गौरवमय अतीत, बदनाम वर्तमान

गौरवमय अतीत, बदनाम वर्तमान

मौका पाउनासाथ नेताहरू भ्रष्ट हुनु उनीहरूको बाध्यता हो कि खराब नियतको परिणाम ?


‘ऊ भ्रष्टाचारी आयो,’ हिजोआज ठूला पार्टीका शीर्ष नेतालाई देख्नासाथ सर्वसाधारणको मुखबाट अनायासै यस्तो वाक्य निस्कन्छ। यिनै नेताहरू केही वर्ष अघिसम्म देवतातुल्य पुजिन्थे। नायक–महानायक मानिन्थे। महानायकहरू देख्दादेख्दै खलनायकमा रूपान्तरित भएका छन्। यो कसैका लागि पनि सुखद दृश्य होइन। देशको भविष्यका लागि शुभ लक्षण पनि होइन। तर तीतो यथार्थ हो। तर किन यस्तो भयो ? किन निरन्तर यस्तो भइरहन्छ ? यो प्रश्न यतिखेर सबैको मनमा सुइरोझंै रोपिएको हुनुपर्छ।

आज राज्यका सबै अंग राजनीतिमा केन्द्रित भएका छन्। राजनीतिको केन्द्रमा तिनै नेताहरू छन्, जो तन–मन–धनले राष्ट्र र जनताको सेवा गर्ने पवित्र उद्देश्य बोकेर यस क्षेत्रमा प्रवेश गरेका थिए। कठोर अधिनायकवादी शासनविरुद्ध कांग्रेस–कम्युनिस्ट पार्टीका यी नेता–कार्यकर्ताहरूले गरेका संघर्ष, त्याग, बलिदान र साहसिक कार्य नेपालको इतिहासको एउटा स्वर्णिम अध्याय बनेको छ। त्याग र बलिदान गर्ने तथा नैतिकताको प्रतिमूर्ति बन्ने होडबाजी चल्थ्यो, त्यति बेला। शुद्ध राजनीति, स्वच्छ प्रशासन, साँचो जनउत्तरदायी सरकार, इमानदार, पारदर्शी र नैतिक आचरण यिनीहरूको संकल्प थियो।

कांग्रेस यतिखेर पनि कांग्रेस नै छ, कम्युनिस्ट पनि कम्युनिस्ट पार्टीमै छन्। दुवै दल आफ्ना सिद्धान्त र विचारलाई अझ परिमार्जन गर्दैै, जनमुखी बनाउँदै अगाडि बढिरहेका छन्। जनताको मतअनुसार नै कुनै बेला सत्तामा पुग्छन्, कुनै समय प्रतिपक्षमा बस्छन्। जनताले पालैपालो मौका दिने गरेका छन्। तर मौका पाउनासाथ नेताहरूले आफ्नो चोला परिवर्तन गर्ने गरेको दृश्य हामी लामो समययता देखिरहेका छौं।

पार्टीहरू जनताबीच गएर एउटा कुरा भन्छन्, नेताहरू त्यसविपरीत काम गर्छन्। न इमान छ, न अनुशासन। न सिद्धान्तप्रति निष्ठा, न राष्ट्रप्रति मोह। केही सीमित अगुवा नेताहरू आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट विचलित हुँदा प्रारम्भ भएको विकृति, विसंगति र बेथितिको लहर कहाँ पुगेर कहिले रोकिने हो, ठेगान छैन।

राजनीति गर्नुको मुख्य लक्ष्य पद प्राप्ति बनेको छ। नेताहरू पद देश र जनताको सेवाका लागि होइन, फगत आफू र आफन्तको स्वार्थ, सुखसुविधाका निम्ति लागिपरेका छन्। राजनीति सर्वाधिक संवेदनशील र प्रभावकारी शक्ति भएकाले नेताहरूको अदूरदर्शिताका कारण आज सबैभन्दा ठूलो र खतरनाक व्यापारमा परिणत भएको छ।

