अर्जेन्टिनी फुटबलर सालाले जहाज खस्दै गर्दा पठाएको त्यो अन्तिम भ्वाइस म्यासेज...
पेरिस : प्रभावशाली अर्जेन्टिनी फुटबलर एमिलियानो सालाले हराउनुअघि पठाएको ह्वाट्सएप भ्वाइस म्यासेज सार्वजनिक भएको छ । जहाज जटिल अवस्थामा उडिरहेको अवस्थामा उनले पठाएको भ्वाइस म्यासेज सार्वजनिक भएको हो ।
प्रारम्भिक सन्देशमा उनले आफू आत्तिएको बताएका छन् । उनले आफ्नो साथीमार्फत उक्त सन्देश अरु कसैलाई पठाएर आफूलाई खोज्न समेत आग्रह गरेका छन् । २८ वर्षे सालाले आफू हराउनुअघि स्पेनिस भाषामा मधुरो र दबेको स्वरमा बोल्दै सन्देश पठाएका थिए, ‘केटा हो, कस्तो हुँदै छ ? भाइ, अहिले म साँच्चै थाकेको छु । अब म कार्डिफमा जाँदै छु । भोलि नै जाँदै छु म । र आफ्नो नयाँ टीमसँग तालिम लिने छु ।’
अर्को सन्देशमा भने उनले आफू ‘आत्तिँदै गरेको’ भन्दै आफन्त र साथीभाइलाई सन्देश पठाएका छन् । उनले आत्तिँदै ह्वाट्सएप ग्रूप च्याटमा भनेका छन् : म जहाजमा छु, जुन खस्दै गरे जस्तो देखिन्छ ।
सालाको खोजीमा मंगलबार र बुधबार दिनभर पनि जहाज, हेलिकप्टर र डुंगा परिचालन गरियो । च्यानल आइसल्याण्ड एयरका प्रमुख जोन फिट्जरल्याण्डले भने साला जीवीत भेटिनेमा आफू आशावादी नरहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘म व्यक्तिगत रुपमा आशावादी छैन ।’
फ्रेन्च क्लब कार्डिफमा साइन गरेपछि नयाँ टीमबाट खेल्ने तयारीका लागि वेल्सतिर जाँदै गर्दा साला चढेको विमान हराएको हो । उनका समर्थक र साथीभाइले भने आफू अझै उनको जीवनको लागि प्रार्थना गरिरहेको भन्दै प्रतिक्रिया दिएका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उनको क्लबले जहाज बूक नगरेर उनी आफैँले खर्चको जोहो गरेका थिए ।
सन् २०१५ मा क्लबमा जोडिएसँगै साला एक्लैले लीगका लागि ४८ गोल गरिसकेका छन् । प्रभावशाली अर्जेन्टिनी खेलाडी सालाको जीवनका लागि उनका प्रसंशक र शुभचिन्तकले प्रार्थना गरिरहँदा उनको अहिलेसम्मकै अन्तिम सन्देशले थप दुखी बनाएको प्रतिक्रिया आएको छ ।