सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी

सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी

काठमाडौं : पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घट्दै गएको छ । महँगो शुल्क तिरेर पढ्नुपर्ने भए पनि निजी स्कुलमा भने विद्यार्थी बढिरहेका छन् । पछिल्लो पाँच वर्षमा सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी घटेको सरकारी तथ्यांक छ । तर निजी स्कुलको अवस्था भने ठीक विपरीत छ ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा सामुदायिक विद्यालयमा ६० लाख ६२ हजार आठ सय ३१ र संस्थागत विद्यालयमा १३ लाख २८ हजार ६ सय ९३ जना विद्यार्थी भर्ना भएका थिए । शैक्षिक सत्र २०७३ मा सामुदायिक विद्यालयमा ६१ लाख ६ हजार तीन सय ५७ जना विद्यार्थी भर्ना भएका थिए । यसअनुसार सामुदायिक विद्यालयमा एक वर्षमा ९७ हजार विद्यार्थी घटेका छन् । विद्यालय जाने उमेर पूरा भएर पनि भर्ना हुन नपाएका, भर्ना भएर पनि स्कुल छाडेकालगायत कारणले अझै पनि १३ लाख विद्यार्थी विद्यालयबाहिर छन् । यीमध्ये कक्षा १ मा भर्ना भएर १० सम्म पुग्दा मात्र १० लाखले विद्यालय छोड्ने गरेको सरकारी तथ्यांक छ ।

सरकारले सामुदायिक विद्यालयको शिक्षा उकास्ने उद्देश्यले हरेक वर्ष सबैभन्दा धेरै बजेट शिक्षामै खर्चिरहेको छ । स्कुलबाहिर रहेका विद्यार्थीलाई स्कुल ल्याउन थुपै्र कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । तर यी सबै कार्यक्रम प्रभावकारी नबन्दा सरकारी लक्ष्य अधुरो छ ।

निजी विद्यालय सञ्चालक भने विद्यार्थीको उत्कृष्ट नतिजा, चुस्त स्कुल व्यवस्थापनलगायत कार्यक्रम ल्याएर अभिभावकलाई लोभ्याउँदै नयाँ विद्यार्थी भर्ना गराउन सफल भएका छन् । शैक्षिक सत्र २०७२ मा सामुदायिक विद्यालयमा ६२ लाख २४ हजार ९ सय १३ जना विद्यार्थी भर्ना भएका थिए । यही वर्ष संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १२ लाख ५३ हजार तीन सय ३५ जना विद्यार्थी भर्ना भएका थिए ।

शैक्षिक सत्र २०७१ मा सामुदायिक विद्यालयमा ६२ लाख ९३ हजार एक सय १२ जना विद्यार्थी भर्ना भएका थिए । यही वर्ष संस्थागत विद्यालयमा १२ लाख ४९ हजार दुई सय ८१ जना विद्यार्थी भर्ना भएका थिए । शैक्षिक सत्र २०७० मा सामुदायिक विद्यालयमा ६४ लाख ४७ हजार ९५ जना विद्यार्थी भर्ना भएका थिए । यही वर्ष संस्थागत विद्यालयमा संस्थागत विद्यालयमा १२ लाख १८ हजार तीन सय ५३ जना विद्यार्थी भर्ना भएका थिए ।

पछिल्ला पाँच वर्षको तथ्यांक तुलना गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दो क्रममा छ भने निजीप्रति विद्यार्थी आकर्षण बढिरहेको छ । सरकारी सुस्तताका कारण सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षण बढाउन नसकिएको शिक्षाविद् एवं प्रा.डा. विद्यानाथ कोइरालाले बताए ।

पछिल्लो तथ्यांकअनुसार विद्यालय शिक्षामा सामुदायिक विद्यालयको हिस्सा ८३ दशमलव दुइ तथा निजी स्कुलको हिस्सा १६ दशमलव ८ प्रतिशत रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.