आकाशे पुल बनाउन ढिलाइ
![आकाशे पुल बनाउन ढिलाइ](https://annapurnapost.prixacdn.net/media/albums/satdobato_skyBridze_20190223065248_TnEx6X8HH1.jpg)
ललितपुर : चक्रपथ विस्तारको काम सकाएर चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले माघमा नेपाल सरकारलाई हस्तान्तरण ग¥यो। आठ लेन सडकमा चिनियाँ कम्पनीले तीनवटा आकाशे पुल बनायो। तर, नेपाली ठेकेदारले जिम्मा लिएका ६ वटा पुल निर्माण अझै सकिएको छैन।
पर्याप्त आकाशे पुल नहुँदा सास्ती भोग्नुपरिरहेको स्थानीयको भनाइ छ। चिनियाँ कम्पनीले बागडोल, कोटेश्वर र बी एन्ड बी अस्पताल अगाडि तीनवटा पुल बनाएको हो। थप ६ वटा पुल निर्माणाधीन छन्। चक्रपथ सुधार आयोजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालका अनुसार चीनसँग सम्झौता गर्ने बेला यी पुल बनाउने योजना थिएन। चक्रपथमा यात्रुलाई असहज हुने देखेर थप ६ ठाउँका आकाशे पुल निर्माण अघि बढेको उनले सुनाए। ‘यी आकाशे पुल निर्माण सन् २०१८ मा सम्पन्न हुनुपथ्र्यो’, उनले भने, ‘असारसम्म म्याद थपिएको छ।’
चिनियाँ कम्पनीले काम सक्यो तर नेपाली ठेकेदार सुस्त।
बालकुमारी, सातदोबाटो, एकान्तकुना खण्डमा १० करोड र महालक्ष्मीस्थान, बल्खु, सानेपा खण्डमा १५ करोड लागतमा पुल बनाइन लागेको हो। एक किलोमिटर अन्तरमा पुल निर्माणाधीन छन्। असारसम्ममा सबै पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। तर, बालकुमारी र सातदोबाटोमा बिमको तहसम्म मात्र काम भएको छ। एकान्तकुनामा पिलर मात्र उठेको छ। महालक्ष्मीस्थान, सानेपा र बल्खुमा जग हाल्ने काम सकिएको निर्माण कम्पनीले जनाएको छ।
हिराचन कन्स्ट्रक्सन, महादेव खिम्ती निर्माण सेवा, अवाले बिल्डर्सले मिलेर ठेक्का लिएका छन्। ठेकेदार पक्षका श्यामकृष्ण श्रेष्ठले ५५ प्रतिशत काम सकाएको दाबी गरे। ‘काम अगाडि बढ्न नसक्नुमा विभिन्न समस्या छन्’, उनले भने, ‘कहिले स्थानीयले विरोध गरे, कहिले सामान अभाव भयो।’ अत्याधुनिक मेसिन अभावले पनि काममा ढिलाइ भएको उनको भनाइ छ। मेसिन भाडामा चलाउनुपरेको उनले सुनाए। उनका अनुसार चिनियाँ कम्पनीले पनि चक्रपथ विस्तार सम्पन्न नभइन्जेल काम नगर्न भनेको थियो।
इन्जिनियर अर्यालले नेपालले चिनियाँ कम्पनीभन्दा धेरै पछि काम सुरु गरेको बताए। १०.३९ किलोमिटर दूरी रहेको चक्रपथ आयोजनाका लागि १८ डिसेम्बर सन् २०१२ मा चीन र नेपाल सरकारबीच सम्झौता भएको थियो। आठ लेनको अत्याधुनिक सडक बने पनि आकाशे पुले, जेब्राक्रस नहुँदा दुर्घटनाको जोखिम रहेको स्थानीयको भनाइ छ। डिभाइडरका कारण बाटो काट्न दुई किलोमिटर टाढा पुग्नुपर्ने एकान्तकुनाका केशव पौडेलले बताए। ‘जेब्राक्रस र आकाशे पुल नभएका कारण जतासुकै बाटो काटिरहेको देखिन्छ’, उनले भने, ‘यसले दुर्घटनाको जोखिम बढाएको छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)