मोहना-अत्तरिया सडक निर्माण : अवधि सकिनै लाग्यो, पुलको टेन्डर भएन

मोहना-अत्तरिया सडक निर्माण : अवधि सकिनै लाग्यो, पुलको टेन्डर भएन

धनगढी : मोहना–अत्तरिया ६ लेन सडक निर्माणको सम्झौता अवधि सकिन ६ महिना बाँकी रहँदा सडकअन्तर्गत निर्माण हुने तीनवटा पुलको भने अझै ठेक्का हुन सकेको छैन। आयोजना अन्तर्गत तीनवटा पुल निर्माण हुनेछन्। धनगढीको मोहना नदी, गेटाको मनहरा खोला र सुमी नालामा पुल निर्माणको डिजाइन गरिएको छ। तर कार्यालय प्रमुख नहुँदा पुलको टेन्डर प्रकृया नै अगाडि बढन सकेको छैन।

‘आयोजना अन्तर्गत तीनवटा पुल बनाउनुपर्नेछ’, निमित्त कार्यालय प्रमुखको जिम्मेवारी पाएका लेखापाल सिद्धराज पाण्डेयले भने, ‘कार्यालय प्रमुख नहुँदा त्यसको टेन्डर नै हुन सकेको छैन।’ उनका अनुसार कार्यालय प्रमुख नहुँदा आर्थिक कारोबारसमेत हुन सकेको छैन। दुई महिनादेखि कर्मचारीले समेत तलब खान पाएका छैनन्। झण्डै डेढ अर्बको मोहनापुल–अत्तरिया ६ लेन सडक योजनामा, डेढ वर्षको अवधिमा दुईवटा कार्यालय प्रमुख सरुवा भइसेकेका छन्। अहिले योजनामा नयाँ प्रमुख अझै खटाइएका छैनन्। योजना कार्यालयमा सुरुमा आएका नवीनमान श्रेष्ठ निर्माण कार्य सुरु नहुँदै तीन महिनामै सरुवा भए भने त्यसपछि आएका योजनाका प्रमुख मनिष कुमाश शाह सरुवा भएर पनि डेढ महिना भइसकेको छ। योजना कार्यालयमा दरबन्दी रहेका दुईजना इन्जिनियर पनि नभएकाले निर्माण कार्य प्रभावित भइरहेको छ।

सुरुका तीन महिना बसेका इन्जिनियर प्रविन चौधरी सुरुवा भएर मध्यपहाडी पश्चिम आयोजना दाङमा गएपछि कुनै इन्जिनियर आएका छैनन्। आयोजनाकै काममा काठमाडौं धनगढी गर्दै गर्दा निर्माणको काममा ध्यान दिनसक्ने स्थिति कमै रहेको कार्यालयले जनाएको छ। दुई इन्जिनियर र चार सव–इन्जिनियर गरी ६ जनाले सडक निर्माणको अनुगमन गर्ने अवस्थामा त्यो सबै काम तीन जना सव–इन्जिनियरले मात्रै गर्नुपर्ने अवस्था रहेको आयोजनाका सव–इन्जिनियर स्मृति रानाले बताइन्। आयोजना प्रमुख र इन्जिनियर नभएपछि सडकमा बन्ने पुल निर्माण प्रक्रियामा बाधा पुगेको छ।

सडक विभागको व्यापारिक मार्ग विस्तार आयोजनाले बनाइ रहेको सडकमा सुरुका बेला, सडकमा परेका घर संरचना हटाउन केही विलम्ब भएको थियो भने अहिले योजनाकै अनुगमन र मूल्यांकनका कारण सडक निर्माणमा ढिलाइ भइरहेको छ।

२२ वटा कल्भर्टमध्ये अहिलेसम्म १२ वटा कल्भर्ट बनाइएका छन्। सव–इन्जिनियर रानाका अनुसार अहिले सडकमा कल्भर्ट राख्ने काम भइरहेको छ। सडकको बीचमा रहेका विद्युत्का पोल सार्ने काम ढिलो गरी सुरु हुँदा निर्माणमा बाधा भएको राजेन्द्र÷नागार्जुन जेभीका व्यवसायी लक्ष्मण साउदले बताए। उनको भागमा बोराडाँडीदेखि अत्तरिया सम्मको झण्डै नौ किलोमिटर सडक निर्माणका दुई ठेक्का छन्।

२०७४ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको सडकको अहिलेसम्मको प्रगति ३२ प्रतिशत मात्रै छ। डेढवर्षमा ३२ प्रतिसत प्रगति भएको सडक अबको ६ महिनामा बन्ने सम्भावना देखिँदैन। निर्माण सुरु भए यता देखिएका विभिन्न अवरोध र निर्माण कम्पनीको निस्क्रियताले सडक निर्माण कार्यमा ढिलाइ भइरहेको सडक आसपासका स्थानीयको आरोप छ। सडक आयोजनाले निर्माण पक्षलाई ताकेता दिन नसक्दा ढिलाइ भइरहेको सडक छेउका व्यवसायी हरेन्द्र कुँवरले बताए। ‘कुनै वैकल्पिक सडक नभएको अवस्थामा तोकेको अवधिमा सम्पन्न हुने गरी निर्माण हुनुपर्ने हो’, उनले भने।

अत्तरिया–मोहनापुल, पुर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आउने एक मात्र सडक हो। मोहनापुल पुलदेखि अत्तरियासम्मको १४ किलोमिटर सडक निर्माणमा भौतिक प्रगति अत्यन्त न्यून देखिएपछि स्थानीय निराश छन्। सडकको अस्तव्यस्तताले आसपासका व्यापारीलाई पनि निकै मार परेको छ।

सुरुका बेला सडकमा परेका घर नभत्काउन चाहनेले सर्वोच्च अदालतमा मुद्दा गरेकाले ढिलाइ भएको थियो भने त्यसपछि विद्युत्का पोल सार्ने काम र बनका कारण ढिलाइ भएको थियो। करिब साढे १४ किमिको ६ लेन सडकलाई मोहना पुलदेखि तीन टुक्रामा ठेक्का दिइएको छ। प्याकेज एकको ठेक्का शर्मा÷अमर÷नागार्जुन जेभीलेपाएको छ भने प्याकेज दुई र तीनको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.