निम्ताहरूको बुमेराङ

निम्ताहरूको बुमेराङ

आफ्नो कार्जो

२०७५ सालको सुरुदेखि नै म पाठकयात्राको कार्जोमा बढी व्यस्त छु। कतिमा त अभिभावक नै हुनुपर्ने जिम्मेवारीसमेत पाएको छु।

चन्द्र इङनामको ‘बन्दरगाहमा आमा’ असारमा प्रकाशन भयो। उनको यो उपन्यासले लाहुरे संस्कृतिले पारेको प्रभाव, सामाजिक सुधारजस्ता विषय उठान गरेको छ। एक एकल महिला आमाको जीवन भोगाइलाई छोराको आँखाबाट कथा भन्ने शैली नयाँ छ। तर, इङनाम साहित्यिक वृत्तबाट नितान्तै टाढा छन्। गुमनाम नै। उसै पनि उनी विदेशमा छन्। उनको कृतिको चर्चा गर्ने जाँगर वा इच्छा कसैले चलाउने भएनन् नै। प्रकाशन संस्था ‘इन्डिगो इन्क’ले प्रकाशन–जिम्मा लिएको हो, कसो गर्दै छ ? उसैको भरोसा मात्रै छ।

वियस राईको ‘हिउँमाझी’ मंसिरमा आयो। यो कथाकृति नयाँ स्वाद बोकेर आएको कृति हो। हिमाल चढाउनेहरूको कथा मात्रै होइन, उनीहरूको अर्थ–मनोविज्ञान, संवेदना, पहिचानको हिस्सासमेत खोज्छन् कथाहरूले। साथै हाम्रो खास यतिबेलाको राजनीति, संक्रमण र विसंगतिहरूलाई मिहिन ढंगले पर्गेल्छन् वियसका कथाहरूले। यिनका कथाहरू विस्तारै पाठकहरूमा प्रिय बन्दै आइरहेका छन्। तर, ‘भाइरले मिडिया’को पछि कुद्नेहरू भने बेखबर भइरहेका छन् कि भन्ने आभास हुँदो छ। वियस पनि यसअघिका दिनहरूमा साहित्यिक वृत्तमा नदेखिएका लेखक हुन्। यिनलाई त्यो वृत्तले नचिनेको छ। तब गाह्रो भइरहेको हो कि ?        यस्तै लाग्दो छ। नयाँलाई होइन, स्थापितकै गनगन मात्रै सुनिरहने हाम्रो ‘मिडिया मेनु’लाई के वास्ता र ?        ‘फिनिक्स बुक्स’ले बजारमा जोरी खोज्दै नै होला, आशा गरौं।

‘फिनिक्स बुक्स’ले नै सुष्मा रूपाबुङ राईको उपन्यास ‘लाहुरेनी फूल’लाई पुसको दोस्रो साता सार्वजनिक गर्‍यो। सुष्मा स्वयम् सामाजिक सञ्जालमा समाजसेवी महिला भनेर चिनिन्छिन्। उनका शुभचिन्तकहरूले एक नयाँ ‘लेखक’ पाएर औधी खुसी मानिरहेको देख्न, बुझ्न सकिन्छ। ‘लाहुरेनी फूल’ प्रेमकथा हो। तर, प्रेमकै पृष्ठभूमिबाट सामाजिक न्यायका सन्दर्भमा झिनामसिना ठानिएका या असरोकार मानिएका गम्भीर कुराहरूलाई बेजोडले उठान गरिएका छन्। उपन्यासलाई पाठकहरूले आफसेआफ पछ्याउँदै आइरहेको देखिँदै छ। यो एकदमै खुसीको कुरा हो। विमर्श कति होला ?        त्यो त गर्दै जाउँला नै क्यारे।

