हात्ती, घोडा र ऊँट लिएर अयोध्याबाट जन्ती आउँदै

हात्ती, घोडा र ऊँट लिएर अयोध्याबाट जन्ती आउँदै

जनकपुरधाम : भारतको अयोध्याका साधुसन्त १० हात्ती, १० घोडा र ३ ऊँट लिएर जनकपुरधाम जन्ती आउने भएका छन्। ०६१ सालदेखि अयोध्याबाट हरेक पाँच वर्षमा जन्ती आउँछन्। अयोध्यास्थित राम मन्दिरका महन्थले यसपटक आउन नसक्ने खबर पठाएका थिए। तर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने पक्का भएपछि सातुसन्त जन्ती आउन तयार भएका हुन्।

रामायणका अनुसार त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवान् रामसँग मिथिलाकी राजकुमारी सीताको विवाह भएको थियो। सोही सम्झनामा हरेक वर्ष जनकपुधाममा एक साता विवाह पञ्चमी महोत्सव मनाइँदै आएको छ। विवाहपश्चात् जन्ती आउने गरेको थिएन। ‘सदियौंदेखि जनकपुरमा विवाह पञ्चमी धुमधामसँग मनाइन्थ्यो’, जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले भने, ‘तर, अयोध्याबाट जन्ती नआउँदा खल्लो लाग्थ्यो। त्यसैले ०६१ सालमा अयोध्या पुगेर छलफल गरी ५/५ वर्षमा जन्ती आउने परम्पराको सुरुवात गर्यौं।’

यसपटक यही मंसिर २६ गते विवाह पञ्चमी पर्छ। सहायक महन्थ दासका अनुसार जन्ती २४ गते आइपुग्छन्। बिहान नेपाल–भारत सीमा क्षेत्र जटही पुगेर जन्तीलाई स्वागत गरिने उनले सुनाए। ५ सय विशिष्ट साधुसन्तसहित १५ सय जन्ती अयोध्याबाट आउने उनको भनाइ छ। जन्तीका लागि आवास र खानाको व्यवस्था गरिएको छ।

प्रदेश २ सरकारले मुख्यमन्त्री योगीसहित १ हजार १ साधुसन्तलाई मधेस भवनमा भण्डारा खुवाउने कार्यक्रम तय गरेको छ। साधुसन्तलाई एक/एक थान धोती र गम्छा ओढाएर सम्मान गरी बिदाइ गरिने मुख्यमन्त्री मो. लालबाबु राउतले बताए।

प्रदेश सरकारले महोत्सवका लागि ५० लाख रुपैयाँ दिएको छ। तर, जानकी मन्दिरका सहायक महन्थ दासले महोत्सवको अनुमानित खर्च २ करोड ५० हुने बताए। उनका अनुसार हरेक कार्यक्रमका लागि छुट्टाछुट्टै पण्डाल निर्माण गरिएको छ। मन्दिर सिँगार्ने काम भइरहेको छ। ८ लाख रुपैयाँभन्दा बढीको फूलले मन्दिर सजाइनेछ। सात दिनका लागि जानकी मन्दिरमा विद्युतीय बत्ती जडानमै २० लाख खर्च हुनेछ। राम–सीता स्वयम्बरका बेला हेलिकोप्टरबाट पुष्प वृष्टि गरिनेछ।

माछा, मासु र मदिरा प्रतिबन्धित

स्थानीय प्रशासनले यही मंसिर २४ देखि तीन दिन जनकपुरधाममा माछा, मासु र मदिरा बिक्रीवितरणमा रोक लगाउने भएको छ। प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जनकपुरधाम उपमहानगरपालिका र होटल तथा मदिरा व्यवसायीको सहमतिमा माछा, मासु र मदिरा प्रतिबन्ध गरिएको सुनाए। उनका अनुसार २५ र २६ गते दीपावली गर्न स्थानीयवासीसँग आह्वान गरिएको छ।

महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शन कार्यक्रम गरिएको छ। दोस्रो दिन राम–सीता प्रतीकका रूपमा दुई बालबालिकालाई सजाएर विवाहमण्डपभित्र फूलबारी लीला मनाइनेछ। अयोध्याबाट आएपछि रामले सीतालाई पहिलो पटक फूलबारीमा हेरेको स्मरणस्वरूप यो लीला मनाउने चलन छ। तेस्रो दिन रंगभूमि मैदानमा धनुष यज्ञ आयोजना गरिनेछ।

चाैँथो दिन रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थको उपस्थितिमा विवाह तय अर्थात् तिलकोत्सव मनाइन्छ। पाँचौं दिन मटकोर अर्थात् विवाहको मण्डप तयार गर्न नदीबाट माटो ल्याउने विधि पूरा गरिन्छ। छैटौं दिन बाह्रबिघा मैदानमा राम र सीतालाई स्वयम्बर गराइनेछ। सोही साँझ जानकी मन्दिरमा राम र सीताको विवाह गरिन्छ। त्यसपछि जन्तीलाई मिथिला भोजन गराई नयाँ वस्त्र र कोसेली दिएर बिदाइ गर्ने परम्परा छ। यसलाई राम कलेवा भन्ने गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.