१ वर्षदेखि तलब नपाएपछि आन्दोलनमा उत्रने स्वास्थ्यकर्मीको चेतावनी

१ वर्षदेखि तलब नपाएपछि आन्दोलनमा उत्रने स्वास्थ्यकर्मीको चेतावनी

जाजरकोट : जिल्ला सदरमुकामस्थित जाजरकोट अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले एक वर्षदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन्। चाहिनेजति स्वास्थ्यकर्मी नहुँदा अस्पतालमा कार्यरतले कर्मचारीले अतिरिक्त समयमा काम गरेको तलबभत्ता एक वर्षदेखि पाएका छैनन्।

बजेट अभावमा करिब ४४ लाख रुपैयाँ भुक्तानी हुन नसकेको अस्पतालले जनाएको छ। चिकित्सक ५, स्टाफ नर्स १२, स्वास्थ्य सहायक ३ , फारमसिष्ट २, ल्याव टेक्निसियन ४, रेडियो ग्राफर २, विलिङ्ग कर्मचारी २ र १० जना कार्यालय सहयोगी गरी ४० जना स्वास्थ्यकर्मीले २०७४ पुस देखिको अतिरिक्त तलबभत्ता नपाएको अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले बताए।

गत असारसम्मको २९ लाख र साउनदेखि मंसिरसम्मको १५ लाख गरी ४४ लाख रुपैयाँ विभिन्न तहका स्वास्थ्यकर्मीलाई भुक्तानी दिन बाँकी रहेको उनले बताए।

उनका अनुसार दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा एउटै स्वास्थ्यकर्मीले २४ सै घण्टा काम गर्नुपर्छ। ८ घण्टाभन्दा बढी काम गरेको अवधिको थप भत्ता दिने व्यवस्था छ । तर  बजेट अभावले गत एक वर्षदेखिको तलब भत्ता दिन नसकिएको उनले बताए।

समयमा तलब नपाउँदा स्वास्थ्यकर्मी निराश छन् । रातदिन नभनी बिरामीको सेवामा खटिनुपर्छ तर तलब पाइँदैन कसरी काम गर्ने? डा. अमिन शाहले भने,' मैले अतिरिक्त समय काम गरेको दुई लाखभन्दा बढी रकम पाएको छैन।' समयमा तलब भत्ता नपाउँदा घरखर्च टार्न समेत मुस्किल भएको उनको गुनासो छ। तलब भत्ता नपाउँदा स्वास्थ्यकर्मीको कामप्रति जाँगर मरेको छ।

'जिल्ला स्वास्थ्य कार्यालय र अस्पतालको प्रशासनिक संरचना एउटै थियो, त्यतिखेर अतिरिक्त तलब लिन समस्या हुँदैनथ्यो।बजेट पनि धेरै आउँथ्यो। तर अस्पताल र स्वास्थ्य कार्यालय अगल भएपनि अस्पतालमा तलब भत्ता बाहेकको बजेट नै आउन छोडेपछि समस्या भएको हो, अस्पताल प्रमुख लामाले भने, 'अस्पताल अहिले प्रदेश सरकार मातहत छ तर तलब नगरपालिकामा आउँछ।'

संघीयता कार्यान्वयनसँगै अस्पताललाई हेर्ने निकाय को हो अहिले पनि अन्यौलमा छ। यसअघि विभाग मातहतमा हुँदा सबै समस्या त्यहीबाट समाधान हुन्थे अहिले एकले अर्कालाई जिम्मेवारी देखाएर आफू पन्छिने काम भैरहेको छ। जसको मारमा स्वास्थ्यकर्मी परेका छन्।

'चालु आर्थिक वर्षमा दुई करोड ३३ लाख रुपैयाँ अस्पतालका लागि बजेट विनियोजन गरिएको छ। जबकी तलब, दुर्गमभत्ता, महंगी भत्तालगायतमा दुई करोड १२ लाख रुपैयाँ खर्च हुने गरेको छ।

बाँकी रकमले रातिमा गरेको डिउटीलगायतको अतिरिक्त भत्ता अपुग हुने देखिन्छ। वर्षमा करिब ५० लाख रुपैयाँ अतिरिक्त भत्तामा खर्च हुने गरेपनि सोही अनुसार बजेट विनियोजन नहुँदा समस्या देखिएको प्रमुख डा.लामाले बताए।

१५ शैयाको जिल्ला अस्पताललाई स्तरोन्नती गरी ५० शैयाको बनाइए पनि दरबन्दीअनुसारका चिकित्सकलगायतका स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन।

९ जना विशेषज्ञसहित १३ जना चिकित्सकको दरबन्दी भएपनि हाल ५ जना मात्र कार्यरत छन्। ६ जना स्वास्थ्य सहायकको दरबन्दी भएपनि दुईजना मात्र कार्यरत छन्। एकजनाको पदपूर्ति हुन सकेको छैन। एकजना स्वास्थ्य सहायक धनिकलाल यादव १२ वर्षदेखि सम्पर्कबिहीन छन्।

स्वास्थ्य सहायक रामकुमार गौतम प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा काजमा बसेका छन्। अर्का स्वास्थ्य सहायक दीपक वली अध्ययन विदामा छन्। यहाँ कार्यरत स्वास्थ्यकर्मीले चौविसै घण्टा काम गर्नुपर्छ तर तलबभत्ता लामो समयसम्म पाइँदैन कसरी गर्नु डा. भुपेन्द्रप्रकाश मल्लले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा पठाउनु पर्ने स्त्रीरोग विशेषज्ञ र सर्जन डाक्टर नपठाउँदा उपचारमा थप समस्या भएको छ। अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको तलब भत्ता स्थानीय तहमार्फत दिने निर्णय भएसँगै तलब भत्ता समयमा पाउन समेत नसकिएको उनीहरुको गुनासो छ।

स्वास्थ्यकर्मीले गत असारमा ६ महिना पछि मात्र तलब पाएका थिए। तलबका लागि उनीहरुले आन्दोलन नै गर्नु परेको थियो।स्वास्थ्यकर्मीले अतिरिक्त तलब भत्ता पनि केही दिनभित्र उपलब्ध नगराए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.