त्यसो त नरेश काङमाङको ‘११ नाभेम्बर’ र मीनराज वसन्तको ‘पिपिरी’ अन्तिम तयारीमा जुट्दै छन्। ललित विष्टका कथाहरू भर्खर मात्रै पढ्न थालेको छु। ‘मैले बोल्दै गर्दा यो देशको नक्सा हल्लिन्छ’लगायतका धमेन्द्र नेम्बाङकृत् कविताहरू जो प्रकाशनको ढोकैमा छन्। तिनले मेरो मगज बेजोडले हल्लाएका छन्। प्रकाश गुरागाईंको ‘खुट्टामा श्रीपेच (कविता संग्रह)’को पाण्डुलिपिले धारिलो बनाएको छ। यसो हुँदा त मुक्तान थेबाको ‘अखण्ड आलाप’को घनीभूत विमर्शमा भाग लिन सकिएको छैन। देवराज भन्तनाको ‘मोनालिसा’ र शिव बस्यालको ‘विस्मिता’– यी दुवै उपन्यासहरूले प्रेमलाई आधारभूमि बनाए पनि अहिलेको समाजमा अन्तर्निहित युवा–मनोविज्ञानलाई करप्पै समाएका छन्। लता कार्कीको ‘उल्टा पाइला’ कविता–कृतिले पनि धेरथोर न्यायको कुरा गरेकै छ। तर, यो दलाल बजारको अगाडि यी प्रतिभाहरूलाई छिचोलिन निकै नै कठिन भइरहेको लाग्छ। मन कहाँ थामिन्छ ?        तब ‘कुकुर कविता’ अभियानमा सहभागी हुनु, ‘फरक आयाम’सँग उठबस गर्नु, ‘उन्मुक्त पुस्ता’सँग साक्षात्कार गर्दै नवीन आन्दोलनहरूको एकीकृत राँको बाल्न तयार रहनु आदिको कार्जोमा समय त बितिहाल्दै रहेछ। अनि यतातिर चाहि“ ‘बोल्नै छाड्यो’ भन्ने पो ठान्न थालिएछ।

आएका निम्ताहरू

एकजना प्रिय कवि छन्, उनी पहिचानकै पक्षमा कविता लेख्छन्। सीमान्तमा पारिएकाहरूकै पक्षमा उनका सिर्जनाहरू आउँछन्। तिनको भर्खरै कृति पनि आएछ, पछि थाहा भयो।

‘साहित्यमा मूलधार र फरक धार भन्ने नै हुँदैन,’ ती प्रिय कविले बेलायततिर उड्नेबेला एक ‘अन्लाइन’मा गफ हाँकिहाले। ए तेरिमा नि ! यो त सत्ताधारीहरूले, सत्ताको तमाम स्वाद चाखेकाहरूले बोल्ने भाषा पो हो। हामी त यसैको सिकार भयौं, यसैले हामीलाई सीमान्तमा पार्‍यो। यसैको लागि हामी पहिचानको लडाइँ लडिरहेका छौं। आफूलाई मूलधारे ठान्नेहरूको हाउगुजीमा दुईचार फेसबुके ‘लाइक’ र ‘कमेन्ट’ बटुल्नलाई के बिघ्न अत्तरिलो भइहाल्नुपर्ने हो ?        उपेन्द्र सुब्बाको कविताजस्तै ‘एक मुठी जङ’ त चलेकै हो। तर, ती प्रिय कवि स्वयम् चाहि“ बेलायतको ‘रातो पासपोर्टधारी’ हुन् भन्ने बुझ्नमा आएपछि उनको उल्याइमा खासै चासो दिनुपर्ने मनसाय राखिएन।

