बझाङमा वर्षासँगै हिमपात
बझाङ : यसवर्ष हिउँदेझरीसँगै दुईपटक पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार बिहानदेखि झरीपर्ने थालेपछि बझाङ जिल्लाको अग्ला डाँडाकाँडामा हिमपात भएको छ। सेती नदी छेउछाउका बस्तीमा हिउँ नपरेपनि छान्ना लेखगाँउ, चिरवित्थड, तल्कोट सुर्मा कडेल क्षेत्रका डाडाकाँडा र बस्तीमा हिउँ परेको छ।
सदरमुकाम चैनपुर नजिकै धामीलेख डाडाँमा रहेका बस्तीमा पनि हिउँ परेको छ।वर्षासँगै हिउँ पर्न थालेपछि अत्यधिक चिसो बढेको छ। मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् भने वस्तुभाउ पनि गोठमै छन्।
बझाङ आउने सडक श्रीभाव खोड्पेमा पनि हिउँ परेको हुँदा आज जिल्लाबाट धनगढी महेन्द्रनगर जाने यातायतका साधन गुडेका छैनन्। र जिल्ला बाहिरबाट आउने यातायतका साधन बाटोमै रोकिएको प्रहरीले जनाएको छ।
यही माघको दोस्रो साता पनि बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको थियो।पन्ध्र बीस वर्षयता यसरी लामो समय हिउँदे झरी र हिमपात नभएको जयपृथ्वी नगरपालीका १० का विरभान विकले बताए। भोलीसम्म यसरी झरी नरोकिए जिल्लाको तल्लो भेग सेती नदीको छेउछाउका बस्तीमा पनि हिमपात हुने संभावना रहन्छ।
हिमपात भएको बझाङ बैतडीको श्रीभावर क्षेत्र ।