ओली सरकार गतिहीन भयो : नेता पौडेल
भरतपुर : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गतिहिन भएको आरोप लगाएका छन्। सरकारले विधि विपरित काम मनलाग्दी गरेको भन्दै उनले आलोचना गरेका छन्।
नेपाल प्रेस युनियन चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले दुई तिहाईको सरकारबाट जनताले गरेको अपेक्षा पुरा नगर्दा जनतामा निराशा छाएको बताए।'यो सरकारको गति पनि छैन, विधि पनि छैन, मनलाग्दी गर्दै हिँडेको छ,' बरिष्ठ नेता पौडेलले भने, 'जनताले धेरै आशा गरेका थिए, दुई तिहाईको कम्युनिस्ट सरकार चुस्त दुरुस्त होला भन्ने सोचेका थिए, त्यो पुरा हुन नसक्दा जनतामा निराशा छाएको छ।'
उनले सरकारको गतिविधिको निगरानी सहित प्रतिपक्षको भूमिका कडा बनाउने समेत बताए। नेता पौडेलले पार्टीको विधानमा व्यवस्था भएअनुसार नेविसंघको नयाँ समिति पार्टीको केन्द्रीय समितिले तय गर्ने बताए। पार्टीमा वैचारिक मतभिन्नता भएपनि अहिले विवाद नरहेको बताए।
प्रतिक्रिया दिनुहोस !