ट्रकले किच्दा नुवाकोटमा वृद्धको मृत्यु
नुवाकोट : नुवाकोटको महामण्डलमा गुडिरहेको ट्रकले किच्दा एक वृद्धको ज्यान गएको छ। प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।
विदुर–महामण्डल–फलाटे सडकखण्डमा रहेको विदुर नगरपालिका वडा नम्बर २ महामण्डलमा बुधबार अपरान्ह मालवाहक ट्रकले किच्दा पैदल हिँडिरहेका सोही स्थानका ७७ वर्षिय केदारबहादुर ठकुरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
वृद्धलाई किच्ने ट्रक चितवनवाट गल्छी हुँदै विदुरवाट नुवाकोटको ग्रामीण भेग फलाटेतर्फ कोइला बोकेर जाँदै थियो।
मृतकका आफन्त तथा स्थानीयवासीले लापरवाही तरिकाले मानवीय क्षति भएको जनाउँदै दोषीलाई कानुन अनुसार कारवाही र मृतकका आश्रित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन्। स्थानीयले विदुर–महामण्डल–फलाटे सडकमार्ग वन्द गराएका छन् भने पैदल हिडिरहेका वृद्धलाई ट्रकले ठाडै गएर किचेर हत्या गरेको विदुर–२ का स्थानीय युवा महेन्द्र श्रेष्ठले बताए।
घटनाको थप अनुसन्धान भइरहेको तथा ट्रक र त्यसका चालक मकवानपुर हेटौँडाका ५८ वर्षिय श्यामबहादुर महतलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले बताए।