सरकारविरुद्ध खनियो कांग्रेस

सरकारविरुद्ध खनियो कांग्रेस

काठमाडौं : प्रमुख प्रतिपक्ष कांग्रेस महासमितिले सरकारविरुद्ध सदन र सडकमा उत्रनुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ। महासमिति बैठकले मतभेद र गुट अन्त्य भएको दाबी गर्दै कांग्रेस सशक्त भएर प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गर्ने उद्घोष गरेको छ।

सदन र सडक प्रतिपक्षको भए पनि कांग्रेसभित्रकै आन्तरिक कलहले वास्तविक प्रतिपक्ष भूमिका निर्वाह गर्न नसकेको आरोपबीच महासमिति बैठकपछि कांग्रेस बलियो भएर आउन लागेको सन्देश दिन खोजेको छ।

महासमिति भेलाले सरकार सञ्चालनका गतिविधिप्रति पूर्ण रूपमा असन्तुष्टि प्रकट गर्दै कांग्रेसले समसामयिक राजनीतिक अवस्थाबारे १५ बुँदे विरोध पत्र सार्वजनिक गरेको छ। भेला समापन समारोहमा सभापति शेरबहादुर देउवाले पार्टीपंक्तिलाई सरकारविरुद्ध आन्दोलनमा उत्रने बेला आउन लागेकाले त्यसका लागि तयार रहन निर्देशन दिए। ‘सरकार एकदलीय निरंकुशताको बाटोमा अघि बढेको छ। अब हामीले कडा कदम चाल्नै पर्ने बेला आइसक्यो’, उनले भने, ‘केपी ओलीको नेतृत्वले १० महिनामा मुलुकलाई पूरै अस्तव्यस्त बनाएको छ, निरंकुशता हाबी भएको छ।’

सरकारको गतिविधिले लोकतन्त्र नै खतरामा परेको देउवाको निष्कर्ष छ। ‘प्रधानमन्त्रीले आफ्नै दलका नेतालाई दुःख दिइरहेका छन् भने उनले मुलुक र जनतालाई कसरी हित गर्लान्’, देउवाले भने, ‘यस्तो शैलीले जनताको समृद्धि र मुलुकको विकासलाई कसरी माथि उठाउलान्। यसमा तपाईं, हामी सचेत हुनै पर्छ। बोल्ने तर नगर्ने शैली सरकारको छ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सरकारविरुद्ध नलागे लोकतन्त्र खतरामा पर्ने दाबी गरे। ‘कांग्रेसको तल्लो पंक्तिसम्म कम्युनिस्ट निरंकुशविरुद्ध लाग्नुपर्ने अवस्था आइसकेको छ’, उनले भने, ‘यी कम्युनिस्टहरू निर्वाचनबाटै आएका भए पनि जालझेलको राजनीति गरिरहेका छन्। जनतालाई अनावश्यक आश्वासन बाँडेर मत लिएका कम्युनिस्टविरुद्ध जनता नै सडकमा उत्रनेछन्।’

मंसिर २९ देखि काठमाडौंमा सुरु भएको महासमिति बैठक आइतबार पार्टीको विधानसहित ५ छुट्टाछुट्टै प्रतिवेदन सर्वसम्मत पारित गरी सकिएको छ। चार दिन ढिला गरी सम्पन्न महासमिति बैठकले समसामयिक राजनीतिक अवस्थाबारे १५ बुँदे प्रस्तावसमेत पारित गरेको छ। सानेपामा महासमिति बैठक समापन गर्दै सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेत्री सुजाता कोइरालाले केन्द्रीय नेतृत्व एकढिक्का रहेको सन्देश प्रवाह गरे।

महासमिति सदस्य आआफ्नो क्षेत्रमा गएर पार्टीको सदस्यता वितरणदेखि संगठनको अन्य काम एक भएर गर्न उनीहरूले आग्रह गरे। ‘पार्टीभित्रको एकता कमजोर बनाउने, झगडा लगाउनेहरू आज परास्त भएका छन्’, सभापति देउवाले भने, ‘तपाईं–हामी सबै भोलिदेखि नै दललाई थप बलियो बनाउन गाउँ–गाउँ पसौं।’ पार्टीभित्र सभापतिको जति आलोचना गरे पनि दललाई बलियो बनाउने काममा सबै एक भएर लाग्नुपर्ने उनले बताए। भने, ‘मलाई जति आलोचना गर्नुहोस् केही छैन तर दलको हितमा लाग्नुहोस्।’

नौ दिनसम्म चलेको कांग्रेस महासमिति बैठकले पार्टीलाई नयाँ ऊर्जा र उत्साह थपेको बताउँदै देउवाले पार्टी विधान समावेशी भएको जिकिर गरे। ‘तपाईंहरूले सबै समुदायमा गएर हामीले गरेको व्यवस्थाको व्याख्या गर्नुस् र उहाँहरूलाई पार्टीको सदस्य बनाउनुहोस्,’ महासमिति सदस्यहरूलाई उनले भने। देउवाले पार्टीभन्दा देश ठूलो हुने उदाहरण दिँदै आफूले संविधान कार्यान्वयनका लागि जोखिम मोलेरै भए पनि निर्वाचन गराएको बताए। ‘यहाँ एकथरी संविधान कार्यान्वयन नै हुन नदिई सबै भाँडभैलो गर्ने योजनामा थिए, मैलै सबैलाई चिर्दै निर्वाचन गराएँ,’ उनले भने।

