नेपालको प्रयोगशाला परीक्षणलाई अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको राष्ट्रिय खाद्य प्रयोगशालाबाट जारी परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउने भएको छ। नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको अभावमा नेपालबाट वस्तु निर्यात गर्दा वस्तु परीक्षणका लागि भारतका र अन्य देशका अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो।
नेपालले भारतस्थित 'नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज’ बाट २१ वस्तुको १२१ प्यारामिटरमा परीक्षणका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्णका अनुसार विभिन्न २१ वस्तुमा राष्ट्रिय खाद्य प्रयोगशालाबाट जारी भएको परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउनेछ।
'नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज’ले नेपालको राष्ट्रिय खाद्य प्रयोगशालालाई दिएको प्रमाण पत्र
नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाको अभावका कारण निकासीमा रहँदै आएको झंझट अब रहनेछैन। अधिकांश वस्तुहरु नेपालको निर्यातसूचीमा रहेका वस्तुहरु छन्। नेपालबाट निकासी हुने अदुवा लगायतका वस्तुहरुलाई अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि भन्दै भारतीय क्वारेन्टाइनको अवरोधले भारतीय सीमा नाकामा रोकिने गरेका घटना पटक-पटक दोहोरिदैं आएका थिए। भारतमा मात्र नभएर अन्य देशहरुमा पनि निर्यातका लागि परीक्षण प्रतिवेदनले मान्यता पाउने भएपछि निकासी सहज हुने निर्यातकर्ताहरु बताउछन्।
महानिर्देशक कर्णका अनुसार अन्न (धान, गहुँ, मकै, कोदो, फापर) चिया, कफी, मह, अदुवा, अलैंची, बेसार, दूध र दूधजन्य उत्पादन (प्रशोधित दूध, कन्सेन्डेड दूध, पाउडर), बच्चाको खाना, फलफूलत तथा तरकारीमा विषादीको परीक्षण, प्रशोधित वस्तुहरु (जाम, जेली, जुस, अचार, क्यान्डी), चाउचाउ, विस्कुट, प्रशोधित पानीको राष्ट्रिय प्रयोगशालाबाट जारी परिक्षण प्रतिवेदनले अन्तर्राष्ट्रिय मान्यता पाउने भएको हो।