म्यानचेस्टर सिटी फाइनलमा : दुई खेलमा विपक्षीको पोष्टमा १० गोल
लन्डन : म्यानचेस्टर सिटी इङ्लिस लिग कप फुटबलको फाइनलमा पुगेको छ। ‘काराबाआ कप’ को नामबाट चर्चित उक्त प्रतियोगिताको बिहीबार बिहान खेलिएको सेमिफाइनलको दोस्रो लेग खेलमा म्यानचेस्टर सिटीले बर्टन अल्बियोनलाई १-० गोलले हरायो।
उक्त नतिजासँगै म्यानचेस्टर सिटी १०-० कूल गोल भिन्नताका आधारमा प्रतियोगिताको फाइनलमा पुगेको हो। यसअघि घरेलु मैदानमा खेलिएको सेमिफाइनलको पहिलो लेग खेलमा म्यानचेस्टर सिटीले बर्टनलाई ९-० गोलले हराएको थियो।
बर्टनको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो एग्वेरोले २६ औं मिनेटमा निर्णायक गोल गरेका थिए। उनले रियाद माहरेजको पासमा गोल गरेका हुन्। प्रतियोगिताको साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीले अब उपाधिका लागि चेल्सी वा टोट्टनहामसँग उपाधिका लागि भिडन्त गर्नेछ।
म्यानचेस्टर सिटी लगातार दुईपटक लिग कपको फाइनलमा पुगेको यो पहिलो अवसर हो। पछिल्लो पटक सन् २००८/०९ र सन् २००९/१० सिजनमा म्यानचेस्टर युनाइटेड लगातार दुई पटक लिग कपको फाइनलमा पुगेको थियो। ती दुबै अवसरमा म्यानचेस्टर युनाइटेडले उपाधि पनि जितेको थियो।
लिग कपको इतिहासमा म्यानचेस्टर सिटीले सेमिफाइनलमा हासिल गरेको यो सबैभन्दा ठूलो गोल अन्तरको जित हो। यसअघि म्यानचेस्टर सिटीले सन् २०१४ मा वेस्ट हामलाई सेमिफाइनलमा ९-० कूल गोल भिन्नताका आधारमा हराएको थियो।
म्यानचेस्टर सिटीले लगातार चार सय ७६ मिनेटसम्म कुनै पनि टोलीसँग एक गोल पनि खाएको छैन। यसबीचमा म्यानचेस्टर सिटीले विपक्षीको पोष्टमा भने २४ गोल गरेको छ। पछिल्लो पटक जनवरी ३ तारिखमा लिभरपुलका रोबर्टो फर्मिनोले म्यानचेस्टर सिटीविरुद्ध गोल गरेका थिए।
यसैगरी लिग कप फुटबलमा पनि म्यानचेस्टर सिटीले पछिल्लो पटक क्वार्टरफाइनलमा लेस्टर सिटीसँग एक गोल खाएको थियो। त्यतिबेला लेस्टर सिटीका मार्क अबलब्राइटनले म्यानचेस्टर सिटीविरुद्ध गोल गरेका थिए।
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्ना खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको दाबी गरे। ‘मैदान निकै चिप्लो थियो तर, मेरा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। हामीले पाएका केही गतिला अवसरलाई भने सदूपयोग गर्न सकेनौं’, प्रशिक्षक ग्वार्डिओलाको कथन थियो।