राष्ट्रियस्तरका नेता नै आफ्नो र पार्टीको स्वार्थका लागि देशभक्ति, जनताको हित तथा आफ्ना संकल्प र प्रतिज्ञाहरू खुल्लेआम बिक्री गर्ने सौदागर बनेका छन्। सत्ताले नेतालाई आफ्नो सिद्धान्त र योजनाअनुसार देशको विकास गर्ने तथा जनताका असुविधा हटाउने मौका दिन्छ। तर हाम्रा नेताहरूले यो अवसरको निरन्तर दुरूपयोग गर्ने गरेकाले राष्ट्रको यो दुर्गति भएको स्पष्ट छ।

नेपालमा राजनीतिक परिवर्तन र सामाजिक सुधारका लागि भएका आन्दोलनको शृंखला लामो छ। तर अगुवाहरू बरालिनाले यो अभियानले अपेक्षित परिणाम दिन नसकेको हो। अधिनायकवादी शासनको अँध्यारोमा तत्कालीन सत्ताको आडमा भएका कृत्यहरूलाई बिर्सेर २०४७ यताका घटनाक्रम मात्र नियाल्दा पनि नेताहरूको मानसिकता र चरित्रमा आएको स्खलन र भ्रष्टीकरणको फेहरिस्त हेर्दा सबैलाई दिक्क लाग्नु स्वाभाविक छ।

निःसन्देह सबै नेताकार्यकर्ता भ्रष्ट र बेइमान छैनन्। इमान, धर्म र नैतिकतामा कायमै रहेर जनता र समाजको सेवामा समर्पित कार्यकर्ताहरू कांग्रेस–कम्युनिस्ट दुवै पार्टीमा प्रशस्त छन्। तर पार्टी र सरकारको निर्णायक हैसियतमा पुगेका सीमित नेताहरूको काम र कर्तुतले गर्दा उनीहरू लाचार अवस्थामा छन्।

देशमा भएका हरेक राम्रा नराम्रा घटना र कामको जिम्मेवारी र जस राजनीतिले लिनुपर्छ। केन्द्रमा रहेका नेता फगत एउटा व्यक्ति रहँदैन, ऊ सिंगो राज्यको प्रतिनिधि हुन्छ। त्यसैले राज्यका हरेक अंग र जुनसुकै निकायबाट भएका गलत काम तथा जनताका लागि गर्नुपर्ने तर नगरिएका कामको जवाफदेही सरकार र सम्बद्ध पार्टीले लिनुपर्छ। राजनीति, अझ लोकतान्त्रिक पद्धतिमा नेताहरूले कानुन मात्र होइन, विवेक र नैतिकतालाई पनि उच्च महत्व दिने अपेक्षा गरिन्छ।

लोकतन्त्र नभएको अवस्थामा समेत सिंहदरबारमा भवितव्यवश आगो लाग्दा वा रंगशालामा आँधीहुरीले क्षति पुग्दा तत्कालीन प्रधानमन्त्री एवं मन्त्रीले स्वविवेकले नैतिक जिम्मेवारी लिदै राजीनामा दिए। यतिले गर्दा आज कीर्तिनिधि विष्ट र केशरबहादुर विष्टको नाम बारम्बार चर्चामा आउँछ। २०४७ यता धेरै क्रान्तिकारीहरू मन्त्री बने। महानायकहरू प्रधानमन्त्री भए। उनीहरूकै अग्रसरतामा कैयौं घोटाला भए। तर पदभन्दा स्वाभिमान र नैतिकतालाई महत्व दिने मन्त्रीको सूचीमा शैलजा आचार्य, महेश आचार्य र बलदेव मजगैयाँको नाम मात्र देखिन्छ।

कतिपय प्रसंगमा अन्य केही मन्त्रीले पनि अवश्य पद त्याग गरेका छन्। तर दबाब र विवादमा परेपछि। सम्बन्धित पार्टी वा प्रधानमन्त्रीले आफूले चाहे जस्तो ‘सहयोग’ नपाएर पनि मन्त्रीहरूलाई बिदा दिएका छन्। तर जिम्मेवारी निर्वाह गर्न नसक्ने, देशलाई हानि पुर्‍याउने तथा भ्रष्टाचारजन्य कार्य गर्नेहरूले पार्टी र नेताबाट संरक्षण, पदोन्नति र पुरस्कार पाउने गरेका छन्।

