सौगः ख्यालःका अभियन्ता

सौगः ख्यालःका अभियन्ता

कसैका बारेमा थाहा पाउन पुस्तक नै पढ्नुपर्ने, दस्तावेज नै खोतल्नु पर्ने नहुँदो रहेछ। कहिलेकाहीँ एउटै तस्बिरले धेरै कुरा बताउँदो रहेछ। इतिहासका पानामा बालाई खोतल्न थालेको धेरै दिनसम्म पनि घरकै भित्तामा झुन्डिएको एउटा तस्बिर ओझेलमा परेको थियो। आज आँखा पर्‍यो।

निकै पुरानो यो श्यामश्वेत तस्बिर मैले बाल्यकालदेखि नै देख्दै आएको थिएँ। तर आज आँखा पर्दा केही फरक कुरा देखेँ। केही खास अनुभुत गरेँ। सायद आजभन्दा अघि त्यो तस्बिरलाई मैले त्यति वास्ता गरेर हेरेकै थिइनँ। तस्बिर बाको इतिहास थियो। पार्टीभन्दा बाहिरको वैकल्पिक संलग्नताको साक्षी थियो।

दुई दर्जनभन्दा बढी युवाहरू पंक्तिबद्ध भएर उभिएका छन् तस्बिरमा। अधिकतरले सेतो पाइजामा र सेतै कुर्ता लगाएका छन्। क्रान्तिकारी दस्ता जस्तो देखिने युवाहरूको यो तस्बिर विसं २०११ मा खिचिएको थियो। ललितपुर सौगः टोलमा। गुन्ह पुन्ही (जनैपूर्णिमा) को दिन। तस्बिरको मध्यभागमा टुप्लुक्क टाउको मात्र देखिने एक युवालाई मैले ठम्याइँहालें। बा। अन्यलाई चिनिनँ।

तस्बिर ती युवाहरूको हो जो टोलटोलमा, चोकचोकमा खुल्लम् खुल्ला प्रहसन गर्दै हिँड्दथे। विसंगतिविरूद्ध, अन्याय र अत्याचारविरुद्ध आवाज घन्काउँथे। यसरी प्रहसन गर्दै हिँड्ने युवाहरूले आफ्नो समूहको नाम सौगः ख्यालः राखेका थिए। विसं २०१० मा स्थापना भएको ‘सौगः ख्यालः’का संस्थापक, परिकल्पनाकार, थकाली एवं नेतृत्वकर्ता थिए निरञ्जनगोविन्द वैद्य। उनी राजा र राजतन्त्रका विरुद्ध, बेथिति र अराजकताका विरुद्ध ख्यालः लेख्थे।

ख्यालःमा भाग लिन चाहने युवाहरूलाई आफ्नै घरमा बोलाएर प्रशिक्षण दिन्थे। राजनीतिक विसंगति र सामाजिक विकृतिका विरुद्ध व्यंग्यात्मक तरिकाले विरोध गर्नु नै ख्यालःको मूल उद्देश्य थियो। त्यसैले ख्यालः हास्यव्यंग्य प्रधान हुन्थ्यो। यसले व्यवस्थाको विरोध पनि हुन्थ्यो सुन्ने र हेर्नेलाई मनोरञ्जन पनि। २०१० मा स्थापना भएको ख्यालः २०१६ साल पछि ललित ख्यालः पुचःका नाममा सञ्चालित हुन थाल्यो। सौगः ख्यालःका विषयमा जान्ने उत्सुकता बढ्दै जाँदा सुन्दरकृष्ण जोशी र रामगोपाल श्रेष्ठसँग भेट भयो।

प्राडा सुन्दरकृष्ण जोशी ख्यालः कमिटीका जीवित सदस्यहरूमध्ये एक हुन्। ८३ वर्षीय जोशीसँग ख्यालःका विषयमा केही मधुरा सम्झना मात्र रहेछन्। भन्छन्– ‘निरञ्जन दाइले अग्रसरता नलिएको भए यो ख्यालः सम्भव नै थिएन। किनभने हामी सबैलाई उहाँले नै संगठित गर्नुभएको थियो। म सामाजिक विकृतिका विरुद्ध लेख्थें, निरञ्जन दाइ राजनीतिक विसंगतिका विरुद्ध। समय र परिस्थितिअनुसार फरकफरक व्यंग्य मञ्चन गरिन्थ्यो।’

जताजता मानिसको भीड लाग्थ्यो, ख्यालःका सदस्यहरू व्यंग्य बोकेर पुगिहाल्थे मञ्चन गर्न। हूलमुलमा देखाउनु पर्ने हुनाले कृष्णजन्माष्टमी, गाईजात्रा उपयुक्त समय हुन्थे। ख्यालःको समयावधि लामो हुँदैनथ्यो। छोटो हुन्थ्यो। पाँच दस मिनेट। तर तिखा र व्यंग्यवाणले भरिएको। ख्यालःमा निकै मन पराइएको व्यंग्य कविता थियो ‘दाल्डा स्रोत्रं’।

