इन्डोनेसियामा ज्वालामुखीको खतरा अझै, उडानमा प्रतिबन्ध
जकार्ता : इन्डोनेसियामा ज्वालामुखी विस्फोटबाट निस्केको मुस्लोका कारण प्रभावित क्षेत्र आसपास कुनै पनि उडान नगर्न सचेत गराइएको छ । साथै यहाँ फेरि ज्वालामुखी विस्फोट हुनसक्ने भन्दै सचेत गराइएको छ ।
जाभा र सुमात्रा क्षेत्रको बीचमा पर्ने अनक क्रकताउ ज्वालामुखीबाट निस्केको मुस्लो अझै फैलिएपछि अधिकारीहरुले त्यस क्षेत्रमा उडान प्रतिबन्ध लगाएका हुन् ।
यसअघि बन्देज लगाइएको क्षेत्रमा थप खतरायुक्त क्षेत्र घोषित गर्दै बिहीबार सचेत गराइएको हो । पूर्वघोषित क्षेत्रभन्दा ५ किलोमिटर थप क्षेत्रमा खतरायुक्त भन्दै सरकारले घोषणा गरेको छ ।
ज्वालामुखी विस्फोटबाट सुनामी आउनसक्ने भन्दै समुद्री तट क्षेत्रमा समेत अझै नजान सरकारले आग्रह गरेको छ । इन्डोनेसियामा यही साता ज्वालामुखी विस्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको संख्या ४ सय ३० पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
१ सय ५९ जना हराइरहेका छन् भने २० हजार संख्याको हाराहारीमा विस्थापित भएका छन् । यस्तै १५ सय मानिस घाइते भएका छन् ।