विद्यालयको पठनपाठन नियमित
रुकुम पूर्व : रुकुम पूर्वको रुक्मिनी माध्यामिक विद्यालयको परिसरमा भैरहेको एक महोत्सवका कारण प्रभावित भएको पठनपाठन नियमित सुरु भएको छ।गएको ६ दिनयता नियमित समयभन्दा चाँडो अर्थात बिहान साढे ६ देखि दिउँसो १२ बजेसम्म भैरहेको विद्यालयको पठनपाठन बिहान १० बजेदेखि ४ बजेसम्म नियमित भएको छ।
रुकुम पूर्व चेम्बर अफ कमर्स नामक नीजि संस्थाले गत मंसिर २५ गते देखि पौष ५ गतेसम्मका लागि भनेर विद्यालय प्राङ्गनमा आयोजना गरेको पर्यटन तथा सांस्कृतिक महोत्सव निर्धारित समयभन्दा तीन दिनअघि अर्थात् सोमबार समापन भएपछि विद्यालयको पठनपाठन मंगलबारदेखि सूचारु भएको विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमले जानकारी दिए।
'विद्यालयको पठनपाठन नियमित भएको छ,' प्रधानाध्यापक गौतमले भने, 'महोत्सवका कारण पठनपाठनको समय व्यवस्थापनमा केही समस्या भएको थियो, तर हामीले बिहानी कक्षा संञ्चालन गरेपछि त्यो पनि समाधान भैसकेको छ।' महोत्सवका कारण दिउँसो पढाइमा बाँधा पुगेको भन्ने आलोचना आएपछि विद्यालयले पठनपाठनलाई नरोकी बिहानीपख नियमित गरेको थियो।
महोत्सव आयोजकले भने विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अन्य सरोकारवालासँग व्यापक छलफल गरेर मात्रै विद्यालय परिसरमा महोत्सव संञ्चालन गरेको बताएको छ। यस अघि पनि यस प्राङ्गगनमा यस्ता महोत्सवका कार्यक्रमहरु हुने गरेका थिए, तर उक्त समयमा विद्यालय बन्द हुने र विद्यालय स्वयमले पनि कार्यक्रमको आयोजना गर्ने गरेकाले विद्यालयको पठनपाठन रोकिएको भन्ने आलोचना सुनिएको थिएन।
यसपटक भने विद्यालय विदा नभएका बेला कार्यक्रम आयोजना गरिएकाले विद्यालयको पठनपाठनमा असर पुगेको भन्ने कुरा उठेको थियो।आगामी दिनमा विद्यालयको पठनपाठनलाई असर नगर्ने गरी कार्यक्रम गर्दा राम्रो हुने अभिभावक बताउँछन्। रुकुम पूर्वको सदरमुकाम समेत रहेको रुकुमकोटमा मेला-महोत्सव, सार्वजनिक कार्यक्रम गर्न यस स्थानको विकल्प नभएका कारण पनि यस्तो समस्या आउने गरेको छ।
प्रतिक्रिया दिनुहोस !