भ्रष्टाचार गरेको, घुस र कमिसन खाएको प्रमाण र भरपाइ खोज्नु तथा संविधान एवं कानुनले बाध्य पारे मात्र पद त्याग्ने जिद्दी गर्नु नैतिकतारहित एवं गैरराजनीतिक चिन्तनको अभिव्यक्ति हो। लोकतन्त्र र सिंगो राजनीतिकै प्रतिष्ठामा आघात पुग्ने काम गर्ने व्यक्ति दण्डित हुनुपर्नेमा त्यस्ता पदाधिकारीले झन् प्रोत्साहन पाउँछन् भने त्यसमा नेतृत्वको मिलेमतो रहेको आशंकाले पुष्टि पाउनु स्वाभाविक छ। त्यसैले जनता हाम्रा नेताहरूको अनुहारमा भ्रष्टाचारीको छाया देख्न थालेका छन्। यस्ता नेता पद, सत्ता र प्रभावको उपयोग गरी तत्काल कानुनबाट उम्किए पनि जनताको नजरबाट लुक्न सकेका छैनन्।

पार्टी परिचालनको सकस

लोकतन्त्रप्रति आस्था राख्ने, जनताप्रति जवाफदेहिताको बोध हुने तथा आफूलाई सफल सावित गर्न खोज्ने राजनीतिज्ञले के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुरासँग हाम्रा नेताहरू अनभिज्ञ छैनन्। तर पनि किन सधैं अवाञ्छित काम गर्न उद्यत रहन्छन् ? किन भ्रष्टाचारका ठुल्ठूला र गम्भीर काण्ड हुने गर्छन् ? भ्रष्ट र बदनाम व्यक्तिहरूले किन सधैं संरक्षण र प्रोत्साहन पाउँछन् ?

नेताहरू किन अपराधीहरूसँग साँठगाँठ गर्छन् ? किन राजनीतिको अपराधी र व्यापारीकरण भइरहेको छ ? नेताहरू इमानदार, सक्षम एवं सिद्धान्तवादी कार्यकर्तालाई पन्छाएर व्यापारी र माफियालाई टिकट दिन किन सहमत हुन्छन् ? यस्ता कार्यहरूको आफ्नै पार्टीभित्र तीव्र आलोचना हुँदा र आफूमाथि अत्यन्त अपमानजनक आरोप लाग्दा पनि नेताहरू किन सच्चिँदैनन् ? विचारणीय प्रश्न छ। यसका पछाडि नेताहरूको जीवनशैली र राजनीतिक भविष्यको सुनिश्चिताका अतिरिक्त पार्टी–संगठन संरचना एवं सञ्चालन प्रक्रिया पनि एउटा मुख्य कारक हुन सक्छ।

राजनीतिक नेता र सक्रिय कार्यकर्ताहरू प्रायः पार्टी र नेताहरूमा आश्रित हुन्छन्। कम्युनिस्टहरूले त पूर्णकालीन कार्यकर्तालाई विधिवत् पारि श्रमिक दिने नीति नै बनाएका हुन्छन्। यद्यपि त्यो अत्यन्त अपर्याप्त हुन्छ। र अधिकांश कार्यकर्ताले यो सुविधा पनि पाएका हुँदैनन्। कांग्रेसमा यतिसम्म पनि व्यवस्था छैन। त्यसैले साधनस्रोतविहीन कार्यकर्ताहरूसँग आश्रयका लागि माथिल्लो नेता कहाँ पुग्नु र ‘राजनीति’को दोहन गर्नुको विकल्प छैन।

आफूनिकट कार्यकर्ताहरूको निजी समस्या पनि हेरिदिनु नेताहरूको व्यावहारिक बाध्यता हुन्छ। पार्टी र यसका अंगहरूले आयोजना गर्ने भड्किला कार्यक्रमहरूको भार पनि नेताहरूले बेहोर्नुपर्छ। आफूलाई लगाइदिने माला–खादा, बिल्ला–बाजा र भोजनको प्रबन्धसमेत गरिदिनुपर्छ। जुन नेताले बढी ‘सहयोग’ गर्छन्, धेरै कार्यकर्ता त्यसैको पछि हुन्छन्।

राजनीति गर्नुको मुख्य लक्ष्य पद प्राप्ति बनेको छ। नेताहरू पद देश र जनताको सेवाका लागि होइन, फगत आफू र आफन्तको स्वार्थ, सुखसुविधाका निम्ति लागिपरेका छन्।

