जेलमै उद्यमी !

जेलमै उद्यमी !

इलाम : इलाम कारागारभित्र पुग्दा कैदीबन्दीको हात खाली देखिँदैन। उनीहरू केही न केही काम गरिरहेकै हुन्छन्। प्रेम बाला राई पनि कैदी हुन् तर कारागारमा उनको परिचय मुढा उद्यमी बनेको छ।

उनी आफैं श्रम गर्छन्, साथीहरू पनि खटाउँछन्। ‘यता आएर पनि खाली हात बस्नु परेको छैन्’, उनले भने, ‘कमाएको सबै पैसा परिवारलाई पठाउँछु।’ मुढा बनाएर मासिक १० हजार कमाइ हुने गरेको उनले सुनाए। अरू कैदीबन्दीले पनि आम्दानी गरिरहेका छन्।

थिरनारायण श्रेष्ठ फूलका सामग्री बनाउने उद्यमका संयोजक हुन्। कैदीका हातले बनाएका यस्ता सामानको माग बाहिरी बजारमा छ। ‘श्रम गरेर पैसा कमाउन पाएकाले जेलभित्र छौं भन्ने महसुस नै हुँदैन’, उनले भने, ‘सक्दो मेहनत गरेका छौं।’ उनका अनुसार सीप हुनेले गुडिया, फूलदानी र स्विटर बुन्छन्। यसमा महिला धेरै खटिएका छन्। जान्नेले नयाँलाई सीप सिकाउँछन्। पुरुष कैदीले बाँसको मुढा बनाउँछन्। ‘भित्र तयार भएका सामान बिक्री गर्न समस्या छैन। मुढा, ढाका र सजावटका फूल बाहिर बिक्छ’, चौकीदार दीपक राईले भने, ‘क्यान्टिन चलाउनेले पनि राम्रै कमाएका छन्।’

इलाम कारागारमा ५० जना कैदीले मुढा बुन्छन्। उनीहरूले हरेक महिना १ सय ५० मुढा तयार पार्छन्। प्रतिगोटा ३ सयदेखि ५ सय रुपैयाँमा बिक्री हुन्छ। आकार र गुणस्तरका आधारमा मूल्य तय गरिन्छ। बनाउन चाहिने बाँस, डोरी र टायर सदरमुकामका व्यापारीले आपूर्ति गर्छन्।

जेलर भक्तबहादुर खड्काले गरिखान चाहनेका लागि जेल प्रशासनले अवसर दिई सहयोग गरेको बताए। ‘सजाय काट्न जेलभित्र बसेकाहरू बेकम्मा हुन्छन् भन्ने मान्यतालाई कैदीबन्दीले गलत सावित गरिदिएका छन्’, उनले भने, ‘हामीले काम गर्न चाहनेलाई वातावरण तयार गरिदिएका छौं। त्यसको सकारात्मक परिणाम देखिएको छ।’

सरकारले देशभरका कारागारलाई सुधारगृह बनाउने रणनीति लिएको छ। पर्खालभित्रको संसार बाहिरभन्दा बेग्लै हुने नै भयो। सरकारी भात खान र कैद भुक्तानको समय काट्न मात्र कारागार हो भन्ने बुझाइ छ। कारागारभित्र ढाका कपडा बुन्ने उद्योगका संयोजक उमेश लिम्बूले मासिक ५ हजार रुपैयाँभन्दा बढी बचत हुने गरेको सुनाए। ‘हामीलाई यहाँ काम गर्न प्रशस्तै समय छ। सजिलो पनि छ’, उनले भने, ‘बुनेको ढाकाको माग बाहिरी बजारमा छ। सामान उता पठायो दाम भित्रै आउँछ। बचत भएको पैसा घर पठाउँछु।’

कारागारलाई सुधारगृह बनाउने सरकारी तयारी छ। ९ सय पुस्तक रहेको पुस्तकालय, जिमखाना, भलिबल, फुटसल, चेस, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्किपिङलगायत खेलका सामग्रीको व्यवस्थापन गरिएको कारागार प्रशासनले जनाएको छ। भित्रै खेल मैदान बनाइएको छ। कारागारको क्षमता १ सय २५ जना हो तर २ सयभन्दा बढी कैदीबन्दी छन्। बस्नलाई असुविधा नभएको जेलर खड्काले बताए।

सशस्त्र द्वन्द्वको चपेटामा परेपछि पुनर्निर्माण गरिएको कारागारलाई सुधारगृह बनाउने परिकल्पना गरिएको थियो। तर, व्यवस्थापकीय पक्षमा धेरै सुधार आवश्यक रहेको उनले स्वीकार गरे। ‘प्रयास गरिरहेका छौं’, उनले भने, ‘माथि सरकारसँग पनि कुरा हुँदै छ।’ कैदीलाई थप उद्यमी बनाउन कारागार प्रशासनले फर्निचर र बाँसको सामग्री बनाउन तालिम चलाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.