कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल
महेन्द्रनगर: कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित भएका छन्। संघको १६ औं कार्यकारी समितिका लागि भएको निर्वाचनमा मल्ल अध्यक्षमा चुनिएका हुन्। १० औं कार्यसमितिबाट सदस्य पदमा निर्वाचित भएर उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गरेका मल्ल सचिव, महासचिव, उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा निर्वाचित भएका हुन्।
आफ्ना प्रतिद्वन्दी सञ्जीव चन्द्र भट्टलाई २ सय ७७ मतको अन्तरमा पराजित गर्दै मल्ल अध्यक्षमा निर्वाचित भएका हुन्। मल्लले कुल १ हजार ६ सय ५८ मत र सञ्जीव चन्द्र भट्टले १ हजार ३ सय ८१ मत प्राप्त गरे। मल्ल र भट्ट दुबै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। बाँकी ६ जना पदाधिकारीमा भने भट्ट प्यानलकै विजयी भएका छन्।
मल्ल प्यानलबाट मल्ल मात्रै अध्यक्षमा निर्वाचित भएका हुन्। बरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी, वाणिज्य उपाध्यक्षमा मदन राज पन्त, उद्योग उपाध्यक्षतर्फ हेमराज जोशी, महासचिवमा बाबुदेव जोशी, सचिवमा गणेश दत्त चटौत, कोषाध्यक्षमा निर्मला भट्ट (सापकोटा) निर्वाचित भएका छन्।
७ जना कार्यसमिति सदस्यमा यज्ञराज भट्ट, विवेकराज जोशी, धीरजबहादुर चन्द, चेतराज जोशी, कृष्णानन्द भट्ट, कृष्णदेव भट्ट र महेशराज जोशी निर्वाचित भएको कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्टले जानकारी दिए।
चार हजार ६६ मतदाता रहेको वाणिज्य संघमा शनिबार भएको मतदानमा कुल ३ हजार ८५ मत खसेका थिए। खसेका मतमध्ये ३७ मत बदर भएका थिए।