आफ्नो गुट बलियो नपारे पार्टीभित्रको भविष्य सुरक्षित हुँदैन। पदका आकांक्षी हरेक कार्यकर्ता कुनै न कुनै गुटको ओत लाग्न विवश छन्। चुनाव लड्नु छ। जसरी भए पनि जित्नु छ। आफ्नो गुटलाई पनि जिताउनु छ। केन्द्रका नेताहरूले सांसद, पोलिटब्युरो–स्थायी समिति, केन्द्रीय समिति एवं प्रभावशाली नेताहरूका माग पूरा गर्न पनि साधनस्रोतको जोहो गर्नुपर्छ।

यस्ता अनेक कारणले गर्दा माथिदेखि तलसम्मका नेता÷कार्यकर्ता ‘माल’ आउने ठाउँ र अवसरको खोजीमा व्यस्त हुनु स्वाभाविक छ। तर यस्ता बाध्यताको आड लिएर भ्रष्टाचार गर्नु, अकुत सम्पत्ति आर्जन गर्नु, नातावाद–कृपावाद अपनाउनु तथा शक्ति र प्रभावको दुरुपयोग गर्नु अपराध हो। आज माथिदेखि तलसम्म यस्तै कुकृत्य भइरहेको छ। तसर्थ जुन व्यक्ति र जुन पार्टी सत्तामा जाँदा पनि लगभग समान चरित्र, व्यवहार र परिणाम देखिएकाले विद्यमान रोगको उपचारका लागि ठूलै अभ्यासको आवश्यकता देखिन्छ।

सिद्धान्त र नैतिकतालाई प्राथमिकता दिने, साधनस्रोत जुटाउन नसक्ने तथा गुटभन्दा माथि उठेर राजनीति गर्न प्रयत्न गर्नेहरू दयाको पात्र बन्दछन्, एक्लो पर्दछन्। भ्रष्टाचारको विरोध गर्ने नेताहरूले पार्टी–राजनीति गर्नै नसक्ने अवस्था छ। यो स्थिति कुनै एउटा पार्टीको मात्र नभएर अहिले चल्तीमा रहेका सबै पार्टीका नेताहरूको पीडा बनेको छ।

नेतृत्वको यो सकसको निदान चाँडै खोजिएन भने देश, लोकतन्त्र र बहुदलीय प्रणाली नै गम्भीर संकटमा पर्न सक्ने तथ्य टड्कारो छ। हिजोका क्रान्तिकारीहरू आज धमिरामा परिणत भएझैं अहिलेको जोसिलो पुस्ताले पनि कालान्तरमा यही नियति भोग्न असम्भव छैन।

देउवा र ओलीको त्यो प्रतिबद्धता

यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दलको नेता छन् भने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री। यी दुवै शक्तिशाली नेताहरूको वर्तमान छवि जगजाहेर छ। तर दुवै नेतासँग धेरै अघि भएको एउटा संवादले उत्पन्न गरेको भावना म अझै बिर्सन सकिरहेको छैन। २०४८ मा देउवा गृहमन्त्री हुँदा मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयको सत्यताबारे बुझ्न म उनको निवासस्थान पुगेँ, हरिहरभवनस्थित मन्त्री क्वार्टर। त्यहाँ उनका कार्यकर्ताहरू आँगन र बैठकभरि टन्न बसेका थिए, खासगरी युवा विद्यार्थीहरू। त्यसबेला देउवा कांग्रेसका लोकप्रिय युवा नेता थिए। उनी भेटघाटका लागि तल झरेका थिएनन्।

मलाई पीएले तुरुन्तै माथि लगे, जहाँ देउवा आरामसँग कफी खाँदै पत्रपत्रिका पढिरहेका थिए। लाग्यो, उनी निकै फुर्सदमा छन् वा तल त्यति मानिस जम्मा भएको उनलाई थाहा छैन। मैले जिज्ञासा राखेँ, ‘थुप्रै कार्यकर्ता तपार्इंलाई कुरेर तल बसेका छन्, तिनीहरूलाई भेट्नुहुन्न ? ’ उनले सहज ढंगले जवाफ दिए, ‘मलाई सल्लाह दिन, सहयोग गर्न कोही आउँदैनन्। खाली पैसा माग्न मात्र आउँछन्। कोही बिरामी नभए पनि उपचार खर्च माग्छन्, कोही घर जान खर्च भएन भन्छन्। र पैसा दिएपछि कि भट्टीतिर लाग्छन् कि कतै लजमा सुतेर बस्छन्।

