प्रतिस्पर्धी टोली रोकिँदा बार्सिलोनाको पुनरागमन
एजेन्सी : स्पेनिस ला लिगामा पूर्वविजेता टोली बार्सिलोनाले शीर्ष स्थानमा पुनरागमन गरेको छ । आइतबारको खेलमा भिल्लारियलमाथि २–० को जित निकालेको बार्सिलोना अन्य टोलीको खेलमा पनि अनुकूल नतिजा आएपछि शीर्ष स्थानमा फर्कन सफल भएको हो।
एक साताअघि बार्सिलोनालाई पछि पार्दै सेभिल्ला शीर्ष स्थानमा उक्लिए पछि सिजनको सुरुदेखि नै शीर्ष स्थानमा रहेको बार्सिलोना दोस्रो स्थान झरेको थियो।
डिफेन्डर जेरार्ड पिकेले ३६ औं मिनेटमा गरेको गोलबाट अग्रता बनाएको बार्सिलानाका लागि ७० औं मिनेटमा मैदान छिरेका कार्लाेस एलेनाले ८७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । आइतबारको खेलमा बार्सिलोना भन्दा अगाडी रहेको सेभिल्लाले आलाभेजसँग १–१ को बराबरी खेली अंक बाँड्दा बार्सिलोनालाई फाइदा पुगेको हो। शीर्ष स्थानको दौडमा रहेको अर्काे टोली एथ्लेटिको मड्रिड पनि गिरोनासँग १–१ को बराबरी मै रोकियो।
शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले १४ खेलबाट २८ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको सेभिल्लाको समान खेलबाट २७ अंक छ । त्यसैगरी १४ नै खेल खेलेका एथ्लेटिको मड्रिड, आलाभेज र रियल मड्रिड क्रमशः २५, २४ र २३ अंकका साथ तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।