गण्डकी मेडिकल कलेजद्वारा अवैध असुली

गण्डकी मेडिकल कलेजद्वारा अवैध असुली

काठमाडौं/पोखरा : स्नातक तहमा अध्ययनरत विद्यार्थीसँग गण्डकी मेडिकल कलेजले अवैधरुपमा मोटो रकम असुलेको पाइएको छ। पोखरास्थित कलेजले शैक्षिक शुल्कका नाममा एमबीबीएसका विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी रकम असुलेको छानबिनबाट देखिएको छ।

नेपाल मेडिकल काउन्सिलद्वारा गठित समितिको छानबिनमा कलेजले विद्यार्थीसँग अवैध रकम असुलेको पाइएको हो। सरकारले तोकेको शुल्क साढे ३८ लाखभन्दा कलेजले ९ लाख रुपैयाँ बढी लिएको आरोप विद्यार्थीले लगाएका छन्। त्रिविबाट सम्बन्धन पाएको कलेजले एमबीबीएस छैठौं ब्याचमा पढिरहेका विद्यार्थीसँग अवैध शुल्क असुलेको हो।

काउन्सिलबाट डा.विश्व दवाडीको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले प्रतिवेदन बुझाउने तयारी गरेको छ। समितिका सदस्यद्वय डा.कालुसिंह खत्री र डा.सुनिल शाह छन्। समितिका एक सदस्यले भने, ‘सरकारले तोकेभन्दा बढी शुल्क विद्यार्थीबाट असुल गरेको पाइएको छ।’ तीनै जनाले कलेज अनुगमन गरेका थिए। त्रिविले डा.ओमप्रसाद बराल संयोजकत्वको ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो। त्यसमा बाबुराम दाहाल र डा.पुष्करसिंह रैखोला सदस्य छन्।

प्रतिविद्यार्थी ४७ लाखसम्म असुलेको विद्यार्थीको उजुरीमा उल्लेख छ। भर्ना गर्दा समेत कलेजले रसिद नदिने र बढी रकम लिने गरेको उनीहरूले बताए। भर्ना गर्दा ५० प्रतिशत मात्र तिर्नुपर्ने नियम भए पनि कलेजले साढे २१ लाखभन्दा बढी लिएको आरोप छ। परीक्षामा सामेल नगराउने भन्दै वार्षिक शुल्क शीर्षकमा २ लाख रुपैयाँ तिर्न बाध्य पारेको उनीहरूले बताए। मानसिक यातना र दबाबमा कलेजले भनेअनुसार शुल्क तिर्न बाध्य भएको नाम उल्लेख नगर्ने सर्तमा एक विद्यार्थीले बताए। शुल्क नतिरे भर्ना नै खारेज गरिदिनेसम्मका धम्की कलेजले दिने गरेको उनीहरूको दाबी छ।

तोडियो अस्पतालको ताला

विद्यार्थीले गण्डकी शिक्षण अस्पतालमा लगाएको ताला कास्की प्रशासनले सोमबार तोडिदिएको छ। अस्पतालजस्तो संवेदनशील सेवा बन्द गर्न नमिल्ने भन्दै ताला खोलिएको कास्कीका सीडीओ चक्रबहादुर बुढाले बताए।

सन् २०१५ यताको ब्याचका विद्यार्थीले कलेजमा लगाएको ताला भने अझै खुलेको छैन। रकम फिर्ता नदिएसम्म आन्दोलन नछाड्ने अडानका उनीहरूले आइतबार सुरु एसबीबीएस तेस्रो वर्षको परीक्षा पनि दिएनन्। उनीहरूमध्ये ८६ जनाले परीक्षा फाराम नै भरेका छैनन्। विद्यार्थी परिवर्तन भाटका अनुसार सोमबार अस्पतालको ताला खुलाउन आएको प्रहरीसँग धकेलाधकेल भएको थियो। त्यस क्रममा २० जनाभन्दा बढी विद्यार्थीलाई चोट लागेको र छात्रामाथि पुरुष प्रहरीले बुट बजारेको भाटले दुखेसो पोखे।

गएको माघ दोस्रो सातादेखि आन्दोलनरत विद्यार्थी अस्पताल परिसरमै रिले अनशनमा छन्। विद्यार्थीले २–७ लाख रुपैयाँ बढी रकम कलेजले असुलेको आरोप लगाएका छन्। सीडीओ बुढाका अनुसार विद्यार्थी आन्दोलनमा त्रिविको ध्यानाकर्षण भइसकेको छ। उनले कलेजका अध्यक्ष खुमा अर्याललाई समेत डाकेर विद्यार्थीसँग वार्ता गराएको पनि सुनाए। ‘विद्यार्थीले हातहातै पैसा फिर्ता चाहियो भनेका छन्’, उनले भने, ‘छानबिन समिति आएको छ। अनुगमन समिति आएको छ। त्यसले पत्ता लगाएको तथ्यका आधारमा पैसा फिर्ता हुन्छ भन्दा विद्यार्थीले मानेका छैनन्।’

विद्यार्थीले भने त्रिवि र चिकित्साशास्त्र अध्ययन संस्थानबाट आएको छानबिन समितिलाई कलेज व्यवस्थापनले हातमा लिइसकेको आरोप लगाएका छन्। कलेज सञ्चालकविरुद्ध अवैध शुल्क असुलेर ठगीलगायत फौजदारी कसुरको अभियोगमा छानबिन गर्न उनीहरूले माग गरेका छन्। उनीहरूले असुलेको अवैध रकम क्षतिपूर्तिसहित फिर्ता दिनुपर्ने अडान राखेका छन्।

यसैबीच चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले विज्ञप्ति जारी गर्दै छानबिन प्रतिवेदनको आधारमा सरोकारवाला सबैसँग वार्तामार्फत उचित समाधान गर्न कलेज व्यवस्थापनसँग अनुरोध गरेको छ। कलेज सुचारु गर्ने गराउने वातावरण बनाउन सहयोग गर्न जिल्ला प्रशासनलाई अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.