तिमालमा पर्यटन स्मृती पार्क निर्माण कार्य सुरु
काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको तिमालमा पर्यटन स्मृती पार्क बनाउने कार्य सुरु भएको छ। तिमाल डाँडाको करिब ६ सय ५० रोपनी क्षेत्रफलमा स्मृती पार्क बनाउन ट्रेकिगं एजेन्सिज एशोसियशन(टान) सन् २०११ देखि प्रयासरत छ। पर्वतीय पर्यटनमा ज्यान गुमाएका मजदुर र पर्यटकको सम्झनामा पार्क बनाउने योजना टानले ८ वर्ष अगाडि बनाएको थियो।
योजना बनाएको ८ वर्षपछि टानले तिमालमा पर्यटन स्मृती पार्क निर्माणको काम सुरु गरेको हो। तिमाल डाँडामा निर्माण गर्ने भनिएको पार्कको पहिलो चरणको काम अन्तरगत टानले गुरुयोजना अनुसार काम सुरु गरेको छ। टानका निर्वतमान महासचिव कर्ण लामाका अनुसार पहिलो चरणमा पार्कस्थलसम्म पुग्ने सिँढी निर्माणको काम सुरु गरिएको छ।
स्मृती पार्क निर्माण गर्न पर्यटन बोर्डले वर्षेनी रकम विनियोजन गर्दै आएको छ। तर, बोर्डले विनियोजन गरेको रकमले तिमालमा पार्क निर्माण गर्न नसकिने देखिए पनि टानले दाता गुहारेको लामाले बताए। बोर्डले चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ विनियोजन गरेको भए पनि टानको योजना अनुसार उक्त रकमले अपुग हुने देखिएको लामाले बताए।
बुद्धिस्ट मास्टर ट्रेल अन्तर्गत निर्माण गर्न लागिएको स्मृति पार्क निर्माणका लागि सहयोग गर्न विभिन्न दुतावास र गैर सरकारी संस्थासँग सहयोग माग गरिएको लामाले जनाए। काभ्रेको तिमाललाई तामाङको उद्गमथलो मानिन्छ। पर्वतीय पर्यटनमा मजदुरी गर्ने तामाङ समुदायको बाक्लै प्रतिनिधित्व रहेका कारण स्मृती पार्कका लागि तिमाल छानिएको लामाले बताए।
२१ सय मिटर उचाईमा रहेको तिमालको पहाडमा अवस्थित गुलगं ओडारलाई गुरू रेम्पोर्छे (पद्मसंभव)ले तपस्या गरेको गुफा भनिन्छ। काठमाडौंबाट ७३ किलोमिटरको दुरीमा रहेको तिमाल पुग्न ६ घण्टा यात्रा गर्नुपर्छ। सगरमाथा, अन्नपूर्णलगायत पाँचओटा हिमशृंखला सहित सुनकोशी तथा रोसी नदीको दृश्यावलोकन गर्न सकिन्छ।
‘तामाङ संस्कृति बिर्सिए तिमाल जानू’ भन्ने भनाईले पनि यो क्षेत्र तामाङ संस्कृतिमा धनी रहेको बुझ्न सकिन्छ। तिमाल पुग्न काठमाडौं–बनेपा हुँदै बीपी राजमार्गको भकुण्डेबेंसी पुग्नुपर्छ। भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, ससर्युँखर्क, चापाखोरी हुँदै तिमाल डाँडा पुगिन्छ।