‘आज रमिता छ’ उपन्यासमा ‘एमके’लाई एकदमै विद्रोही भूमिकामा उभ्याएका छन्। परिवर्तनका खातिर लागिपर्ने र व्यक्तिगत हेरविचार नगर्ने हुन्छन् एमके। दार्जिलिङबाट आउने मेरा गुरु मदनकुमार थापा पनि त्यस्तै विद्रोही स्वभावका थिए। उहाँ इन्द्रबहादुर राईको साथी पनि हो। एमकेले यस्ता धेरै पात्रको चरित्रलाई विश्लेषण गरेको पाइन्छ।

पारिजातले ‘नैकापे सार्किनी’मा काँठमा आर्थिक अभाव भए पनि सधैं इमानदार तर शोषणमै परेकी एक पात्र उभ्याउनुभएको छ। ‘मुनामदन’को मुना र मदनलाई कसैले बिर्सन सक्दैन। ‘मुकुन्द इन्दिरा’को मुकुन्द र इन्दिरा, ‘सुलोचना’ महाकाव्यको सुलोचना आदिलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको छ। आफ्नो भूमिकामार्फत स्वाभिमान बोल्ने पात्रहरू प्रायः मलाई मन पर्छन्।

मनोविश्लेषण गरेर मानिसलाई चिनाउने काम बीपीले गर्नुभयो। उहाँका ‘तीन घुम्ती’, ‘सुम्निमा’ जस्ता कृतिका पात्रहरू पनि त्यत्तिकै सशक्त छन्।

मेरो जीवन धेरै टेढोमेढो भयो। पहाडमा गाईबस्तु हेर्दै गोठाला भएर पढेको हुँ। बिस्तारै मधेस झरेर काठमाडौं उक्लिएँ। संघर्षका धेरै कहानी छन्। संघर्षका कहानी बोकेका पात्रहरू मन पर्ने कारण पनि त्यही हो। जीवन भनेकै संघर्ष हो। संघर्षमा सधंै जितिन्न, हारिन्छ पनि। हारेर निराश भयो भने मानिस सकियो। त्यसलाई फेरि अर्को प्रकारले जित्नुपर्छ भन्ने आशाको भरमा बाँच्नुपर्छ। त्यसैले आशामा जीवन छ। आशा र सपना रहेन भने जीवन सकिन्छ। जीवनका उज्यालो र आशावादी पक्ष प्रस्तुत गरिएका पात्र मलाई मन पर्छन्। ती पात्रहरू आफूसँगै मिल्दाजुल्दा पनि लाग्छन्।

पहिले भाव बुझ्न र आनन्दका लागि पढिन्थ्यो। अहिले गम्भीर विषय गम्भीरतापूर्वक पढिन्छ। कृतिमा जीवन र परिस्थितिलाई कसरी प्रस्तुत गरिएको छ, लेखक कत्तिको गम्भीर छ, कति इमानदार छ भन्ने हेरिन्छ।

मेरो रुचिको विषय कूटनीति पनि हो। देशको सम्बन्ध कस्तो हुनुपर्ने, कस्तो भइरहेको छ, हाम्रो नियति के हो, समस्या के हो भनेर कूटनीति र राजनीतिसम्बन्धी किताब पढ्छु। विश्व सम्बन्ध र विकासका किताब पनि पढ्छु।

सबैभन्दा बढी संस्मरण पढ्छु। एउटा व्यक्तिको संस्मरणमा निजी कथामात्र हुँदैन। उसको पूरा जीवनलाई केन्द्रबिन्दुमा पारेर त्यसमा इतिहास आएको हुन्छ। जवाहरलाल नेहरूले इन्दिरालाई लेखेको चिठी हामीले एसएलसीमै पढेका थियौं। त्यस्ता पत्र साहित्य पनि बडो महत्वपूर्ण छन्। जीवन, जगत् र समाजको विकासका बारेमा चिन्तन गरिएर लेखिएको किताबमा पनि मेरो रुचि छ।

मेरै कार्यकालमा एकेडेमीबाट करिब डेढ सय किताब प्रकाशित भए। ती सबैको भूमिका म आफैंले लेखेँ। भूमिका लेख्न पनि ध्यान दिएर पढ्नै पर्‍यो। कार्यालयमा मात्र होइन, घरमा पनि पुस्तकको राम्रै संकलन छ। एउटा कलेजको राम्रो पुस्तकालयभन्दा स्तरीय छ।

यात्रामा किताब पढ्ने कोसिस त गर्छु तर मनमा कुरा खेलिरहने हुनाले त्यसमा ध्यान जाँदैन। मानिससँगको छलफलमै समय बित्छ। कुनै एउटा यात्रामा एउटा वा दुइटा सन्दर्भभन्दा बढी पढ्न भ्याउँदिनँ। तर, अधिकांश यात्राका क्रममा देखिने कुराहरूको नोट लेख्छु। पछि गएर त्यसलाई लेखको रूप दिन्छु। मसँग यस्ता धेरै विषय छन्। अवकाशपछि यस्ता धेरै विषय र संस्मरण लेख्ने इच्छा छ।

मैले उपहार नलिए पनि पदीय हैसियतले गर्दा यहाँ किताब धेरै आउँछन्। एकेडेमीको अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार भइरहेको छ। यही क्रममा धेरै लेखकसँग भेट हुन्छ। धेरैले किताब उपहार दिन्छन्। मैले पनि पढ्न चाहनेलाई किताब नै उपहार दिन्छु।

डिजिटल जमानामा हामी पुराना मान्छे भयौं। मेरो गाउँमा सेतु सुब्बा थिए। निरक्षर भए पनि गाउँका सुब्बा। सबैलाई हप्काएरै खान्थे। अहिले कम्प्युटरमा साहित्य आइसकेपछि मैले ‘हामी सेतु सुब्बा’ भन्ने गरेको छु। इमेल र सामान्य टाइप त आफैं गर्छु। अरू कामका लागि नाति नातिना गुहार्छु। किताब सच्याउन धेरै डिजिटल कपी मकहाँ आउँछन्। म त्यसको प्रिन्ट निकाल्छु। अनि आरामले सच्याउँछु।

मानिस कच्चा जन्मिएको हुन्छ। शिक्षाले सीप र ज्ञान प्राप्त गर्छ। शिक्षाले उसको दृष्टिकोण बनाइदिन्छ। काँचो मानिसलाई परिस्कृत बनाउन किताबी अध्ययन चाहिन्छ। किताबी अध्ययन र आफ्नो पृष्ठभूमिबीच सन्तुलन मिलाएर विचार बनाउने हो। परिमार्जित र महŒवपूर्ण मानिस बन्न अध्ययन त चाहिन्छ नै। अध्ययन किताबबाटै हुन्छ। युवापुस्ताको पनि अहिले अध्ययनमा रुचि बढेको छ। यो निकै खुसीको विषय हो।                                                                                                                                             


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.