पोखराको एक साहित्यिक भेलामा एक अग्रज लेखकले भने– ‘आयामेली आन्दोलनपछि अनेक नाममा अनेक आन्दोलन भए, सिर्जनशील अराजकता नै भन्नुस् न, बैरागी काइँलाले २०२० तिरै लेखिसकेको कुरा सिर्जनशील अराजकताका नाममा नयाँ थिएन। त्यही नामलाई पछ्याएको भए, दुवै रहने अवस्था थियो। न अब त्यो रह्यो, न यो रह्यो।’ ती लेखकले फेवातालकै किनारामा बसेर भन्दै गरेको सुनियो, देखियो। तालको किनारामा बसेर बेतालका कुरा गर्ने ?        कहिलेदेखि उनी यस्ता हिर्दोक भए ?        झाँको झार्ने मन भएकै हो। फेरि अर्को मनले चिन्ता व्यक्त गरिहाल्यो। जे भए पनि अग्रज हुन्, जिस्कन्छन् नि बूढा मान्छे। थामिएँ आफैं। अझ उनी स्वयं ‘अमेरिकी ग्रिन कार्डधारी हुन्’ भन्ने धेरैको कुरा आएपछि छाडिदिऊँ यस्ता चानचुने कुरा भन्ने भयो।

यहीबेला सरिता तिवारीले उपेन्द्र सुब्बाबारे अन्नपूर्ण पोस्ट्को ‘फुर्सद’मा लेखिन्। उनको लेखमाथि हाङयुग अज्ञातले ‘फुर्सद’मै बोलिसकेकै छन्। उपेन्द्रजी र मैले हाङयुगकै साक्षी–किनारामा उभिइदिने हो। हस्ताक्षर गरिदिएकै छौं।

उपेन्द्रजीले पोखरामा भने झैं ‘खासमा त हामीले बम नै पड्काउनुपर्ने हो। कायर भयौं र कविता लेख्न थाल्यौं।’ साँच्चै हामीले गलत पो गर्‍यौं कि ?       

यही सेरोफेरोमा ‘पहिचान पुरुस्कार’ को मनोनयनमा परेका कृतिहरू सार्वजनिक भए। त्यसपछि त घुर्की, बजारिया अनुमान वा मत–अभिमत। हाँस उठ्यो, दुःख लाग्यो र घरिघरि त उदेक नै भयो। कोही विवाद गर्छन्, कोही नतमस्तक हुन्छन्। यस्तो चल्दो नै रहेछ। यस्तो रोइलो या किस्सा संसारभरकैपुरुस्कारहरूको नियतिमा भइरहन्छ नै। यहाँ पनि भयो। प्राविधिक कमजोरी त ‘पुरुस्कार कोष’ले गरेकै हो। केही हद सच्याए। अझै सच्याउलान्, सच्याऊन्। मिल्दै गइहाल्छ। तर, कोषका संस्थापक नरेश काङमाङ भने गम्भीर दुःखी भए। उनले भने– ‘पिण्ड खाने पुरुस्कार होइन, पहिचान  पुरुस्कार। यो त उत्पीडितहरूको रगतसहितको पसिनाले स्थापित गरेको ० पुरुस्कार हो। पहिचान गुमाएकाहरूका पक्षमा लेखिएका कृतिलाई दिइने  पुरुस्कार हो। आफैंलाई घनीभूत विद्वान् हुँ भन्ने दाबी गर्दै लेखिने कृतिका लागि होइन यो  पुरुस्कार।’

अन्ततः यो वर्ष ‘आफर’ र ‘नथिया’ले पहिचान  पुरुस्कार जिते। अघिल्लो वर्ष यज्ञशको ‘भुइँया’ले पाएको थियो।

यहीबेला सीमा पारितिरका एक कविले सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’लाई ‘भारतको गल्लीगल्लीमा लेखिने कहानीजस्तो मात्रै हो’ भनेर दज्याउन भियाए। त्यस्तो अभिव्यक्ति दिए। तब त झनन भइहालिन्छ। जो आफू स्वयं पश्चिम बंगालको हेपाहा व्यवहारसित ‘इन्चिभर’ लड्ने काबियत राख्दैन, उसैले यसो भनेपछि धीत मरुन्जेल हाँस्न नि सकिएन। यस्ता नाथे ठेट्नो ठट्टा गरेर साहित्यको समृद्धि कसरी हुन्छ र ?       

