महिला विश्वकप छनोट क्रिकेट : नेपालको चौथो जित, चीन ५ रनले पराजित
काठमाडौं : नेपालले थाइल्यान्डमा जारी महिला विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा चौथो जित हात पारेको छ। सोमबार भएको खेलमा नेपालले चीनलाई पाँच रनले पराजित गरेको हो।
चौथो जितका बीच पनि नेपालको छनोट सम्भावना अझै मुस्किल छ। अन्तिम एक चरणको मात्रै खेल बाँकी रहँदा नेपाल आयोजक थाइल्यान्डसँग अंक र संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेट रनरेटमा पछि पर्दै सात टोली सम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सिंगल राउन्ड रोबिन लिगको यो प्रतिस्पर्धाको शीर्ष स्थानमा रहने एक टोली सन् २०२० मा अस्टे«लियामा हुने टीट्वेन्टी विश्वकप र सन् २०२१ मा न्युजिल्यान्डमा हुने ५० ओभर क्रिकेटको विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छानिने जनाएको छ। नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल बुधबार कुवेतसँग खेल्ने छ।
नेपाललाई आफ्नो छनोट निश्चित गर्न कुवेतलाई पराजित गरेर मात्रै पुग्ने छैन। सोही दिन हुने अर्को खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्नुपर्ने छ। नेट रनरेटमा पनि नेपालले यी दुवै टोलीलाई पछि पार्नुपर्ने छ। रन रेटमा समेत दुवै टोली निकै अगाडि रहेकाले नेपालको छनोट मुस्किल देखिएको हो।
टस हारी पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चीनले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो।
नेपालको जितमा बलिङतर्फ उपकप्तान सीता रानामगरले महत्वपूर्ण तीन विकेट लिइन्। चार ओभर बलिङ गरेकी सीताले १९ रन खर्र्चिइन्। ब्याटिङतर्फ २५ बलमा ११ रनसमेत जोडेकी सीता प्लेयर अफ दी म्याच घोषित भइन्। कविता कुँवरले पनि एक विकेट हात पारिन्। नेपालले चीनका थप दुई खेलाडीलाई भने रनआउट गराएको थियो।
त्यसअघि नेपालका लागि प्रारम्भिक खेलाडी काजल श्रेष्ठले १८ र बिन्दु रावलले ११ रन जोडेका थिए। अन्य खेलाडी भने दोहोरो अंकमा रन जोड्न असफल भए। इन्दु बर्माले आठ, कप्तान रुबिना क्षेत्री बेलबासेले पाँच, अप्सरी बेगमले तीन, सरिता मगरले ६, कविता कुँवरले तीन र नेरी थापाले अविजित सात रन बनाए।
चीनका लागि झाङ मेईले ३९ बलमा ३३ रन जोडे पनि टोलीलाई जितसम्म डोहोर्याउन सकिनन्। काइयुन झाऊले पनि १८ रन थपेकी थिइन्। बलिङतर्फ चीनकी वाङ मेङ र हान लिलीले दुई/दुई विकेट लिएका थिए।