यस्ता मान्छेलाई सरकारी पैसा बाँडेर म अनैतिक काम गरौं ? म गृहमन्त्री भएँ भन्दैमा देशको ढुकुटीबाट त्यसरी बाँड्न मिल्छ ? त्यो त जनताको पसिनाबाट जम्मा भएको पैसा हो नि। साँच्चै पीडित र दुःख पाएकाहरूलाई पो दिने हो, नेविसंघका कार्यकर्ता हुन् भन्दैमा म जथाभावी बाँडौं ? त्यस्ताहरू बिहान पाँचै बजेदेखि आउन थाल्छन्। भेटेर गाली गर्दा रिसाउलान्, धेरै चिढाउनु पनि भएन नि। त्यसैले जानीजानी कुराएको हो। मन्त्रालय जाने बेलामा सबैलाई एकैपल्ट भेट्छु र गाडी चढिहाल्छु।’ उनको कुरा सुनेर, राष्ट्र र जनताप्रतिको माया देखेर, म गद्गद् भएँ ः वाह, नेता त यस्तो इमानदार पो हुनुपर्छ !

केपी ओलीसँग पनि यस्तै प्रकृतिको घटना भएको छ। २०५१ सालको कुरा हो। उनी गृहमन्त्री थिए। विमानस्थलबाट सुन तस्करी तीव्र रूपमा चलेको थियो। बेलाबेलामा ठूलै परिमाणमा सुन तस्करी हुन्थ्यो। एउटा घटनामा गृहमन्त्रीको पीएले नै सुनको सुराकीबापतको रकम बुझेको समाचार ‘विमर्श’मा छापियो। त्यति मात्र होइन, पीएले उक्त रकम मन्त्रीलाई दिएको आशयसमेत सो समाचारमा थियो। अर्थात् गृहमन्त्रीले पीएलाई नक्कली सुराकी बनाएर सुन तस्करीको पैसा खाए।

म त्यसबेला उक्त पत्रिकाको सम्पादक थिएँ। समाचार अत्यन्त विश्वसनीय सूत्रबाट प्राप्त भएको थियो। आफ्नोविरुद्धको समाचारप्रति सचेत रहने गृहमन्त्री, मन्त्रालय, विभाग र भन्सार कसैले पनि खण्डन गरेनन्। त्यसको धेरै दिनपछि संसद् परिसर सिंहदरबारमा ओलीसँग जम्काभेट भयो। उनले नजिकै आउन संकेत गरे र बिस्तारै भने, ‘तपाईंलाई भन्नुपर्ने एउटा जरुरी कुरा साँचेर राखेको छु। तपाईं जिम्मेवार पत्रकार हो। राजनीति बुझेको र जेल पनि बसेको मानिस हो। तपाई को पत्रिकामा छापिएका कुरालाई मानिस पत्याउँछन् र गम्भीर रूपमा लिन्छन्। त्यसैले धेरै कोणबाट विचार र छानबिन गरेर मात्र छाप्नुहोला।’

उनको इसारा बुझेपछि मैले ‘झुटो समाचार भए तपार्इंले किन खण्डन गर्नुभएन त’ भन्दा उनले गहिरो मुस्कान फाल्दै भने, ‘के म साँचो कुराको पनि खण्डन गरौं ? साथीहरू खण्डन गरौं भन्दै थिए, मैले नै रोकेँ। किनभने तपाईंले लेखेको कुरा झुटो थिएन। मेरो पीएलाई मैले नक्कली सुराकी खडा गरेकै हो। उसले पैसा ल्याएकै हो र मैले उसँग पैसा लिएको पनि हो।’ गृहमन्त्री ओली एकछिन रोकिए र थपे, ‘त्यो समाचारमा तपाई को त्रुटि के हो भने मैले लिएर त्यो पैसा के गरेँ भन्नेतर्फ किन चासो राख्नुभएन ? स्टोरीको फलोअप किन गर्नुभएन ? ’

