जाजरकोटमा बास माग्दै राउटे

जाजरकोटमा बास माग्दै राउटे

जाजरकोट : फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदायले जाजरकोटमा बास मागेका छन्। सुर्खेतमा बस्दै आएका राउटेहरू जंगलमा सिकार पाउन छाड्नुका साथै बसाई असहज भएको भन्दै जाजरकोटमा बास मागेका हुन्।

मंगलबार राउटे मुखिया लोकेन्द्रबहादुर शाही जिल्ला प्रशासन कार्यालय जाजरकोट पुगेर आफ्नो समुदायलाई जाजरकोटमा बसोबासका लागि अनुमति माग गरेका छन्। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई काठको कोसी उपहार दिँदै उनले बसाइसराइका लागि अनुमति माग गरेका हुन्।

सुर्खेतको दशरथपुरमा बस्दै आएकोमा सिकार गर्नका लागि बाँदर, गुनालगायतका जंगली जनावर नपाइने र कोशी, मधुस, खाटलगायतका काठका सामग्री बनाउने काठ पनि सकिँदै आएपछि जाजरकोट बसाइ सर्ने मनसाय प्रअिज समक्ष राखेका छन्। आफ्नो समुदायले जाजरकोटमा नै बस्ने निर्णय गरेकाले अनुमति दिन माग गरेका छन्।

जाजरकोटका जंगलमा सिकारका लागि जंगली जनावर पाइने र काठका सामग्री बनाउन जंगल पनि पर्याप्त देखिए पनि आफूहरू बसाइ सर्ने निर्णयमा पुगेको मुखिया शाहीले बताए। उनीहरूले भेरी नगरपालिकाका केही जंगलको समेत अवलोकन गरेका छन्।

‘दैलेख र सुर्खेत बस्न थालेको धेरै वर्ष भयो, मेरो जनतालाई अब म जाजरकोट बसाइ सार्छु। त्यसैको चाँजोबाँजो मिलाउन यहाँ आएको हुँ’ राउटे मुखिया शाहीले भने, ‘अबको केही समयपछि जाजरकोट आउँछौं, हामीलाई सिकार गर्न जाजरकोटमा गुना, बादर धेरै पाइन्छ।’

शाहीले सरकारले भत्ता दिन ढिलाइ गरेकोले आफूहरूलाई दाल, चामल, तरकारी जस्ता दैनिक उपभोग्य बस्तु अभाव भएको बताए। राउटेका मुखिया शाहीसँगै उनका नाती टेकराज शाही र भान्जा मानसिंह कल्याल पनिसँगै आएका थिए। राउटेका मुखियाले जिल्ला समन्वय समिति जाजरकोटका कार्यवाहक प्रमुख ज्ञानीप्रसाद आचार्य, प्रहरी नायव उपरीक्षक रविन्द्रबहादुर सिंह र नेकपा कार्यालय पुगेर नेतालाई भेटेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.