गाउँपालिकाका लागि जग्गा छनौट
बैतडी : जिल्लाको सुर्नया गाउँपालिकाले गाउँपालिकाको भवन निर्माणका लागि जग्गा छनौट कार्य अघि बढाएको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार निशुल्करुपमा प्राप्त जग्गामध्ये उपयुक्त जमीन छनौट कार्य सुरु भएको गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टले बताए। उनले भने,'हामीले आह्वान गरेअनुसार चार पाँच ठाउँमा निशुल्क रुपमा गाउँपालिकाका लागि जग्गा प्राप्त गरेका छौं। उपयुक्त जग्गा छनोट गर्न प्राविधिक टोलीले अध्ययन गरेको छ।'
गाउँपालिकाका इन्जिनियर कपीलदेव भट्टको संयोजकत्वमा रहेको टोलीमा मालपोत कार्यालय, डिभिजन वन कार्यालय, नापी कार्यालय र पूर्वाधार विकास कार्यालयका प्रतिनिधि सहभागी छन्। 'गाउँपालिकाका लागि प्राप्त जग्यामध्ये हामीले सबै ठाउँमा अध्ययन गरेका छौं। हामीले गरेको अध्ययनका आधारमा गाउँपालिकालाई प्रतिवेदन बुझाउनेछौं,'टोलीका संयोजक कपीलदेव भट्टले भने।
सुर्नया गाउँपालिकाको यसअघि बसेको कार्यपालिकाको बैठकले पानी, विद्युत, सडक नजिक भएको र भौगोलिक रुपमा उपयुक्त जग्जामा कार्यालय भवन निर्माण गरिने जनाएको छ। 'प्राविधिक टोलीको अध्ययनबाट निस्केको प्रतिवेदनको आधारमा हामी उपयुक्त जग्गालाई कार्यालय भवन निर्माणका लागि कार्यपालिकामा पेश गर्छौं। कार्यपालिकाले पास गरेपछि गाउँसभाबाट निर्णय अनुमोदन भएपछि भवन निर्माणको कार्य अघि बढाउनेछौं।'
सुर्नया गाउँपालिकाले भवन अभावमा भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेकाले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको अध्यक्ष वीरबहादुर बिष्टले बताए।