वरिष्ठ नेता पौडेलले व्यक्ति र गुटबाट माथि उठेर समग्र पार्टीका लागि राजनीति गर्नुपर्नेमा जोड दिए। ‘हामी एक भएर अघि बढ्नुको विकल्प छैन’, उद्घाटन सत्रमा देउवासँग हात मिलाउनसमेत कन्जुस्याइँ गरेका पौडेलले भने, ‘डुब्दा हामी (देउवा र म) सँगै डुब्थ्यौं। पार्टी अगाडि बढ्दा हामी सँगै अघि बढ्नेछौं।’ कम्युनिस्टहरूसँग लड्न कांग्रेसभित्रको आन्तरिक एकताको खाँचो छ भन्दै उनले भने, ‘नयाँ ढंगले अब दल अघि बढ्नेछ।

पारित विधानले पार्टीभित्रको थिचोमिचो अन्त्य गरेको छ।’ ‘अब पार्टीभित्र तपाई–हामी सबै आफ्नो क्षमता र मिहिनेतअनुसार स्थान पाउनेछौं,’ पौडेलले भने, ‘कांग्रेसले बनाएजस्तो लोकतान्त्रिक र समावेशी विधान विश्वमै छैन। यो हाम्रो उत्कृष्ट उदाहरणको रूपमा रहनेछ।’ कांग्रेसको विधानले यस्तो बनाएको छ, त्यहाँ अब कसैको मनोमानी चल्नेवाला छैन।

कांग्रेस नेत्री तथा केन्द्रीय सदस्य सुजाता कोइरालाले सभापति देउवाको बचाउ गर्दै पार्टी नेतृत्व तहमा अनावश्यक आलोचना नगर्न सबैलाई आग्रह गरिन्। कोइरालाले सभापति देउवाको नेतृत्वमा देशमा तीन तहको निर्वाचन सम्पन्न भएको भुल्न नहुने बताइन्। पार्टीभित्र आफूहरू सबै एक भएको पनि उनले बताइन्। ‘तपाईंहरूले व्यक्तिगत आलोचना गर्न सक्नुहुन्छ तर पार्टीको सवाल आउँदा हामी सबै एक हुनुपर्छ,’ उनले भनिन्।

विधानसहित ५ प्रस्ताव पारित

पार्टीभित्र तीव्र विवादमा फसेको नयाँ विधान महासमिति बैठकले आइतबार सर्वसम्मत पारित गरेको छ। गत शुक्रबार अबेर राति केन्द्रीय समितिले पारित गर्दै शनिबार महासमितिमा कांग्रेसको विधान मस्यौदा प्रस्तुत गरिएको थियो। पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको नयाँ संरचनाको सांगठनिक अवस्थादेखि पार्टीको अन्य अवस्थाबारे पुनर्विचार गरेर बनाइएको विधानमाथि केन्द्रीय तहमै असहमति देखिएपछि महासमिति नै प्रभावित भएको थियो। तर, केन्द्रीय सबै पदाधिकारी निर्वाचित गर्ने सहमति भएपछि विधान मस्यौदा केन्द्रीय समितिबाट पारित भएको हो। यो मस्यौदा पारित गर्न युवा नेताहरूले निर्वाह गरेको भूमिका अहम छ।

केन्द्रीय समितिका सदस्यहरूसमेत वडा तहबाट निर्वाचित भएर आउनुपर्नेमा सबैको जोड थियो। तर, महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले बैठकमा उठेका मुद्दा जायज भएको भन्दै विस्तारै सबै विषय सम्बोधन हुँदै जाने बताए। राजनीतिक, आर्थिक नीति, सांगठनिक र पार्टीको आन्तरिक लेखासम्बन्धी प्रस्ताव महासमिति बैठकले सर्वसम्मत पारित गरेको छ।

गच्छदार एकीकरण टुंगियो

विजय गच्छादारसँगको एकीकरणमा एक वर्षअघि भएको सहमतिलाई महासमिति बैठकले अनुमोदन गर्दै उनको उपसभापति पदलाई वैधानिकता दिएको छ।

उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको समितिलाई तलसम्म विवादरहित ढंगले समायोजन गर्न जिम्मेवारी तोक्दै महासमितिमा गच्छादारको दलबाट आएका दुई सय जना नेतालाई कांग्रेसको महासमिति सदस्यका रूपमा स्वीकार गरेको छ।

जम्बो कांग्रेस केन्द्रीय कार्यसमिति

कांग्रेस विधानले १४ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ। पदाधिकारीमा १ सभापति, २ उपसभापति महामन्त्री २ सहमहामन्त्री ८ (कलस्टरसहित समावेशी तर निर्वाचित) मनोनीत १ कोषाध्यक्ष रहनेछन्। २० प्रतिशत सभापतिले मनोनीत गर्ने गरी १ सय ५३ सदस्यीय केन्द्रीय समितिको परिकल्पना पनि विधानले गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.