म चकित भएँ। गृहमन्त्री आफ्नोविरुद्धको यस्तो संवेदनशील समाचारलाई स्वयं पुष्टि गर्दै थिए। यस्तो दुस्साहसी र भ्रष्ट पनि कुनै गृहमन्त्री हुन्छ ? तत्क्षण मभित्र प्रश्न जन्मियो। तर उनले घटनाको पूर्ण विवरण दिएपछि ओलीप्रतिको धारणा अर्कै रूपमा परिणत भयो। उनले विस्तारपूर्वक भने, ‘एउटा तस्करले आफ्नो नाम र पहिचान गोप्य राख्ने, सुराकीको रकम आफूलाई दिनुपर्ने तर सो रकम गृहमन्त्रीको हातबाट मात्र लिने सर्तमा सुनको सूचना दियो।

मैले उसलाई ग्यारेन्टी गरेँ। उसले दिएको सूचना विमानस्थलको प्रहरीलाई दिएँ र सुराकीका रूपमा आफ्नो पीएको नाम लेखाएँ। प्रहरीले खोजतलास गर्‍यो। तर सुन फेला परेन। मैले सो सुराकीलाई फोन गरेर झपारेंँ। उसले पुनः अर्को सूचना दियो। मैले प्रहरीलाई त्यो सूचनाअनुसारको विमानको सिटमा खोज्न कडा आदेश दिएँ। आखिर सुन फेला पर्‍यो। अब मैले त्यो सुराकीलाई कबुलअनुसारको पैसा दिने कि बेइमानी गर्ने ? उसले मेरो पीएमार्फत लिन चाहेन।

त्यसैले सो पैसा मैले लिएर सही सूचना दिई देशलाई फाइदा गराउने र तस्करीलाई विफल पार्ने त्यो सुराकीलाई दिएँ। मैले ठीक गरेँ कि गल्ती गरेँ ? जे भयो भयो, यो प्रकरण अब यतिमै सीमित रहोस्। तपाईंलाई म के स्पष्ट गर्न चाहन्छु भने, मेरा केही कमीकमजोरी पक्कै होलान्, तर घुस, कमिसन खाने र भ्रष्टाचार गर्ने काम चाहिँ मबाट किमार्थ हुँदैन, कहिल्यै हुनेछैन। त्यस्तो कुरा कतैबाट आयो भने चाहिँ धेरै विचार गर्नुहोला।’

गृहमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध यस्तो स्पष्ट प्रतिबद्धता जनाउने देउवा र ओली पटकपटक प्रधानमन्त्री भए। कष्टकर भूमिगत जीवन र कारावास भोगेका माधव नेपाल र झलनाथ खनाल पनि सत्ताको शिखरमा पुगे। तर भ्रष्टाचार रोकिएन। अरू सबै भ्रष्ट हुन्, हामीले मौका पाए नयाँ नेपाल बनाउँछौं भन्दै ‘एकपटक’ मौका माग्ने प्रचण्ड र बाबुराम भट्टराईले पनि शासनको बागडोर सम्हाल्ने सौभाग्य पाए। तर उनीहरूले झन् नयाँनयाँ विकृति, विसंगति र बेथिति भित्र्याने कीर्तिमान नै कायम गरे।

त्यसअघि कसैले कल्पना पनि नगरेका भ्रष्टाचार, द्वैध चरित्र र बेइमानीका रूप नांगो रूपमा प्रदर्शन गरे। यहाँसम्म कि आफ्नै सहकर्मी र लडाकुहरूलाई राज्यले दिएको रकममा समेत उनीहरूको समयमा ठूलो घोटाला भएको विवरण अख्तियारको फाइलमा सुरक्षित छ।

मुलुकको दिशा र दशा परिवर्तन गर्न सक्ने सामथ्र्य भएका यी मुख्य दल र यसका प्रभावशाली नेताहरू आफ्ना पुराना संकल्प र प्रतिबद्धतालाई स्मरण गरेर हिम्मतका साथ विवेक, नैतिकता र विधिको पालना गर्नेतर्फ मात्र अग्रसर भए भने पनि देशमा आशा र उत्साहको नयाँ परिवेश निर्माण हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.