दाल्डा घिउको विरोधमा रचिएको यो कविताले जनताको स्वास्थको ख्याल नगर्ने सरकारलाई तिखो व्यंग्य गरेको थियो। गीत, कविता, नाटक आदि विभिन्न प्रहसनका कारण मंगलबजार नजिकैको सौगः टोल ख्यालःका निमित्त छोटो समयमा नै निकै लोकप्रिय भइसकेको थियो। ख्यालःको उद्देश्य प्रहसन मात्र थिएन। युवाहरूलाई विसंगति र विकृतिविरुद्ध जागरुक गर्नु पनि थियो। सौगः ख्यालःको लोकप्रियता बढेसँगै प्रहरीको निगरानी पनि बढ्दै गएको थियो। एक त यसको नेतृत्वमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्य थिए।

ललित ख्यालः पुचः अहिले अस्तित्वमा छैन। नेपाल भाषामा मञ्चन हुने ख्यालः र मञ्चन गर्ने समूह बाको मातृभाषाप्रतिको समर्पण र देश र जनताप्रतिको कर्तव्यबोध थियो।

अर्को यो निकै छोटो समयमा जनजनमा लोकप्रिय बनेको थियो। त्यसैले ख्यालःका सदस्यहरू मुखुण्डो लगाएर आ–आफ्नो प्रस्तुति मञ्चन गर्थे। यसको दुई कारण रहेको बताउँछन् जोशी एक त व्यंग्य गर्ने मानिस नचिनियोस् भन्ने थियो, अर्को मुखुण्डो लगाएर डबलीमा उभिँदा आत्मविश्वास बढ्थ्यो।

ख्यालः कमिटीका अर्का जीवित सदस्य हुन्, रामगोपाल श्रेष्ठ। ८५ वर्षका श्रेष्ठलाई ख्यालःका सम्झना ताजै छ। श्रेष्ठ भन्छन्– ‘ख्यालः पार्टीसँग सम्बन्धित थिएन, यसको उद्देश्य जनतामा जागरुकता ल्याउने र राजाको विरोध गर्नु मात्र थियो।’ जीबी याक्थुम्बा त्यस समयका निकै क्रूर प्रहरी हाकिम थिए। तिनैलाई लक्षित गरी लेखिएको ख्यालःमा श्रेष्ठले याक्थुम्बाको अभिनय गरेका थिए।

पाटनका डबलीहरूमा देखाइने ख्यालः लक्ष्मण राजवंशीको अनुरोधमा काठमाडौंका वंघ, मरु, आदि ठाउँमा पनि देखाइएको थियो। श्रेष्ठको सम्झनामा ख्यालः कमिटीमा निरञ्जनगोविन्द वैद्य, प्राडा सुन्दरकृष्ण जोशी, रामगोपाल श्रेष्ठ, कृष्णबहादुर मास्टर, डा. नारायणगोविन्द अमात्य आदि थिए। ख्यालःमा खेल्ने कलाकारहरूमा वरिष्ठ कलाकार वत्सगोपाल वैद्य, सुरेन्द्रबहादुर नेवा, तेजप्रसाद वैद्य, एमके रञ्जित, हरिबहादुर कर्माचार्य, सुभाषगोपाल वैद्य, जानकी, आरके प्रधान, मीमनाथ हलवाई, चित्रमान, नारायणलाल, नारायणबहादुर, हरिराम याक आदि थिए। तस्बिरमा सायद तिनै व्यक्तिहरू हुनुपर्छ।

ललित ख्यालः पुचः अहिले अस्तित्वमा छैन। नेपाल भाषामा मञ्चन हुने ख्यालः र मञ्चन गर्ने समूह बाको मातृभाषाप्रतिको समर्पण र देश र जनताप्रतिको कर्तव्यबोध थियो। देशमा परिवर्तन ल्याउन पहिला जनतालाई जागरुक बनाउनुपर्छ भन्ने उनको उद्देश्य थियो। उनको यो अभियानका बारे थाहा पाउने निकै कम मानिस मात्र जीवित छन्।

जो छन् तिनीहरू भन्दैछन्– निरञ्जन दाइको यो अभियानले जनजागरणमा अहम् भूमिका खेलेको थियो। पार्टी सदस्यता नलिएका लाखौं मानिस नेपालको कम्युनिस्ट आन्दोलनमा सहभागी हुनुका पछाडि यस्ता जनजागरण अभियानको ठूलो भूमिका रहने गरेको छ। प्राध्यापक जोशी भन्छन्– ‘निरञ्जन दाइ काम गर्न जान्ने फाइदा लिन नजान्ने मानिस थिए। त्यसैले उनको नाम लिने, उनको योगदानका बारे थाहा पाउने मानिस निकै कम छन् अहिले।’

(निरञ्जन गोविन्द वैद्यको चौधौं स्मृति दिवसको सन्दर्भमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.