महाकाली तर्न डुंगाको भर

महाकाली तर्न डुंगाको भर

डडेलधुरा : डडेलधुराको जोगबुडा क्षेत्र जोड्न महाकालीमा पुल नहुँदा स्थानीय मर्कामा परेका छन्। जिल्लाको भित्री मधेस क्षेत्र परशुरामधाम र भारतलाई जोड्न महाकालीमा पुल निर्माण नभएकाले डुंगाबाट वारपार गर्नुपरेको स्थानीय पुष्पा विष्टले बताइन्।

भारतको उत्तराखण्डमा रहेको पूर्णागिरि धाम र नेपालतर्फको परशुराम धामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक रहेको उनले बताइन्। उनी भन्छिन्, ‘छिमेकी मुलुक भारतबाट स्नानका लागि आउने पर्यटक पनि डुंगाकै प्रयोग गरी वारपार गर्छन्। यात्रा सुरक्षित नभएकाले उनीहरूको संख्या बढ्न सकेको छैन।’

कञ्चनपुरबाट परशुराम स्नानका लागि परिवारसँगै बालबच्चा ल्याएर परशुरामधाम आएका हर्कबहादुर धामीले पनि महाकालीमा पुल नहँदा समस्या भएको बताए। ‘महाकालीमा पुल नहुँदा डुंगा तरेर आउँदा एउटा बच्चा डुंगाबाट महाकालीमा खस्यो, तीन मिटर तलबाट प्रहरीले बच्चालाई नदीबाट उद्धार गर्न सफल भयो र ऊ बाँच्यो’, उनले भने।

कञ्चनपुरका धार्मिक पर्यटकका लागि टनकपुरको बाटो भएर परशुरामधाम आउन छोटो हुन्छ। स्थानीय नवराज भट्ट भन्छन्, ‘कञ्चनपुरबाट परशुराम क्षेत्र आउन, भारतबाट सहज हुन्छ, महेन्द्रनगरबाट बनवासा सय रुपैयाँ र बनबासाबाट टनकपुरसम्म १५ रुपैयाँ खर्च गरे परशुरामधाम पुग्न सकिन्छ तर महाकालीमा पुल नभएकाले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपरेको छ।’

महाकालीमा पुल निर्माण भए भारतीय धार्मिक पर्यटक र कञ्चनपुरका बासिन्दालाई सुविधा हुने उनले बताए। चुनावका बेला महाकालीको पुल एजेन्डा बन्ने र त्यसपछि हराउने परशुराम नगरपालिका–४ का खेमराज जोशीको गुनासो छ।

भन्सार नहुँदा व्यवसाय चौपट

महाकाली छेउमा रहेको छोटी भन्सार पनि सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएको छ। छोटी भन्सार कार्यालय पुनःस्थापना हुन नसक्दा डडेलधुराको आधा जनसंख्या भएको भित्री मधेस क्षेत्रका व्यवसायीको व्यापार चौपट भएको छ।

परशुराम नगरापालिका–५ परीगाउँ, बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय पुनःस्थापना नहुँदा स्थानीयलाई समस्या भएको छ।

महाकाली नदीपारि नजिकै भारतको टनकपुर रहे पनि छोटी भन्सार कार्यालय नहुँदा भारतीय सुरक्षाकर्मीले सामान ल्याउन नदिने व्यवसायीले बताएका छन्। जोगबुडा आसपासका व्यापारी कञ्चनपुर, कैलाली हुँदै भीमदत्त पन्त राजमार्ग भएर महँगोमा सामान ल्याउन बाध्य छन्।

जोगबुडा क्षेत्रबाट जिल्ला सदरमुकाम अमरगढीभन्दा भारतको टनकपुर नजिक पर्छ। छोटी भन्सार कार्यालयको पुनःस्थापना र पुल मात्रै बनेको भए डडेलधुराको आधा जनसंख्या रहको क्षेत्रको आर्थिक अवस्था सुधार हुने परशुराम नगरपालिका–४ का रामबहादुर विष्टले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.