अनि त यहींनेर सम्झिएँ– त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागले गरेको ‘साहित्य र समाज’ नामक कार्यक्रममा प्रा. चैतन्य मि        श्रले ‘ओपनिङ स्पिच’मा भनेका थिए, ‘उपन्यास त कुमार नगरकोटीले लेख्छन्।’ हामीले त झन् नगरकोटीलाई ‘फिक्सन डिजाइनर’ नै मानेका छौं नि ! उनै नगरकोटी कहिलेकाहीँ भन्छन्, ‘सामाजिक यथार्थ लेख्छु भन्नेहरूले नै साहित्य डुबाए।’ नगरकोटीको भनाइमा आंशिक सत्यता छ। हो त, उनले इंगित गरेको लेखनमा कला पक्ष कमजोर अवश्य छ। कर्कशता छ। अलि धेर नारा–जुलुस छ। के गर्नु त ?        मैनबत्ती बालेर निर्मला पन्तले न्याय नपाउँदी रहिछिन्। कति हद चर्को भएपछि मात्रै न्याय पाइने हो ?        अझै अनुमान गर्न सकिएको छैन।

धर्मेन्द्र नेम्बाङका अनुसार, अहिले नेकपा नामको ‘दाओवादी’ सरकार छ। एमाले–माओवादी मिसिएको ‘दाहाल–ओलीको दाओवाद।’ ठीक यतिबेला चैतन्य मिश्र यही ‘दाओवादी सरकार’का ‘थिंक ट्यांक’ छन्। केही समयअघि उनैले ‘फुर्सद’मै ‘मध्यम वर्गीय मिमांसा’ छरेका थिए। उनका अनुसार, ‘मध्यम वर्ग संगठन गर्दैन, सपना देख्दैन, संगठित हुँदैन’ आदि–इत्यादि। वास्तवमा उनले भनेको त्यो वर्ग ‘मध्यम’ हुँदै होइन। त्यो त ‘भाइरले जमात’ मात्रै हो। आफू सदा सिसमहलमा बस्ने, सिसाकै भित्रबाट बाहिर जति देखिन्छ, त्यतिलाई नै पुँजीवादी दृश्य देख्ने दृष्टिदोष मात्रै हो उनको। कम्तीमा यो देशको भुइँमा खाली खुट्टा टेक्यौं भने मात्रै काँडाले घोचेको थाहा हुन्छ र वर्गको दृष्टि प्रष्ट हुन्छ। हाम्रा नगरकोटीले चाहे भने भारतको गल्लीगल्लीमा पाइने कहानीहरू त एकै मिलिकमा लेखिदिन्छन्। तब हामी नेपाली लेखक–स्रष्टालाई खाँडो जगाउन किन पो इत्रिरहेको ?        दिल्ली त दूर होला, कम्तीमा बेनर्जीलाई एक पटक हाँक गरेर देखाऊ। नत्र अचैतन्य इजार कसिन्छ, गाँठो त परिहाल्छ। अझ आफ्नै इजारको लामो तुनाले अल्झिएर आफैं लडिन्छ पनि।

अझ यहीबेला

एक स्वघोषित दार्शनिक महोदयले उही ‘अन्लाइन’मा लेखे, ‘तपाईंको पुस्तक पढेर राजन मुकारुङ पहिचानवादी भएका हुन्।’ सुरुमा त त्यो ‘अन्लाइन’को के भरपर्नु र भन्ने भयो। जुन ‘अन्लाइन’ मान्छेको सिर्जनात्मकता होइन, आन्दोलन र संघर्ष होइन, उसका निजी जीवनका विवादहरू बटुलेर आफू ‘ट्रेन्डेङ’ हुन चाहन्छ। त्यसैको अफवाहलाई लिएर किन पो बखेडा गरिरहनु ?        यस्तै लागेको हो। तर, ती महोदय अझ उत्तेजित हुँदै थप्छन्, ‘सबै सुतेको बेला दार्शनिक ब्युँझन्छन्, सबै ब्युँझिएका बेला सुत्छन्। अहिले ब्युँझिएका छन्, हामी अरू नै बाटोमा लागिसक्यौं।’

