आन्तरिक पर्यटकलाई प्रवेश शुल्क लिएपछि कास्कीको बिरेठाँटी एक्याप चेक पोष्टमा तालाबन्दी
पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रमा जाने आन्तरिक पर्यटकलाई पनि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरि लगाएको प्रवेश शुल्कको विरोधमा स्थानीयले आइतबार बिरेठाँटीको चेक पोष्ट तथा सूचना केन्द्रमा तालाबन्दी गरेका छन्।
नेपाल सरकारले गत असोज २९ गते राजपत्रमा प्रकाशित गरी संरक्षण क्षेत्रमा आन्तरिक पर्यटकलाई पनि प्रति व्यक्ती प्रवेश शुल्क एक सय रुपैयाँ लिने निणर्य गरेको थियो। सरकारको निणर्य अनुसार एक्यापले पोखरा काउण्टरमा प्रवेश अनुमती-पत्र बनाउनेलाई एक सय रुपौयाँ र संरक्षण क्षेत्रकै चेक पोष्टमा बनाएमा दुई सय लिँदै आएको छ।
आन्तरिक पर्यटकलाई पनि संरक्षण क्षेत्रमा प्रवेश शुल्क लिने निर्णय खारेजको माग गर्दै कास्कीको बिरेठाँटीका पर्यटन व्यवसायीले चेक पोष्टमा तालाबन्दी गरेका हुन्।
पर्यटनको विकासमै बाधा पुग्ने गरि आन्तरिक पर्यटकलाई पनि प्रवेश शुल्क लिने निणर्य खारेज हुनु पर्ने स्थानीय संघर्ष समितिका अध्यक्ष टकेबहादुर गुरुङले बताए। आन्तरिक पर्यटकलाई शुल्क लिन थालेपछि पदयात्रामा आएका आन्तरिक पर्यटक फर्कर्न थालेको उलने बताए।
एक्यापले करोडौ उठाउँने तर एक्याप क्षेत्रको विकासमा लगानी नगरेकोले स्थानीय स्वस्फूर्त रुपमा उत्रेर तालाबन्दी गरेको संघर्ष समितिका अध्यक्ष गुरुङले बताए। संरक्षण क्षेत्रका वन पैदावरको संरक्षणको साथै उपयोग पनि गर्न पाउनु पर्ने र प्रवेश शुल्कबाट भएको आम्दानी त्यही क्षेत्रको विकासमा खर्च गरिनु पर्ने पनि स्थानीयो माग रहेको छ। स्थानीय जनता स्वस्फूत रुपमा बिभिन्न माग राख्दै चेक पोष्ट तालाबन्दी गरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए।
स्थानीयको तालाबन्दीका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने विदेशी पर्यटकको तथ्याङ्क संकलन, प्रवेश अनुमती पत्रको चेक जाँच र पदयात्रा गरेर फर्कने पर्यटकको तथ्याङ्क संकलन कार्य प्रभावित भएको छ। अहिले बिरेठाँटी हुँदै अन्नपूर्ण आधार शिवीर, घोरेपानी पुन हिल, घान्द्रुक लगायतको क्षेत्रमा दैनिक १ सय ५० देखि २ सय सम्म विदेशी पर्यटक जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र चेक पोष्ट तथा सूचना केन्द्र बिरेठाँटी इन्चाज यम बहादुर गुरुङले बताए।
तालाबन्दीका कारण पर्यटकलाई सुरक्षित पदयात्राका बारेमा दिनु पर्ने सूचना, पर्यटकको सुरक्षाका लागि गए आएको तथ्याङ्क संकलन लगायतका काम प्रभावित भएको उनले बताए।
पोखराका पर्यटन व्यवसायीले सरकारले विदेशी पर्यटक संरक्षण क्षेत्रमा जाँदा लाग्ने शुल्कको वृद्धि र आन्तरिक पर्यटकलाई पनि प्रवेश शुल्क लाग्ने निर्णयको यस अघि नै विरोध गरेका थिए। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने लक्ष्यलाई पनि यस्ता निर्णयले प्रभाव पार्ने बताउँदै आएका छन्।
सरकारले संरक्षण क्षेत्रमा पदयत्रा गर्न, घुम्न जाने विदेशी पर्यटकलाई अहिले लिदै आएको शुल्कमा वृद्धि गरेको थियो। अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने विदेशी पर्यटकलाई भ्याटसहित तीन हजार, सार्क राष्ट्रका पर्यटकलाई एक हजार र आन्तरिक पर्यटकलाई प्रवेश शुल्क एक सय लाग्ने संशोधित राजपत्रमा उल्लेख भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पोखराका सूचना अधिकृत ऋषि बरालले जानकारी दिए।
दश वर्ष मुनीका बालबालीकाकालागि भने प्रवेश शुल्क लाग्ने छैन। यस अघि अन्नपूर्ण संरक्षण क्षेत्रमा घुम्न जाने विदेशी पर्यटकलाई भ्याट बाहेक दुई हजार र सार्क मुलुकका पर्यटलाई भ्याट बाहे दुई सय रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो।
प्रतिक्रिया दिनुहोस !