ढकाल हत्याका अभियुक्त सार्वजनिक

हेटौंडा : मकवानपुर प्रहरीले सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेका अभियुक्त सार्वजनिक गरेको छ।
हत्यामा संलग्न भएको आशंकामा प्रहरीले हेटौंडा १९ का १९ वर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका १ बस्ने १८ वर्षीय प्रविण वाइवालाई शनिबार बिहान सार्वजनिक गरेको हो।
पुस २५ गते साँझ ढकालको पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ स्थित भैरडाँडा जाने सडकबाट करिब ८० मिटर नजिकै ढकालको शव भेटिएको थियो।
‘जंगलबीच बसिरहेका वाइवा र पुडासैनीलाई देखेर ढकालले जंगलमा नबस्नु भन्दा बिबाद हुँदा धकेलेर ढकालको हत्या गरी उनको साथमा रहेको मोवाइल, सुनको औठी, हार्डडिस्क र साथमा रहेको पाँचसय रुपैयाँ लिएर भागेको अभियुक्तले स्वीकार गरेका छन्’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले भने,‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा प्रहरीले मृतक ढकालको साथबाट हराएको मोबाइल खरिद गर्ने मकवानपुरको भीमफेदी गाउँपालिका ६ बस्ने दिनेश मोबाइल एण्ड इलेक्ट्रोनिक सेन्टरका सञ्चालक ३१ वर्षीय दिनेश थापा मगर र औंठी खरिद गर्ने हेटौंडा २ बस्ने नारायणी सुनचाँदी पसलका संचालक ४८ वर्षीय नारायणबहादुर सुनारलाई पनि पक्राउ गरेको छ।
‘प्रविधिको प्रयोग गरी हामीले घटनास्थलमा त्यस समय रहेका मोवाइलको नेटवर्क, सुन र मोवाइल खरिद गर्नेसँगको अनुसन्धानबाट हत्यारा पत्ता लगाएका हौं’, डिएसपी भट्टराईले भने, ‘असल नागरिकको हैसियतले जंगलबीच बसिरहेका केटालाई सम्झाउने क्रममा ढकालको हत्या भएको देखिन्छ।’
हत्यामा संलग्नता रहेको स्वीकार गरेका पुडासैनीले आफूहरु बसिरहेको स्थानमा आएर सम्झाउन खोज्दा बिबाद भएको बताए। ‘तिमीहरु जे पायो त्यही खाएर जंगलमा नबस, प्रहरीलाई खबर गरिदिन्छु भन्यो’, उनले भने, ‘मोटरसाइकल घुमाएर फर्कन लाग्दा हामीले खोल्चामा धकेलेर हत्या गरेका हौं।’
हत्यामा संलग्नहरुलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर अन्र्तगत मुद्दा दायर गरिने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
सञ्चारकर्मी ढकालको हत्यामा संलग्नता रहेको स्वीकार गरेका अनमोल पुडासैनी र प्रविण वाइवा। साथमा मोवाइल र औंठी खरिदकर्ता। तस्बिर : अन्नपूर्ण
प्रतिक्रिया दिनुहोस !