थैट, भाग्ने कुरा ! तिनको ‘अरू नै बाटोमा लागिसक्यौं’ भन्ने कुराले फस्लक्कै बनाउँछ। अनि त भन्ने हो– यस्ता नाथे सुताहा दार्शनिक यतिबेला हामीलाई चाहिएको छैन। हो, हामी ब्युँझिएका छौं। योबेला भाग्ने ती हिजोका आगो महोदय आज त खरानी नै भइसकेछन्। जस्तो कि हिजोका प्रचण्ड आज छविलाल भइसके। ती महोदयलाई मैले उहिल्यै भनेको हुँ– तपाईंको आदिवासी विचारधारामा जसरी वनझाँक्रीको कथा भन्दै ओढार फर्कने कुरा गर्नुहुन्छ, त्यो आन्दोलन हाम्रो (आदिवासीको) हुँदै होइन। हामी त इतिहासलाई कठोरतापूर्वक समीक्षा गर्दै अगाडि जान चाहन्छौं। हामी कहाँ अन्यायमा पर्‍यौं ?        यति सोध्न र खोज्न चाहन्छौं। आफैंले आफ्नो इतिहास लेख्ने, देख्ने र बुझ्ने हो। हिजोका हाम्रा बगावतहरूको निया–निसाफ चाहन्छौं। तब समृद्धिवाला सपनाको ‘हिमवत्खण्डीय कविता’ र तिनको तर्कमा घोत्लिइरहनु आवश्यक रहेन अब।

ती दार्शनिकको अर्को तर्क छ– ‘स्थानीय सरकार आएपछि पहिचान मरेको बाघ भइसक्यो।’ यस्तो हार वा पराजयको निकृष्ट चिन्तन भनेको डरछेरुवाहरूले भन्ने हो। यस्तासँग के निहुँ झिकिरहनु ?        तिनले आफूलाई ‘पहिचानको बीउ’ ठानेका छन् र ‘वनसाङ्लेले घर साङ्ले लखेटिएँ’ भन्ने भयमय दुःख व्यक्त गरेका छन्। यहाँ यति नै भनुँ– वनसाङ्ले त हामी यो राज्यसत्ताको लागि थियौं, छौं। आज तिनैबाट पनि वनसाङ्ले नै भनिमाग्यौं। खासमा उनी आफैं किताब लेखेपछि बहस गर्न सकेनन्, आफ्नै भयले बरु देशविहीन हुनमै रमाए। जसरी असिना रोक्नका लागि हामी अगेनामा असिना पोल्छौं र आगो निभाउँछौं। यही कथाजस्तै रहेछन् उनी। नयाँ वादको नाममा आदिवासी अँगेनामा असिना पोल्ने। पारा मिलेन।

र अब हाम्रो निम्तो

माथिका कथनीहरूमा नियोजित रूपमै निम्ता गरिएको हो भन्ने निष्कर्ष छ। बहस त गरुम्। तर, जिस्किने मात्रै अभिप्राय चाहि“ राख्दै नराखूम्। उपेन्द्रजीले पोखरामा भने झैं ‘खासमा त हामीले बम नै पड्काउनुपर्ने हो। कायर भयौं र कविता लेख्न थाल्यौं।’ साँच्चै हामीले गलत पो गर्‍यौं कि ?       

