अमेरिका त्यागेर अर्गानिक खेतीमा
काठमाडौं : अमेरिकाको भिसा गोजीमा बोकेर युवा व्यवसायी पेम्बा शेर्पा (संगम) १० वर्षदेखि अर्गानिक खेती गर्दैै आएका छन्। चाहेर पनि विषादी बिनाको खाद्यवस्तु खान नपाइने भएपछि चिन्तित बनेका यी युवाले काठमाडौंको कपनमा २५ रोपनी जग्गामा अर्गानिक खेती गर्दै आएका हुन्।
हिजोआज बीउदेखि बिरुवामै विषादी प्रयोग हुने गर्छ। ‘विषादी प्रयोगमा सुधार नगरे मानवजीवन कस्तो अवस्थामा पुग्ला? ’, पेम्बा प्रश्न गर्छन्। पेम्बाले पत्नी बन्दी शेर्पासहित दुई छोरी र एक छोरालाई अर्गानिक खेतीमा आवद्ध बनाएका छन्। उनी परिवारको जीविकोपार्जन यसै खेतीबाट गर्दै आएको र वार्षिक खर्च कटाएर पाँच लाखभन्दा बढी आम्दानी गर्ने गरेको पेम्बाले बताए।
कपन अर्गानिक फर्मले १० जनालाई रोगजार दिएको छ। दुई गाई, २५ बाख्रा र सयभन्दा बढी कुखुरा छन्। पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले विदेशमा युवाले गर्ने श्रमलाई अस्वीकार गर्दै आएका छन्। २०१६ देखि २०२१ सम्मको अमेरिकाको भिसा साथमा राखेर नेपालमै मेहेनत गर्ने उदाहरणीय युवा हुन् पेम्बा। बीउमा मात्र नभएर उम्रिन लागेको बिरुवादेखि विषादी प्रयोग गरी उत्पादित अस्वस्थकर खाद्यवस्तु खान आमनेपाली बाध्य छन्। यसलाई सुधार गर्न राज्य पक्षले समेत चासो नदेखाएको उनको दुखेसो छ। दम्पत्ति ‘पसिना आफ्नैं देशमा बगाऔं’ भनेर काम थालेको बताउँछन्।
मैवाखोला–४ साँघु ताप्लेजुङका पेम्बाले १० वर्षदेखि कपनमा अर्गानिक फार्म हाउस स्थापना गरी तरकारी, साग, धान, उत्पादन गर्दै आएका छन् भने कुखुरा, गाई, बाख्रा पालेर कम्पोस्ट मल उत्पादन र यसैबाट आम्दानी लिँदै आएका छन्। युवा र विद्यार्थीले अवलोकन गरिसकेको फार्मलाई कृषि क्षेत्रको प्रयोगात्मक कक्षा लिन सकिने उनको भनाइ छ। विदेशीले अर्गानिक खानामात्र रोज्ने गरेकाले त्यसबाट प्रभावित भएर खेती सुरु गरेको टुरिस्ट गाइडसमेत रहेकी बन्दी शेर्पाले बताइन्।
प्रतिक्रिया दिनुहोस !