पीपीआरले बाख्रा मर्न थाले
धरान : सुनसरी सदरमुकाम इनरुवा आसपासका क्षेत्रमा किसानले पालेका खसीबाख्रामा पीपीआर रोगको प्रकोप देखा परेको छ। पीपीआर खसीबाख्रामा पखाला लाग्ने एक प्रकारको रोग हो। चिसो मौसमका कारण पीपीआरको प्रकोपका कारण खसीबाख्रा मर्न थालेपछि किसान चिन्तित बनेका हुन्।
किसानले रोग नियन्त्रणका लागि प्रभावकारी सहयोग पुर्याउन सरकारसँग माग गरेका छन्। चिसोका कारण खसीबाख्रा सुरुमा झोक्राउने र निरन्तरको पखालाले मर्न थालेपछि किसानलाई धेरै ठूलो नोक्सानी भइरहेको इनरुवा ९ बबियाका किसान दीपेन्द्र यादवले बताए। ‘राम्रो आम्दानी गर्ने लक्ष्यका साथ किसानले व्यावसायिक रूपमा खसीबाख्रा पाल्न थालेका थिए’, उनले भने, ‘पीपीआर रोगले धमाधम मर्न थालेपछि लगानी डुब्ने चिन्ता थपिएको छ।’
प्रकोपका कारण इनरुवाको बबिया क्षेत्रमा किसानले पालेका डेढ दर्जनभन्दा बढी खसीबाख्रा मरिसकेको अर्का किसान सजाद मियाँले बताए। रोग नियन्त्रणका लागि इनरुवा नगरपालिकाले किसानले पालेका खसीबाख्रामा खोप लगाउन सुरु गरिएको छ। नगरपालिका र केन्द्र बबियाले संयुक्त रूपमा किसानका घरमै गएर खसीबाख्रामा पीपीआरविरुद्ध खोप लगाउन सुरु गरेको हो।
पशु प्राविधिक गणेश मेहतासहितको टोलीले इनरुवाको बबिया क्षेत्रलगायत स्थानमा किसानको पायक पर्ने ठाउँमा घुम्ती शिविर सञ्चालन गरी पीपीआर नियन्त्रणका लागि खोप लगाउन सुरु गरिएको इनरुवा ९ का वडाध्यक्ष बसिरमुद्दिन मन्सुरीले बताए। किसानले पालेका खसीबाख्रा बचाउन खोप लगाउनै पर्ने उनको भनाइ छ।
बिहीबार मात्र इनरुवाका चार सयभन्दा बढी खसीबाख्रामा खोप लगाइएको मेहताले जानकारी दिए। ‘पीपीआरले खसीबाख्रा धमाधम मर्न थालेपछि खोप लगाइएको हो’, उनले भने, ‘रोग नियन्त्रण गर्न किसानका घरघरमा पुगेर खोप लगाउन थालेका छौं।’
प्रतिक्रिया दिनुहोस !