‘बैरागी काइँलाले अचेतनवश लेखे, मैले चेतनावश लेखेँ,’ एकजना दाजै कवि यसै भनिरहनुहुन्छ। दाजैले आफूलाई ‘चेतनावश’ भन्नुको तात्पर्यतिर मैले झम्टिनु छैन। न त त्यस्तै कलिगढ हुनु नै छ। ती दाजैका कविता, गीतहरूले हामीलाई आन्दोलित हुन प्रेरित गरेकै हुन्। बरु ती दाजै पनि कुनै समय सत्ताको नजिक पुगेकै हुन्। उनले के के गरे ?        देख्न सकिएको होइन। तर, सत्ता र शक्तिमा हुँदा कुनै लछारपाटो नलाउने, हटेपछि भने त्यसैको सत्तोसराप गर्ने बानी मिल्दैन नै। यसले त हामीलाई नै लोभीपापी बनाउँछ र हाम्रै आन्दोलनलाई क्षय गराउँछ। यति हो बुझ्ने।

परिवर्तनले स्थापित गरायो कि गराएन ?        भइयो कि भइएन ?        ख्याल छैन। तर, परिवर्तनको आन्दोलनमा धेरथोर त हामीले पनि आफूलाई समाहित गराएकै हौं। त्यही परिवर्तनप्रति उपेक्षा राख्ने दुस्साहस हामीबाट हुनै सक्दैन। अरूलाई लघार्ने मनसाय कदाचित राखिन्न। बरु पहिचानको खेतका आली बिगार्ने ‘दाओवादी÷दाइँवादी’हरूलाई भने किञ्चित सहिन्न।

म त बैरागी काइँलाको ‘साबातको बैला उत्सव’ कविताले नै सबभन्दा पहिले प्रभावित भएको हुँ। त्यही कविता पढेर कवितामा हाम्रो आफ्नै लय, मिथ वा सांस्कृतिक बिम्बहरूको प्रयोग गर्न जोड मिलेको हो। हो, ती दार्शनिक महोदयको किताब पढेर पनि ऊर्जा मिलेकै हो, रोमाञ्चित भएकै हुँ। अहिले तिनले सम्झाए। तिनका ती कथित् छिमेकीलाई धन्यवाद छ। यति मात्रै थप्नु छ– अर्जापिनेहरू सधैं अर्जाप्नेहरूकै आकार बन्छन्। अरू त के भनौं र ?       

लि–सिन तियानको ‘चम्किलो रातो तारा’ उपन्यास पढेर ‘रेडिकल’ हुन सिकियो। अप्रिकन कविताहरू पढेर कति हद पहिचानवादी भइयो होला, त्यसको त लेखाजोखा नै नगरुम्। पहिचानको बाटो बिर्सेर, आफैंले लगाएको बाली त्यतिकै छोडेर, अरूतिरै लाग्दै ‘भयमय’ हुन थाल्नेहरूलाई ‘सेवारो’ गर्नू त भन्दै भनिन्न। अब त बहस नै गर्नका लागि युवा पुस्ताका टङ्क सेलिङहरू आइसकेका छन्, तिनैलाई अरू बल–तागत दिइन्छ। नयाँ नयाँ आवाजहरूका साथ अभियानहरू आउने क्रम जारी छ, तिनैलाई साथ दिइन्छ। पुरानाहरू, अग्रजहरूलाई भुल्ने होइन, तिनको सगर्व सम्मान पनि गर्ने हो। तर, नयाँ पुस्ताले ‘गरिनस्, सम्झिनस्’ भनेर आफैं मरिच हुन चाहि“ इमानले पनि मानिन्नँ।

महोदयहरू,

नयाँ पुस्तालाई कति गम्भीरताका साथ पढ्नु हुँदै छ ?        उनीहरू के सोच्दा रहेछन् ?        के खोज्दा रहेछन् ?        तिनका लेखनले न्यायको तराजु खोज्दै छ कि छैन ?        निर्मला पन्तहरूको किलकिले निमोठ्नेहरूसित उनीहरू कसरी जुध्दै छन् ?        नवीन प्यासी, निर्भिकजंग रायमाझी वा समर्पण        श्रीहरूको पुस्ताले कसरी बुन्दै छ कविता ?        आउनोस्, बहस र विमर्श गरौं। तपाईंहरूले नै निम्ता गर्नुभएको हो। अब तपाईंहरूलाई नै ‘बुमेराङ’ गरिदिएको छु। बस अहिलेलाई यति !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.